मन्थली विमानस्थलमा पानी पस्यो

भारतद्वारा नेपालका बाढीपहिरो पीडितहरुका लागि राहत प्रदान

काठमाडौँ– भारतले नेपालका बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि राहत सामग्री प्रदान गरेको छ ।

शुक्रबार काठमाडौँको लैनचौरस्थित दूतावासमा आयोजित कार्यक्रममा दूतावासकी मिसन उप–प्रमुख नामग्या खम्पाले भारत सरकारको तर्फबाट आठ करोड रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेकी हुन् । नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई सो सामग्री  हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन् ।

बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषदमार्फत सो राहत सामाग्री वितरण गरिने छ । पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने सांसद चौधरीले जानकारी दिइन् । नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउने दूतावासले  जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ४२ बजे