माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दुबै दलले पाए मान्यता

काठमाडौं । निर्वाचन आयोगले  नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी  पार्टी)  र जनता समाजवादी पार्टीबाट फुटेर बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रमाणपत्र दिएको छ।

एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले बुधबार राति प्रमाणपत्र प्रदान गरेको हो।

दल विभाजनका लागि ल्याइएको अध्यादेशअनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएपछि आयोगले प्रमाणपत्र दिएको हो।

आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

एमालेबाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका थिए । 

त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी बनाउन साविक जसपाको १४ जना सांसद र १७ जना केन्द्रीय कार्याकारिणी परिषद्का सदस्य उपस्थित भएका थिए ।

​​​​​​​

 

 

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ७ : २९ बजे