रविलाई भोलि काठमाडौं ल्याइने

अध्यक्ष ओलीलाई चिठी

​​​​​पार्टी अध्यक्ष ज्यु, सादर नमस्कार
नेकपा एमाले केन्द्रिय कार्यलय काठमाडौँ

तपाईं गरिव किसानको छोरा पुर्वि पहाडी जिल्लामा जन्मनुभयो । कतिपय आम नेपालीले बाल्यकालमा भोगेका दुखः तपाईले पनि भोग्नु भयो । सानै उमेरमा कम्युनिष्ट राजनीतिमा होमिनु भयो । देशको शासन व्यवस्था बदल्ने र समृद्ध नेपाल सुखी नेपाली भएको हेर्ने सपना सजाउनुभयो ।

त्यो समयमा कम्युनिष्ट हुन सजिलो थिएन । ज्यान सधै हत्केलामा राखेर त्यो अप्ठ्यारो बाटो हिँडने आँट गर्नुभयो र निरन्तर त्यसैमा लागिरहनु भयो । १४ वर्ष कठोर जेल र जेल भित्रका शेलको यातना भोग्नु भयो । २००६ सालमा स्थापित भएको कम्युनिष्ट पार्टी विभिन्न चिरामा विभाजित थियो । जेल भित्र हुँदा होस् वा जेल बाहिर, बिभिन्न चिरामा विभाजित कम्युनिष्ट टाकुराहरुलाई एउटै मालामा उन्ने अभियानमा सामेल हुनुभयो । औसरवाद, दक्षिणपन्थ, उग्रबामपन्थ र सहकर्मीका व्यक्तिगत महत्वकाङ्क्षाका विरुद्धमा पटकपटक सङ्घर्ष गर्नुभयो । 

प्राणघातक रोगहरुसँग पटकपटक लडनुभयो । तर पनि तपाईं कहिल्यै थाक्नु भएन गल्नु भएन । बनिबनाउ आरोपहरुको वर्षा सहकर्मी र बाहिरियाबाट कति हो कति । सुन्नै नसकिने आरोपको पटकपटक वर्षा हुँदा पनि विचलित बन्नु भएन । आफूले देखेको सपना समृद्ध देश सुखी नेपालीको चाहना पुरा गर्न सक्षम, सुदृड कम्युनिष्ट पार्टीको निर्माण र एकतामा निरन्तर लाग्नुभयो । लागिरहनु भएको छ । 

तपाईको सकृयताले जिम्मेवारी लिने अवस्था बन्यो । पार्टीका विभिन्न जिम्मेवारी हुदै पार्टी अध्यक्ष बन्नुभयो । देशको कार्यकारी प्रमुख पटकपटक बन्नुभयो । ठूला छिमेकी र शक्ति केन्द्रसँग समानको हैसियत स्थापित गर्नुभयो । समर्पण, ठुल्दाइ र लम्पसारवादलाई चुनौति दिनुभयो । उग्रबामपन्थका विरुद्धमा अनवरत संघर्ष गरेर देशलाई शैन्य दुर्घटना हुनबाट जोगाउनु भयो । मुलुक जातियताको जाँतोमा पिल्सिन लाग्दा लल्कार्नु भयो र मुलुकमा स्थापित मेलमिलापयुक्त समाजको संरचनालाई बिग्रिन दिनुभएन । ती सबै अप्ठ्याराहरुमा ‘ठुला’ भनिने नेताहरु पिपलका पातभै लर्बराएको सबैले देखेको र अनुभुत गरेकै हो । 

