साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वैकल्पिक परीक्षा पद्धतिको प्रयोग

बैकल्पिक परीक्षाको सन्दर्भ   :   कोभिड महामारीको पहिलो, दोस्रो र तेस्रो लहर फैलिइरहदाँ जसरी संसारका मानिसहरुले जिविकोपार्जन र  आर्थिक समृद्धिमा जसरी चुनौती  सामना गर्नु पर्यो त्यसरी नै विद्यार्र्थीहरुले आफ्नो अध्ययन र सिकाई घरमै बसेर अनलाइनमा सिमित हुनपर्योे । 

विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षण सिकाई क्रियाकलाप अनलाईन कक्षा (Online Class) मार्फत सञ्चालित भए पनि ठिक समयमा परीक्षा सञ्चालन हुन सकेका छैनन् । केही विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरुले अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा ल्याइएका अत्याधुनिक सफ्टवेयरको प्रयोगबाट बैकल्पिक परीक्षा सञ्चालन गरे । तर ती परीक्षाहरुमा धेरै व्यवहारिक समस्या देखापरे । 

परीक्षा दिइरहेका वेला वाहिरबाट आवाज आउदा, हावाले पर्दा हल्लिदा र ढोका खोल्दा सफ्टवेयर बन्द हुँदा धेरै विद्यार्र्थीहरु परीक्षा दिनबाट वञ्चित हुने भएकाले विद्यार्र्थीहरुमा थप तनाव सिर्जना ग–र्यो । जसका कारण हाम्रो जस्तो समाािजक वातावरण भएको मुलुकमा यस्तो प्रविधि आम रुपमा व्यवहारमा ल्याउन कठिन भयो । त्यसैगरी सुदुरपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयले विगत वर्षमा वैकल्पिक परीक्षाको रुपमा खुल्ला किताव  (Open Book) को विधिबाट परीक्षा चलाउँदा कठिनाइ झेले । 

आज कोभिड महामारीको चौथो लहरको चर्चा चलिरहेका वेलामा विद्यार्र्थीहरुको अनलाइन कक्षा संञ्चालन भइरहेका विषयहरुको निर्धारित शैक्षिक क्यालेण्डर अनुसार उपयुक्त वैकल्पिक परीक्षा पद्धतीको खोजी एवम कार्यान्वयनको आवश्यकता खड्किएको छ । यद्यपी सवै भन्दा ठूलो त्रिभूवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सफलतापूर्वक सञ्चालन गरिरहेको भए पनि अनलाइन परीक्षा सञ्चालनमा भने अपेक्षाकृत न्युन प्रगती गरेको छ । 

यस वेला कोभिडका कारण विद्यार्र्थीहरुको पढाइ सिद्धिएका कक्षाको परीक्षा दिएर एक सेमेस्टर वा एक बर्षबाट अर्को कक्षामा कहिले जाने कुरा अनिश्चित बन्दै गएको छ । हाल चलिरहेको भौतिक परीक्षा केन्द्रमा अवलोकन गर्दा स्वास्थ्य मापदण्ड प्रर्याप्त अपनाइएको पाइदैन । बिद्यार्थी हरूको भिडभाड त्यति नै छ । परीक्षा नियन्त्रण कार्यालयले विद्यार्र्थीहरुलाई नजिकको परीक्षा केन्द्रमा परीक्षा दिन सक्ने प्रावधान राख्नाले केन्द्राध्यक्षलाई भोलीपल्टको परीक्षामा कति विद्यार्र्थी हुन्छन् र सोको ब्यवस्थापन कसरी गर्ने भन्ने कुरा आँकलन गर्न हम्मे भइरहेको पाउँदछौ । अहिलेको परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड नअपनाइएको र सामाजिक दुरी कायम गर्न ध्यान नदिएको भनेर अनलाइन परीक्षा सञ्चालनको माग राखेर विद्यार्र्थीले नारावाजी गरिरहेको दृश्य देखिइरहेको पनि छ । यसका अलावा आम अभिभावक र विश्वविद्यालयका पदाधिकारीहरुलाई कोभिडको फैलावट भएर स्वास्थ्य जोखिम व्यापक होला की भन्ने चिन्ता पनि उत्तिकै छ । 

