माधव नेपालले सूर्यचिन्हलाई धोका दिए : अध्यक्ष ओली 

ललितपुर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले सूर्य चिन्हलाई धोका दिएको बताउनुभएको छ । शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्नुहुँदै ओलीले माधव नेपालले  एमालेलाई धोका दिएर प्रतिकृयावादीहरुलाई साथ  दिएको बताउनुभयो ।

ओलीले पार्टी विभाजनको खासै असर नपर्ने बताउनुभयो । उहाँले माधव नेपालको पार्टीसँग केन्द्रिय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरु मान्छे नभएको बताउनुभयो  ।  

पार्टी फुटाउनेहरुलाई कुलंघारको शंज्ञा दिनुहुदै ओलीले महासागर जस्तै एमाले सधै बलियो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रुखबाट केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन । पालुवाहरु पलाइरहेका छन् । चिन्ता लिनु पर्दैन ।’ उहाँले भन्नुभयो ‘नयाँ नयाँ पालुवाहरु पलाउँदैछन्। हाँगा उचाइतिर लाग्दैछन्।’  

ओलीले आगामी निर्वाचनमा एमालेसँग प्रतिस्पर्दा गर्न कसैले नसक्ने बताउनुभयो ।  ओलीले भन्नुभयो, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।’ १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले बताउनुभयो ।

‘एक–एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ? १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्न पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’उहाँले अबको चुनावमा प्रतिस्पर्धीहरु हुने तर प्रतिस्पर्धा नहुने भविष्यवाणी गर्नुभयो । ‘चुनावमा उठेपछि प्रतिस्पर्धी हुन्छन् । तर अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन,’ ओलीले भन्नुभयो, ‘एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’
 

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  २ : ३१ बजे