आम मानिसमा मुर्छित हुन पुगेको सपना जाग्रित गराउनु भयो । देश विकास सम्भव छ । सधै गरिव हुनु पर्दैन भनेर सपना बाँढनु भयो । हामी सक्छौं भनेर भरोसा दिलाउनु भयो । देश जाग्दै थियो, जुर्मुराएर उठदै थियो । बर्षौदेखि थुप्रिएका बेथितिका चाङहरु माथि धावा बोलिएको थियो । परजीवि तरमाराहरुलाई सैह्य हुने कुरै भएन । बाहिरी आक्रमणले मात्रै सिध्याउन नसकिने निस्कर्षमा पुगेकाहरुले पार्टी भित्रका महत्वकाङ्क्षी, स्वाँठ, पदलोलुप र आत्मघातिहरुलाई उकास्नु उकासे । फुलाउनु फुलाए । तिनले घरमा आका गरे, आगो लगाए । बिरोधीलाई काँधमा बोके । जे गर्नु हुदैन थियो त्यो सबै गरे । तिनको पहिलो उद्देश्य आफू बन्नुृ थियो, आफ्नो स्वार्थ पुरा गर्नु थियो । आफ्नाका लागि अनुकुलता सिर्जना गर्नु थियो । त्यसको बाधक केपी ओलीलाई देख्न थाले । स्वार्थका सपना पुरा गर्न सम्भव देख्न छाडेपछि जसरी हुन्छ केपी ओलीलाई सिध्याउनु उद्देश्य बन्न पुग्यो । तिनीहरुको चलाएको युद्धले शुसासन र समृद्धिको दीशामा अगाडि बढदै गरेको तपाईको नेतृत्वको सरकार ढल्यो । यता तपाईंको सपना पुरा गर्न काँधमा काँध मिलाएर सँगसगै लामबद्ध भएकाहरुको मन खिन्न भयो, उता बिपक्षिको गठबन्धन बनाएर आफ्नै पार्टीको सरकार ढाल्न सकेकोमा उत्सव मनाइयो । पार्टीलाई केही क्षति ग¥यो, जनताको मन अमिलो भयो । ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानमा केही अवरोध भयो । 

लक्ष्य र उद्देश्यमा अविचलित भएर लागिरहने जो कोहीलाई थाहा छ लक्षमा पुग्ने बाटो सधै सिनिक्क परेको सहज र सरल हुदैन । अवरोध विहिन पनि हुदैन । यसको महान भुक्तभोगि तपाई स्वयं हुनुहुन्छ । 

थाहा छ तपाई थाक्नु हुन्न, गल्नु हुन्न । उद्देश्य र लक्ष्यमा लागि रहनु हुन्छ । तपाईले लिने बाटो सही हुन्छ । यद्यपि तपाई कुनै कमजोरी नभएको मानिस होइन । तपाईलाई रिझाएर स्वार्थ पुरा गर्न चाहने मानिसले तपाईका कमजोरीको बारेमा अरुलाई भन्लान् तर तपाईका सामुन्नेमा भन्ने छैनन् । तपाई पनि अरु धेरै मानिस जस्तै प्रशंसा रुचाउनु हुन्छ । आलोचना गर्नेहरुको सिमानामा यदाकदा अलमलिनु हुन्छ र महत्व नदिए पनि हुने आलोचनाको जवाफ दिन आफै अगाडि आउनुहुन्छ । धेरै नेतामा जस्तै तपाईमा पनि अरुका कुरा सुन्नभन्दा आफ्ना कुरा धेरै सुनाउन रुचाउनु हुन्छ ।  शत्रुवत आलोचनालाई यहाँले चिन्नु हुन्छ र प्रतिकार गर्नुहुन्छ । यस्ता शत्रुवत आलोचना र प्रचारको प्रतिकार समर्थकले गर्दै आएका छन्, गर्छन् । आफूले तथ्य मात्रै राखिदिए पुग्छ । आलोचना नै गर्ने धर्म भएकाहरुले धर्म निर्वाह गरेका हुन त्यसलाई उति महत्व नदिएको नै राम्रो हुन्छ । आलोचनाले आफूलाई गरिरहेका कामको सिमा पहिचान गर्न मद्दत गर्र्छ । आलोचना सधै बेठिक नै हुन्छ भन्ने पनि हुदैन । 

सुखी नेपाली समृद्ध नेपाल लक्ष्य हो, अभियान हो । लक्ष पुरा गर्न साधनको आवश्यकता पर्छ । अभियान सञ्चालन गर्न कुशल, लक्ष्यमा समर्पित, व्यक्तिगत स्वार्थ नभएको, व्यवहारिक नेतृत्वको आवश्यकता पर्छ । त्यो तपाईले गरिरहनु भएको छ । सँगसगै कुशल नेतृत्व समुह –टिम चाहिन्छ । समुहमा काम गर्ने दक्ष र समर्पित मानिसको पहिचान हुन आवश्यक छ । खराव सोच र आचरण भएका स्वार्थि मानिसले जतिसुकै चाकरीको भाषा बोलेर रिझाए पनि ती खराव नै हुन् । तिनले अभियानमा सघाउनभन्दा स्वार्थ पुरा गर्न लाग्ने हुँदा अभियानमा नोक्सान हुने सम्भावना धेरै हुन्छ । रिझाउन नआएका, आलोचनाको स्वर निकाल्ने नै किन नहुन, विचारले अर्को धारका मानिस नै भएपनि आफ्नो जिम्मेवारीमा इमान्दार छन्, क्षमता राख्छन् र अभियानमा लाग्छन् भने उद्देश्य पुरा गर्न तिनको सहयोग काम लाग्ने हुन्छ । अभियानलाई सहयोग पुग्ने सबै मानिसलाई साथ लिनु आवश्यक हुन्छ ।  