बैकल्पिक परीक्षा सञ्चालनको अनुभव
आज त्रिभूवन विश्वविद्यालयसँग वैकल्पिक परीक्षा सञ्चालन गरेको अनुभव छ । शिक्षाशास्त्र सङ्कायको परीक्षा नियन्त्रण महाशाखाले पहिलो पटक सूचना तथा सञ्चार प्रविधि र विशेष आवश्यकता शिक्षा विषयका दुई सेमेस्टरको अनलाइन परीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ । 

उक्त परीक्षामा यो पङतिकारले वैकल्पिक परीक्षा व्यवस्थापनको प्राविधिक टोलीको संयोजन गरेर कार्य सम्पादन गर्दाका अनुभव समेत प्रस्तुत गरेको छु । काठमाण्डौं उपत्यकामा ३ र बाहिरका ११ क्याम्पस सहित जम्मा १४ क्याम्पसका कुल ६८२ विद्यार्र्थीहरुको यही २०७८ साउन दोश्रो हप्तादेखि तेश्रो हप्तासम्म सञ्चालन ग–र्यो । जसका्े परीक्षाफल एक महिना भित्र गर्ने तयारी छ ।

त्रिविले कोभिडको पहिलो लहरका कारण बन्द भएको पठन पाठनलाई तत्काल माइक्रो सफ्टवेयर मार्फत अनलाइन कक्षा सञ्चालन गर्न तत्परताका साथ सवै आँगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई उत्प्रेरित ग–र्यो । जसको फलस्वरुप स्नातक, स्नातकोत्तर र एमफिलका ८०% भन्दा बढी अनलाइन कक्षाहरु सहजताका साथ सञ्चालन भइरहेका छन् । यसैगरी संसार भरीका शैक्षिक कार्यक्रम अनलाइन कक्षाबाट सञ्चालित भए । यी अनलाइन कक्षा चलेका कार्यक्रमको तत्काल मुल्याकन गर्न त्रिविले संभावनाको खोजी गर्न अध्ययन टोली बनायो । त्यस टोलीले त्रिवि केन्द्रीय प्रशासनलाई वैकल्पिक परीक्षाका पाँच विधि सिफारिस ग–र्यो । तर त्यसलाई व्यवहारमा ल्याउन त्रिविमा एक वर्ष अलमल रह्यो । आजका दिनमा त्रिविमा कुनै पनि परीक्षा अनलाइनमा गर्न अनुभवी टिम छ । त्यसलाई परिचालन गरेर वैकल्पिक परीक्षाको व्यवस्थापन गर्न सक्दछ । 

अनलाइन परीक्षाको प्रारुप
अनलाइन परीक्षा प्रणालीको व्यवस्थापन गर्न डिजिटल तँथ्याकआधार  (Digital database)  आवश्यक हुन्छ । शिक्षाशास्त्र सङ्कायले कोभिडको पहिलो लहरको समयदेखि भौतिक रुपमा भरिने परीक्षा फारामको सट्टा अनलाइन परीक्षा फाराम शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Educational Management Information System-EMIS)  मा भर्ने अभ्यास गरिरहेकाले डिजिटल तँथ्याक परीक्षा प्रणलीबाट सहज प्राप्त भयो । यसका अलावा अनलाइन परीक्षा सञ्चालन गर्न सफ्टवेयर प्रणाली चाहिन्छ । जुन त्रिवि भित्र अनलाइन कक्षा चलाउन प्रयोग गरेको माइक्रोसफ्ट टिम सफ्टवेयर विद्यमान प्रयोगमा थियो । यसैगरी माइक्रोसफ्ट अफिसको आधिकारिक इमेल आइडी अनिवार्य हुन्छ । जुन कक्षा सञ्चालन कै क्रममा त्रिविका आँगिक क्याम्पसका सवै विद्यार्र्थीहरुको इमेल आइडी बनाएर वितरण भएको थियो । माइक्रोसफ्ट अफिसको इमेल आइडी नभएका सामुदायिक क्याम्पसका विद्यार्थीहरुको लागि परीक्षा प्रयोजनका लागि इमेल आइडी बनाइयो । यो इमेल आइडी प्रया्ेग गरेर मात्र टियू परीक्षा पोर्टल (TU Exam Portal)  मा रहेको भर्चुअल परीक्षा हल (Virtual Exam Hall) मा लगिन  गर्न सकिने हुन्थ्यो । 

