नयाँ पार्टी खोलेर माधव नेपालले गल्ती गर्नुभयो : युवराज ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले माधव नेपालले नया दल दर्ता गरेर गल्ती गरेको बताउनुभएको छ । सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भन्नुभयो, ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’ज्ञवालीले माधव नेपाललाई चुनौती दिंदै भन्नुभयो ‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ  । एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस्, जनताले बुझिसकेका छन्।’

माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै उहाँले कुनै दिन त्यो महसुस गर्नेसमेत बताउनुभयो । ‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ,’ संयोजक ज्ञवालीले माधव नेपालाई प्रश्न गर्दै भन्नुभयो, ‘एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’

विगतमा नेपाल निकट मानिएका नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनु हुन्न अन्तर संघर्ष गरौं भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नु परेको बताउनुभयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशनअनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न नेता ज्ञवाली कर्णाली प्रदेशमा हुनुहुन्छ। नेकपा एमाले कर्णाली प्रदेश समन्वय कमिटीले भदौ १६ देखि २० गतेसम्म १० वटै जिल्लामा भेला गर्दैछ। 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : २९ बजे