साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विगतको समीक्षा गर्दै भविष्यको प्रश्नमा केन्द्रित हौँ !

गाउँघरदेखि सिंहदरबारसम्मको राजनीति फेरि एकपटक संक्रमणमा परेको छ । राजनीति संक्रमणमा परेर होला फेरि राज्यका संयन्त्रहरू अन्यौलमा मात्र परेका छैनन्, दिशाविहिन पनि भएका छन् । एकातिर राजनीति संक्रमणमा फस्ने अर्कोतिर राज्यका संयन्त्रहरू पनि दिशाविहिन बन्ने अवस्थाले यथास्थितिवादीहरू हौसिएका मात्र छैनन्, अब त नागरिक आन्दोलनको आवरणमा यो व्यवस्था नै फेर्नुपर्छ भनेर सार्वजनिक रूपमा पैरवी गर्न थालेका छन् । उनीहरूले संवैधानिक तथा राजनैतिक स्थिरतामाथि चुनौति दिन खोजेका छन् । यो परिस्थितिको विकास गर्न सुरूमा माझण्डहरूले सक्रिय भूमिका निर्वाह गरेभने पछि त्यसमा शेरबहादुर देउवामात्र होइन सर्वोच्च अदालत पनि सामेल भयो । परिणामस्वरूप परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघायो अनि प्रम देउवाले ५० प्रतिशत छुट अध्यादेशमार्फत माधव कुमार नेपाललाई नयाँ पार्टीको अध्यक्ष बनाएर कम्फर्टेबल सरकार टिकाउने आधार बनाए । जसलाई माझण्डहरूले लोकतन्त्र, संविधान र  क्रान्ति जोगायौं भन्दै प्रगतिशील जनमन भ्रमित पार्न खोजिरहेका छन् ।

यतिखेर नेपालको राजनीतिमा माधव नेपाल दक्षिणपन्थी बुर्जुवाहरूका लागि महानायक भएका छन् भने लोकतान्त्रिक प्रगतिशील शक्तिका लागि खलनायक । दक्षिण–पश्चिमका लागि कम्फर्टेबल सरकार बनाउन र टिकाउन माधव नेपाल सबभन्दा कम्फर्टेबल पात्र अनि तिनिहरूको नजरमा महानायकका रूपमा चिनिएका छन् । त्यो महानायकको उपमा उपादेयता सकिएका दिन खलनायकका रूपमा परिणत हुनेछ भन्ने सामान्य चेत माधव नेपालमा देखिएन । बुर्जुवाहरूले कम्न्युनिष्ट आन्दोलनभित्रका कमजोर पात्रहरू माधव, झलनाथ र प्रचण्ड (माझण्ड) को उपयोग गरेर आजको स्थिति ल्याउने आफ्नो रणनीति सफल बनाएका छन् । नयाँ पार्टी बनाएपछिका माधव नेपालको अभिव्यक्तिले बुर्जुवाहरूको रणनीतिबमोजिम राजनीति गरेको प्रमाणित हुन्छ । “प्रचण्ड र शेरबहादुरजीहरूसँग सल्लाह गरेरै केपी ओलीलाई  प्रधानमन्त्रीबाट हटाएका हौँ, त्यसको जिम्मा मलाई दिइएको थियो ।” ( माधव नेपाल, देशसञ्चार १० भदौ २०७८)

सभामुख अग्नी सापकोटाको भूमिका निष्पक्ष भएको भए अध्यादेशले पनि माधव कुमार नेपाललाई नयाँ पार्टी बनाउन सघाउने थिएन । प्रचण्डको अघोषित आदेशको पालना गर्दै सभामुख सापकोटाले नेकपा एमालेमा विधिवत विभाजन गर्नका लागि सहयोगीको भूमिका निभाए। निर्वाचन आयोगले पनि हतार गरेर माधव नेपालको पार्टीलाई आधिकारिक मान्यता दिने काम गर्यो । यसबाट बुझ्न सकिन्छ, योजनाबद्ध रूपमा नेकपा एमाले विभाजन गर्न सबै पक्षले सहयोगीको भूमिका इमानदारपूर्वक पूरा गरे ।