अनलाइन परीक्षामा तोकिएको ठिक समयमा शुरु र अन्त्य हुने स्वचालित प्रणालीको व्यवस्था गरिएको हुन्छ । त्यसै समय भित्र परीक्षार्थीले बहुवैकल्पिक प्रश्नको उत्तर दिनुपर्दछ । परीक्षार्थीले एक पटकमा एक प्रश्न मात्र देख्न सक्दछ र एक प्रश्नको उत्तर दिइ सके पछि दोस्रो प्रश्नमा जान सक्दछ । वाइफाइ वा विद्युतका कारण  भर्चुअल परीक्षा हलबाट यदि परीक्षार्थी बाहिरियो भने पनि पहिले दिएको प्रश्नको उत्तर सुरक्षित (Save)  हुन्छ । पुनः भर्चुअल परीक्षा हलमा जोडिदा पहिले जहाँबाट बाहिरिएको हो सोही ठाउँबाट प्रश्नको उत्तरको दिने प्रावधान मिलाइएको हुन्छ । परीक्षाको अन्त्यमा परीक्षार्थीले अपलोड गर्न बिर्से पनि स्वतः सुरक्षित हुन्छ । तर पहिले उत्तर दिइ सकेको प्रश्नमा भने फिर्न पाईदैन । परीक्षाको अन्त्यमा सम्पूर्ण विद्यार्थीहरूको परिणाम परीक्षा प्रणालीमा सञ्चित हुन्छ । 

दोस्रो कुरा कुनै पनि परीक्षा मर्यादित हिसाबले चल्नु पर्दछ । त्यसका लागि १० वटा भर्चुवल परीक्षा हलमा परीक्षार्थीलाई विभाजन गरियो र परीक्षा सञ्चालन अवधिभर निरिक्षण, अनुगमन तथा भिडियो रेकर्डिङको व्यवस्थापन गरियो । यसका अतिरिक्त डीनको कार्यालयले सव्रै परीक्षा हलमा प्रत्येक दिन मर्यादित एवम् व्यवस्थित तरिकाले परीक्षा सम्पन्न हुने सुनिश्चिताका लागि अनुगमन गरिरह्यो । 

चाडो परीक्षाको नतिजा प्रकाशन
अनलाइनबाट सञ्चालित परीक्षाको सैद्धान्तिक परीक्षाको नतिजा एक हप्ता भित्र प्रकाशन गर्न सकिन्छ । अन्तवार्ता र प्रयोगात्मक परीक्षा भएमा एक महिना लाग्न सक्दछ । अनलाइन परीक्षा सम्पन्न हुना साथ सम्पूर्ण परिक्षार्थीहरुको रेकर्ड परीक्षा प्रणालीमा आइसकेको हुन्छ । 