आफूले र आफ्ना पालामा भएका राम्रा कामको प्रचार अरुले गरेको राम्रो हुन्छ । त्यसको प्रवन्ध मिलाएर सम्वन्धित निकायलाई, पक्षलाई जिम्मेवारी दिदा पुग्छ ।      

तपाईंलाई सिध्याएर पार्टी कब्जा गर्न चाहने देशले चिनेका मानिस अहिले पराजित भएका छन् । तिनको चुरीफुरी धरापमा परेको छ । पुरै राजनीतिक जीवन किनारामा परेको छ । तिनले आफ्नै बुद्धि र कर्मको फल पाएका हुन्, पाउछन् । तपाई त्यस्ता पात्र प्रति कुनै मोलाहिजा गर्नुहुन्न र त्यस्ताहरुबाट झुक्किनु हुन्न भन्नेमा म ढुक्क छु । तर, जसलाई गुमाउनु हुदैन तिनलाई फकाउँ र जो राख्नै हुदैन तिनलाई कुनै बहानामा छेउमा आउन नदिउँ । 

सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्न सरकार चाहिन्छ, सरकार बनाउन जनताले भरोसा गरेको शसक्त पार्टी चाहिन्छ । शसक्त भनेको नेतामा अनुशासन, लगन र समर्पण भएको र जनआधार भएको, जनताले विश्वास गरेको पार्टी चाहिन्छ । नेपालमा भएका अरु सबै पार्टीभन्दा शसक्त जनाधार भएको पार्टी नेकपा एमाले नै हो । तर नेकपा एमालेमा अनुशासन हिनता र अराजकता मौलाएको छ । अहिले त्यसको बिस्फोटमात्रै भएको हो । नेताहरुको समुह स्वार्थि मानिसको झुण्डमा फेरिएको धेरै भयो । तिनै स्वार्थि मानिसको झुण्डले बहुमत र अल्पमतको खेलमा अल्मलिएर, कसैको इगो, आक्रोश, कुण्ठा र बहकाउमा लागेर ताण्डव नाच देखाए । नयाँ पार्टीको गठनसम्म आइपुगेको त्यो स्वार्थ, इगो र कुण्ठाको पोको चाडै फुटने र छताछुल्ल हुनेछ । तिनको घुर्कि र धम्किले अब खास काम काटने छैन भन्ने धेरैलाई लाग्न थालेको छ । स्वयम् माधव नेपाललाई पनि लागेको छ । 

माधव नेपाललाई उचालेर आफ्नो स्वार्थको पोको कसिलो बनाउनेहरुले माधव नेपाललाई भीरमा पर्याएर साथ छाडेका छन् । उनीहरुलाई थाहा छ माधव नेपालबाट अब उनीहरुको स्वार्थको रक्षा हुने छैन भन्ने त्यसैले ठुलो झुण्ड माधव नेपाललाई छाडेर फेरी फर्कन्छन् । जनाधार नभएका नेताको भाउ दश पैसा हो, जनाधार भएका नेताको भाउ चारआना हो । यो हेक्का तपाईले गर्न जरुरी छ । पहिला पार्टी प्रमुख र प्रधानमन्त्री भएका झलनाथ खनाल र जसरी पनि प्रधानमन्त्री चाहिने बामदेव गौतमको भाउ दश पैसा मात्रै हो । यी दुवै नेतामा विगतमा त्याग थियो, आजको नेकपा एमाले बनाउन मेहनत गरेकै हुन त्यसका लागि सलाम छ । त्यो त्यागको सावाँ, व्याज र स्याज समेत उठाई सकेका छन् ।  अहिले तृष्णाको तुच्छ जालो, भोगको अतृप्त अभिलाशा र दुर्गन्धित र भद्दा इमेज मात्रै छ । त्यसको लोभ नगरेको राम्रो हुन्छ । नेताहरुको थुप्रो लगाउने लोभ नगरेको नै बेस हुन्छ । 