वामपन्थी दलहरूको दस्तावेजअनुसार नेपाली काङ्ग्रेस बुर्जुवा दक्षिणपन्थी र मुख्य प्रतिस्पर्धी शक्ति हो। सत्य पनि यही हो । तर माझण्डहरू त्यही बुर्जुवा दक्षिणपन्थी र मुख्य प्रतिस्पर्धी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनदेखि लिएर टिकाउन एमाले चोईट्याउन मात्र तयार भएनन् आफ्नो राजनीतिक भविष्य पनि सङ्कटमा पार्दैछन् । विधि, पद्धति र निष्ठाको कुरा गरेर माधव नेपालले नेकपा एमाले चोईट्याएनन् मात्रै नेपाली काङ्ग्रेसलाई सत्ताको केन्द्रमा स्थापित गर्ने वातावरण पनि तयार गर्दैछन् । नेकपा एमाले विभाजन हुँदा देउवाहरू मुख मिठा गर्दैछन्। माधव नेपाललाई नियुक्तिहरूमा प्राथमिकता र अंश दिएर खुसी बनाउँदैछन् । त्यसलाई मानसम्मान बढेको ठानेर माधव नेपालको नाक घिरौंला जत्रो भएको छ । तर माधव नेपालको त्यो खुसी धेरै दिन टिक्नेवाला छैन् ।

मैले माधव नेपाललाई अनादर गरेर आलोचना गरेको होइन । यदि माधव नेपालले केपी ओलीलाई सफल पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने भूमिका खेलेको भए आज यो खालको राजनीतिक परिदृश्य देखिने थिएन । केपी ओलीको सफलतामा पार्टी बलियो बन्छ र पार्टी बलियो बन्दा आफू पनि स्वतः प्रभावशाली र सम्मानित हुन्छु भन्ने सामान्य चेत माधव नेपालमा कहिल्यै आएन। केपी ओलीको प्रतिष्ठा बढ्दा आफ्नो राजनीतिक कद घट्छभन्ने दरिद्र सोचका साथ माधव नेपाल २०७१ सालदेखि निर्देशित र क्रियाशील भइरहे ।

ईतिहास साक्षी छ, माधव नेपाल बलशाली भएका बेलामा नेकपा एमाले कमजोर भएको थियो, अनि उनी कमजोर भएको बेलामा एमाले बलियो । त्यसैले कमजोर माधव नेपाल तत्काल एमालेका लागि चुनौती भएतापनि दीर्घकालमा त्यो अवसर बनेर आउने छ । माधव नेपालको पछि लागेका पछिल्लो पुस्ताले आफ्नो राजनीतक भविष्य सुनिश्चित बनाउने होभने अब नेकपा एमालेको झण्डा बोकेर जनताको बहुदलीय जनवादलाई स्विकारेर अघि बढ्नु पर्छ । पछिल्लो पुस्ताले बुझ्नुपर्छ, “नेकपा एमालेको सांगठनिक क्षमता, जनताको बहुदलीय जनवादको लोकप्रियता अनि जबजवादी कार्यकर्ताहरूको रगत पसिनाका कारणले माधव नेपाल त्यो शिखरमा पुगेका हुन् नकि माधव नेपालका कारणले नेकपा एमालेले शिखर चुमेको हो।” तर पछिल्लो समय माधव नेपालले म नभए एमाले सकिन्छ भन्ने लघुताभास बनाएर एमालेको विकल्पमा अर्को दल बनाउन सक्छुभन्ने मूर्खता गर्दैछन् । अनि त्यही मूर्खताको पछि लागेर पछिल्लो पुस्ताका केही नेताहरूले आफ्नो राजनीतिक भविष्य किन सङ्कटमा पार्दैछन माधव नेपालको आलोचना गर्दा केपी ओली सम्पूर्ण रूपमा ठीक हो भनेर भनिरहेको छैन् । तर तुलनात्मक रूपमा समकालिन नेताहरू मध्ये केपी ओली नै बढी ठीक अर्थात कम खराब देखिन्छन्। केपी ओलीले पार्टी र राज्य सत्तामा पुगेपछि गरेका केही महत्त्वपूर्ण कामहरूका कारणले उनलाई सम्झनै पर्ने राजनीतिक माहोल बनेको छ । जुन कुरा पार्टी भित्र र बाहिरका प्रतिस्पर्धीहरूले स्वभाविक रूपमा लिन सकेनन् र मापशे मोर्चा बनाएर केपी ओलीलाई राज्य सत्ताको नेतृत्वबाट हटाउने अराजनीतिक गतिविधिहरूमा संलग्न भए ।

नेपालको स्वाधिनता र स्वाभिमानको सन्दर्भमा भन्दा केपी ओलीको नेतृत्वको सरकारले गरेका केही कामहरू ऐतिहासिक भनेर दुनियाँले स्विकारेको छ। यद्दपी केपी ओलीले आफू मुख्य नेता भएपछि व्यवस्थापकीय र समन्वयकारी भूमिका जसरी खेल्न सक्नुपर्थ्यो, त्यो भूमिका निर्वाह गर्न नसक्दा आफ्ना भनेर चिनिएका मुख्य नेताहरू नै विपक्षीसँग मिलेर उनलाई प्रम पदबाट हट्न बाध्य बनाएका थिए। त्यसका पछाडि केपी ओलीको कमजोरीमात्र मुख्य कारण थिएन, केपी ओलीको अति आत्मविश्वास पनि अर्को कारण थियो। जसले पार्टीभित्रका विरोधीहरू तर्सने वातावरण बन्यो । केपी ओलीको नेतृत्वमा भएका गरेका ऐतिहासिक कामहरू:

पहिलो, भारतीय नाकबन्दीको डटेर सामना
दोस्रो, भारतसँगको पुराना सन्धीहरूको पुनरावलोकनका लागि विज्ञ समुह गठन गरेर नेपालको पक्षमा प्रतिवेदन तयार। आज भारत पक्षले त्यसलाई अस्विकार गरेतापनि नेपालको पोजिसन संस्थागत भएको छ। भोलिका दिनमा भारतलाई दबाव दिने आधार बनेको छ।
तेस्रो, नेपाल भारत सम्बन्धलाई नयाँ आयाम दिने सैद्धान्तिक आधार केपी ओलीको नेतृत्वमा तयार भएको छ। नेपाल भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण भएको छ।
चौथो, छिमेकी चीनसँग व्यापार तथा पारवहन सम्झौता, भारतबाट पाईपलाईनबाट पेट्रोलियम पदार्थ आपूर्तिको सुनिश्चितता अनि भारतसँग विद्युत बेचबविखन र खरिद सम्झौता जसले लोडसेडिङ अन्त्य गर्यो।
पाचौं, आर्थिक(सामाजिक रूपान्तरणको सन्दर्भमा ‘सुखी नेपाली सम्वृद्ध नेपाल’को नीति तय गरेर कार्यान्वयनमा लैजानु। आज त्यो राष्ट्रिय लक्ष्य भएको छ।
छैठौं, ठूला पूर्वाधारका आयोजनालाई अघि बढाउनुस् द्रुत राजमार्ग, उत्तरदक्षिण करिडोर निर्माण, टनेल परियोजनाको व्यापक सरूवात, मूल कुरो नेपालको राजनीतिलाई विकासको मुद्दामा केन्द्रीत बनाउन सफल।

यसले तत्काल नेपाली जनजीवनमा प्रत्यक्ष फाईदा पुर्याउन नसकेतापनि दीर्घकालमा नेपाल र नेपालीको परिचय र पहिचान विश्व मञ्चमा सम्मानित बनाउने आधार तयार गरेको छ। भोलिका दिनमा परिणाम देखिन थालेपछि केपी ओलीको योगदानको संझना गरिने छ। त्यहि डरबाट ग्रसित भएर माधव नेपालले अस्वभाविक तरिकाबाट नेकपा एमालेलाई टुक्रयाउने कामको नेतृत्व गर्न पुगेको देखिन्छ। कान्तिपुरमा मातृका दाहाल लेख्छन्, विगतमा पनि सांसद किनबेच र होटल रिसोर्टमा राखेर आफ्नो पकडमा राख्ने काम हुँदै आएको थियो। एमाले विभाजनको पछिल्लो घटनाक्रमसँगै नयाँ दल दर्ता गर्न पूर्वप्रधानमन्त्री नेपालले त्यही खराब कामको निरन्तरता दिएका छन्।

बुर्जुवाहरूले ठूलो लगानी गरेर माधव नेपालको नेतृत्वमा एमालेको एउटा सानो डफ्फालाई नयाँ पार्टी बनाउन सघाए। उनीहरू यत्तिकैमा रोकिनेवाला छैनन्। अब विगतमा माओवादी पृष्ठभूमि भएका नेताहरूलाई बिच्क्याउने र हिजोसम्म माधव समुहमा देखिएका र अहिले एमाले विभाजनको विपक्षमा उभिएका नेताहरूका विरूद्ध समाचारहरू बनाएर एमालेमा फेरि अर्को विभाजन ल्याउने प्रयास गर्नेछन्। अब केही समय आलोचनाको केन्द्रमा केपी ओलीभन्दा भिमबहादुर रावलहरू पर्नेछन्। त्यसैले पार्टीले लिने नीति, रणनीति र कार्यनीति जनताको बहुदलीय जनवादको जगमा जनमुखी र देशमुखी बनाउनु पर्दछ। यो सवालमा नेतृत्वले समय मै बुद्धि पुर्याओस्।