ती प्राप्त सूचनालाई रुजु गरेर तत्काल परीक्षाको नतिजा प्रकाशन गर्न सकिन्छ । हिजोको पराम्परागत हिसाबले लिने परीक्षाको नतिजा प्रकाशनमा त्रिविको २२ महिनासम्म लागेका उदाहारण छन् किनकी उत्तरपुस्तिका सङ्कलन, वितरण र परिक्षण इत्यादिमा लामो समय लाग्दै आएको छ । यस्तो अत्यासलाग्दो कुर्वानी पछि मात्र विद्यार्र्थीले आफनो परीक्षाको नतिजा थाहा पाउन विवश छन् ।

वैकल्पिक परीक्षा सञ्चालनमा चुनौती
पहिलो, परम्परागत हिसाबले चलिरहेको हाम्रा विश्वविद्यालयका परीक्षा पद्धतिबाट बदलिदो परिस्थिति अनुसार वैकल्पिक परीक्षामा फड्को मार्ने इच्छा शत्तिको कमी देखिन्छ । आजभोली वैकल्पिक पद्धतीमा जानुको सटृा परीक्षा नै सञ्चालन नगरी माध्यामिक तहका विद्यार्र्थीहरुलाई पास गरेको प्रमाण पत्र दिने प्रचलन शुरु हुन लागे जस्तो देखिन थालेकोे छ । विद्यार्र्थीले जुन तहमा पढीरहेका छन् त्यस तहमा कति ज्ञान र सीप सिक्न सकियो भनेर थाह पाउने वा आत्म समिक्षा गर्नेे उत्तम तरिका परीक्षा हो । यस परिणामले विद्यार्र्थीलाई अर्को तहमा कति मिहिनेत गर्नु पर्दछ  सो कुराको प्रेरणा मिल्ने हुन्छ । 

दोस्रो, विद्यार्र्थीको परम्परागत मुल्याङ्कन प्रणाली विद्यमान रहेको छ । विश्वका प्रतिष्ठित विश्वविद्यालयले मुल्याङ्कन पद्धती ज्ञानको तह, प्रयोगको तह र उच्च तहको क्षमता मापन गर्ने खालको अभ्यास गरिरहेको पाउँदछौं । खासगरी वि एस व्लुम (B. S. Bloom) को शैक्षिक उद्देश्यहरुको वर्गिकरण (Taxonomy of Educational Objectives)  को सैद्धान्तिक आधारमा मुल्याङ्कनको प्रारुपलाई अनुसरण गरेको पाइन्छ । हामी कहाँ पनि लोक सेवा आयोग, शिक्षा सेवा आयोग र त्रि.वि सेवा आयोगले जनशक्ति छनोट प्रक्रियामा सो मुल्याङ्कन पद्धतीको केही हदसम्म थालनी गरेको पाइन्छ । तर हाम्रा विश्वविद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुलाई पुरानै पद्धती अनुसार मुल्याङ्कन गर्ने परम्परा छ । युवा विद्यार्र्थीहरु नयाँ पद्धतीमा अभ्यस्त नहुँदा सेवा प्रवेशको प्रतिस्प्रर्धाको परीक्षामा थोरै प्रतिशत मात्र उर्तीर्ण भइरहेका छन् । वास्तवमा विश्वविद्यालयहरुमा समय सापेक्ष नयाँ पद्धतीको मुल्याङ्कन सुधारको खाँचो छ । यो मुल्याङ्कन पद्धतीको विकास गर्न सकेमा कक्षा कोठाको शिक्षण सिकाई क्रियाकलापमा पनि परिवर्तन हुन जान्छ । हाल भइरहेको पाठयक्रमलाई पनि परिमार्जन गर्नु पर्ने हुन्छ र विद्यार्थीहरुलाई समस्या समाधानमा गहन विश्लेषणात्मक सोचाइ  (Problem solving based analytical thinking ) गर्न सक्ने क्षमताको विकास हुन जान्छ । यसैविच शिक्षाशास्त्र सङ्कायको शिक्षण सिकाइमा व्लुमको शैक्षिक उद्देश्यको वर्गिकरण पहिलेदेखि समावेश छ । यो अनुसार मुल्याङ्कन पद्धती अपनाउन स्नात्तकोत्तर तहको सबै सेमेष्टरको विशिष्टिकरण तालिका तयारी भैसकेको छ । यस तालिका अनुसार नमुना प्रश्नपत्र तयारी भइरहेको छ । यो सुधारिएको मुल्याङ्कन प्रणाली आउँदो सेसनबाट कार्यान्वयन हुनेछ । 

