कपिलवस्तु जिल्ला अध्यक्षले पनि छोडे  माधवको साथ 

रुपन्देही । माधव नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी एमालेमै रहने हुनुभएको छ । नेपाल समूहमा लामो समय रहेका नेता पन्थीले कपिलवस्तुमा युवासंघको भेलालाई  सम्बोधन गर्दै आफूहरु पार्टी विभाजनमा कसैलाई साथ दिन नसकिने भन्दै एमालेमै रहने घोषणा गर्नुभएको हो । 

पन्थीले माधव नेपालले पार्टी फुटाएर ठूलो भूल गरेको बताउनुभयो  । उहाँले पार्टीभित्रै रहेर अन्तरसंघर्षका लागि विगतमा माधवलाइए साथ दिएपनि अब साथ दिन नसकिने बताउनुभयो । पार्टी विभाजनबाट कसैको भलो नहुनेभन्दै पन्थीले पार्टीभित्रको अन्तरसंघर्ष पार्टी फोड्न नभई पार्टी बलियो बनाउने उद्देश्यले गरिएको  बताउनुभयो । लुम्बिनी प्रदेशसभामा माधव नेपाल समूहमा गनिदै आएका पन्थीले एमालेबाट छुटिएर नयाँ दल खुले पनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभावसमेत नपर्ने ठोकुवा गर्नुभयो ।

पन्थीले अहिले जनतामा गठबन्धन सरकारले भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकोभन्दै युवाहरुले त्यसको प्रतिकार गर्नु पर्ने बताउनुभयो ।  नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीको अध्यक्ष नै एमालेमै रहेपछि कपिलवस्तुमा माधव नेपाल समूह थप कमजोर भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ०० बजे