अब बुर्जुवा मिडिया तथा बुद्धिजिवीहरूले एमालेमा विभाजन ल्याउने काम सहि थियो भनेर प्रमाणित गर्न र विभाजनमा लागेको पक्ष ठीक थियोभनेर  नेता तथा कार्यकर्ता अनि प्रगतिशील जनताको मनलाई भ्रमित पार्न खोजिने छ। त्यसको संकेत देखिन थालेको छ। त्यसैले भ्रमहरूबाट मूक्त हुँदै र बनाउँदै अघि बढ्न एमालेजनहरू मन, वचन र कर्मले तयार हुनुपर्छ। बुर्जुवाहरूले वामपन्थी आन्दोलन बलियो हुन नदिन बनाएको रणनीतिमा माझण्डहरू मात्र होइन मोहनविक्रम सिंह पनि हिंडेको देखियो। यसर्थ भोलिका दिनमा नेपालको वामपन्थी आन्दोलनभित्र फेरि यस्ता कुपात्रहरू नजन्मिउन भनेर होसियार हुनैपर्छ। आज तिनै कुपात्रका कारणले जनमतबाट तिरस्कृत दल र त्यसका नेतालाई प्रममात्र बनाएनन् बलियो र अनुशासित भनिएको दल एमाले २०५४ सालमा झैं फेरि फुटाउने काम पनि भयो।

तथ्यलाई तर्कले, न्यायलाई अन्यायले अनि सत्यलाई असत्यले केही समय नियन्त्रण गर्न त सक्ला तर त्यसमा विजय हासिल गर्न सक्दैन् भन्ने यथार्थलाई स्विकारेर माधव नेपालका कारणले तत्काल एमालेले धक्का व्यहोर्नु पर्नेछ। किनभने संसदमा सङ्ख्याले काम गर्छ। तर त्यो सङ्ख्याको उपादेयता धेरै लामो समयसम्म बाँकी रहदैन्। अनि आज भ्रम, प्रभाव र प्रलोभनमा परेर माधव नेपालको पक्षमा लागेका नेता तथा कार्यकर्ताहरू विस्तारै मूल घर एमालेमा फर्किन सुरू गर्नेछन्। त्यसपछि स्वभाविक रूपमा एमाले गुणात्मक र सङ्ख्यात्मक रूपमा बलियो हुन थाल्नेछ। तर गुणात्मक र सङ्ख्यात्मक रूपमा एमालेलाई बलियो बनाउन स्कुल विभागलाई गाउँटोलसम्म सक्रिय बनाउनु पर्दछ। अब हुने स्थानीय निर्वाचनदेखि लिएर केन्द्रको निर्वाचनलाई ध्यान दिएर सम्भावित उम्मेदवारहरूको चयन र तिनलाई जनतामा जाने वातावरण तुरून्तै तयार गर्नुपर्छ। अन्यथा अहिले माझण्डहरूका कारणले भएको क्षतिलाई कम गर्न सकिन्न।

गतिभन्दा महत्त्वपूर्ण दिशा हुन्छ।
गलत बाटोमा जति चाँडो हिंडेतापनि लक्ष्यमा पुग्न सकिन्न।
त्यसैले जीवनमा गतिमात्र होइन दिशा पनि ठीक समात्नुपर्छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर माधव नेपाललाई एमाले फुटाउन सहयोग गर्नुका पछाडि नेकाभित्र आफू बलियो हुने, महाधिवेशनबाट सभापति बन्ने र अबको निर्वाचनमा नेकालाई पहिलो पार्टी बनाएर फेरि प्रधानमन्त्री बन्ने हो। तर माधव नेपालहरू भने देउवालाई प्रम बनाउनु र एमाले फुटाउनु महान उपलब्धि  होभनेर नेता तथा कार्यकर्ताहरूलाई भ्रमित बनाउने प्रयास गर्दैछन्। जबकि माधव नेपालका गतिविधिहरूले वामपन्थी आन्दोलनप्रति बेइमानी गरिरहेको छ।

शंकर पोखरेल लेख्छन्, “परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैन। नयाँ जनादेशबाट त्यसको प्रतिस्थापन गरिने छ।” तर यसका लागि पार्टी वैचारिक र सांगठनिक रूपमा बलियो अनि जनताको बीचमा अझ लोकप्रिय हुनुपर्छ। केपी ओली दक्षिणपन्थी अनि शेरबहादुर देउवा क्रान्तिकारी देख्ने आँखा अनि बुझ्ने मन भएकाहरूलाई आउने चुनावमा जनमतबाट तह लगाउन एमालेका नेता तथा कार्यकर्ताहरूले आफ्ना कमजोरीहरू चिनेर सुधार गर्नुपर्छ। आन्दोलनभित्र छिरेका बेइमान माझण्डहरूलाई सबक सिकाउँदै सुखी नेपाली सम्वृद्ध नेपालको नाराले जनमन जितेर श्रेष्ठता हासिल गर्नुपर्छ। त्यसैले विगतको वस्तुनिष्ठ समिक्षा गर्दै भोलिको प्रश्नमा केन्द्रीत भएर हामीले हाम्रो सक्रियता बढाउनुपर्दछ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ४९ बजे