तेश्रो, बहुवैकल्पिक प्रश्नले विद्यार्र्थीहरूको समग्र पक्षको मुल्याङ्कन गर्नमा कमी हुन्छ भन्ने एकातर्फ बुझाई छ । बहुवैकल्पिक प्रश्न सामान्य ज्ञान मापन गर्ने जस्ता प्रश्न हुन्छन् भन्ने आम बुझाई भ्रमपूर्ण छ । पाठयक्रमको विशिष्टिकरण तालिका अनुसार समग्र कोर्सको प्रत्येक ईकाइलाई समेटेर तीन तहको क्षमता मापन गर्ने प्रश्न सोधिने गरिन्छ । तल्लो तह, प्रयोग तह र उच्च तहका बहुवैकल्पिक प्रश्न निर्माण गर्न कठिन र बढी समय लाग्ने हुन्छ । तथापी यस्ता खालका प्रश्न समाधान गर्न विद्यार्र्थीहरूले विषयवस्तुको गहिराइसम्म अध्ययन गरेको हुनुपर्दछ । उच्च शिक्षामा सोधिने बहुवैकल्पिक प्रश्नले उच्च बौद्धिक सोचाइको मापन गर्दछन् । 

भावी दिनमा वैकल्पिक परीक्षा कार्यान्वयनको सम्भावना
कुनै पनि पाठ्यक्रमको शिक्षण सिकाइको अन्त्यमा विद्यार्थीहरूको आधुनिक सूचना प्रविधिको प्रयोगद्वारा वैकल्पिक मुल्याङ्कन गर्ने प्रशस्त सम्भावना छन् । किनकी त्रिविमा अनलाइन परीक्षा चलाउने वातावरण एवम् पूर्वाधार विकास हुँदै गइरहेका छन् । अनलाइन कक्षा सञ्चालनका क्रममा सम्पूर्ण आंगिक क्याम्पसका प्राध्यापक र विद्यार्थीहरु माइक्रोसफ्ट टिममा चिरपरिचित हुनु, माइक्रोसफ्ट अफिसको आधिकारिक इमेल आइडि हुनु, खुल्ला स्रोतको रूपमा मुडल  (Moodle) हुनु, शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यार्थीहरूको आधारतथ्यांक हुनु,  व्लुमको शैक्षिक उद्देश्यको वर्गिकरण अनुसार मुल्याङ्कन पद्धतिका बारेमा प्रत्येक प्रध्यापनरत शिक्षक जानकार हुनु, कम्प्युटर प्रविधि विज्ञ प्राविधिक जनशक्ति हुनु र अनलाईन परीक्षा सफलतापूर्वक सञ्चालन गरेको अनुभवी टिम हुनु त्रिविका लागि सबल पक्ष विद्यमान छन् । 

अन्त्यमा, उल्लेखित सकारात्मक वातावरणका वीचमा हाल परीक्षा सञ्चालन गरिरहेका परीक्षा नियन्त्रण कार्यालय र सबै डीन कार्यालयहरुले वैकल्पिक परीक्षा सञ्चालनमा अग्रगामी कदम चाल्न सक्दछन् ।

अतः नेपालका विश्वविद्यालयहरूले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार अनलाइन कक्षादेखि वैकल्पिक परीक्षा सञ्चालनसम्मका कार्य ठिक समयमा गर्न सक्ने अनुकुल वातावरण सिर्जना भइरहेको छ । 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १० : ०५ बजे