नेकपा एमालेलाई शसक्त बनाएर मात्रै लक्ष पुरा गर्न सकिने छ भन्नेमा तपाई जानकार नहुने कुरै भएन । नेकपा एमाले शसक्त बनाउन वरिपरि झुम्मिने, लाभको पदका लागि मात्रै राजनीतिमा सकृय रहने, विगतमा लगानि वा त्याग गरेको भनेर फाईदा मात्रै खोज्ने, बर्तमानमा कसरी कसरी नवधनाड्य बनेका मानिस पावरका लागि राजनीतिमा आउने र तुरुन्तै हैसियत बनाई हाल्ने, देखाई हाल्ने स्वाभाव र चरित्र भएका मानिसका कारण पार्टी धनी बन्न सक्छ तर जनविश्वास भएको शसक्त पार्टी बन्न सक्तैन । विशेष गरि आम मानिसको सरोकारसँग अन्तर्विरोध राख्ने नवधनाड्य मानिसबाट पार्टीलाई खतरा छ भन्ने मेरो बुझाई हो । 

पार्टीमा इमानका बिउहरुको संरक्षण गरौं । समाजले परिवर्तन खोजेको छ । चुनावमा हुने जीतले नै परिवर्तन ल्याउछ तर सबै जीतले परिवर्तन ल्याउछ भन्ने होइन । नवधनाड्यहरुले चुनाव जित्न सक्छन् भन्दैमा पार्टीमा त्यस्ता मानिसको संख्या बढाउदै जाने हो भने पार्टीले आफ्नो मुल चरित्र गुमाउने खतरा हुन्छ । आज यो खतरा ज्यादा छ । पार्टीमा युवाको आकर्षण एकदमै घटेको छ । युवा आकर्षणका लागि पार्टीमा मुल्यको राजनीति आवश्यक छ । जतिसुकै अप्रिय लागे पनि बिना श्रोतको लगानि गरेर चुनाव जित्ने सम्भावना छ भन्दैमा पार्टीमा त्यसकोटीका मानिसलाई हर्ताकर्ता नबनाउँ । त्यसले पार्टीको जनाधार कमजोर बन्छ । आममानिसले आफ्नो नेताको आचरण र व्यवहार हेर्छन् । मन परे भोट दिन्छन् नपरे दिदैनन् । पार्टीमा इमानको अभाव बढदै गएको छ । पार्टीको जनाधार विस्तार गर्ने, बढाउने होइन आफ्नो वरिपरिको झुण्ड तयार गर्ने प्रवृत्ति बढदै छ । यसलाई रोक्न ध्यान नदिने हो भने आगामि चुनाव जितियो नै भने पनि लक्ष र उद्देश्यमा समर्पित भएर काम गर्ने मानिसको अभाव हुने छ । बरु स्वार्थका लागि लडाई र झगडा गर्नेहरुको टिम बन्ने छ । त्यसले जनतामा पार्टी र नेताको छवि विग्रिने छ । 

अध्यक्ष महोदय पार्टीमा लागेका र आफूलाई समर्थन गरेका भन्दैमा गलत धन्धामा संलग्न भएर पावर एवं पैसामा मरिहत्ते गर्ने नेतालाई कार्वाही गर्न कन्जुस्याई नगरौं । यसको सन्देश जनतामा सकारात्मक पर्छ । मेरो आशय दुराशय र गलत मनसाय राखेर तपाईका सहयोगीहरुलाई, पार्टीका इमान्दार नेताहरुलाई बदनाम गर्न सदाबहार विरुद्धमा उभिएका सामाजिक सञ्जाल, कथित बुद्धिजिवि, नागरिक समाज, पर्दा पछाडिबाट सञ्चालित मिडियाका कुरा सुनेर तुरुन्तै एक्सनमा जानु पर्छ भनेको होइन । आफ्नै वरिपरि भएकाहरुमा पनि संका गरौं, कसैले दुरुपयोग गर्न लागेको र लोभमा लम्किएको हुनसक्छन् । सकिन्छ त्यस तर्पm हेर्न र सुन्न रोकौं । सकिदैन र घेरा नाघेर, लुकेर, ढाँटेर, पार्टीको आचरणसँग मेल नखाने कर्म गर्छन् भने कार्वाही गर्न कन्जुस्याई नगरौं । यस्ता घटनाले आम मानिसमा पार्टी प्रति भरोसा बढ्छ र पार्टीको जनाधार बलियो हुन्छ । अहिलेको हाम्रो शत्रु भ्रष्टाचार, बेथिति र चरित्रको भ्रष्टिकरण हो ।  यसलाई रोक्न र पार्टीका मुल्य, मान्यता, असल अभ्यास, आचरण पुनः स्थापित गर्न लागि परौं । यो नेकपा एमालेका लागि अवसर पनि हो ।

रामचन्द्र उप्रेती

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : ५८ बजे