माधव नेपाललाई सहज बनाउन पाईन्छ तर एउटा मान्छेका लागि कानुन निमार्ण गर्दै जान पाईदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले ल्याएको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य एउटै नभएको प्रष्ट पार्नुभएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले त्यसो भन्नुभएको हो । संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि आफूहरुले दल बिभाजन अध्यादेश ल्याएको ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याइएको थिएन, त्यतिबेला कुनै पनि पार्टी फुटोस् भन्ने हाम्रो उद्देश्य थिएन,हामीले ल्याएको अध्यादेशमा ४० प्रतिशत संविधानले गरेको व्यवस्था हो, हामीले संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत भनेका थियौं, संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको हो, त्यतिबेला संसद् छलेको अध्यादेशबाट देश चलाउन खोजेको आरोप लगाइयो, हामीले अध्यादेश ल्याउँदा प्रतिनिधि सभा विघटनको अवस्था थियो, तर अहिले त चलिरहेको संसद् अन्त्य गरेर अध्यादेश अन्त्य गरेर अर्को दिन बिहानै अध्यादेश ल्याइएको हो ।’

अध्यादेश जारी गर्नु आफैमा असंवैधानिक नभएको बताउँदै ओलीले भन्नुभयो, तर संसद् नचलेका बेला तत्काल आवश्यक परेको बेला अध्यादेश ल्याउन सकिन्छ, अहिले नेकपा एमालेको अन्तरविद्रोहलाई विभाजनमा पुर्‍याउन अध्यादेश ल्याइएको हो ।’

माधव नेपाललाई सहज होस भनेरै परमादेश सरकारले अध्यादेश ल्याएको बताउँदै अध्यक्ष ओलीले व्यंग्य गर्दै भन्नुभयो, माधव नेपालसँग जति संख्या पुग्छन् त्यति मात्रै व्यवस्था गरेर अध्यादेश ल्याएको भए हुन्थ्यो,माधवले एमाले फुटाएपछि अध्यादेश फिर्ता लिइनेछ भन्ने व्यवस्था राखेको भए हुन्थ्यो, तर उहाँहरु आफै थर्कमान हुनुहुन्छ, आफ्नै पार्टीमा पहिरो नजाहोस् भनेर ।’

उहाँले माधव नेपाललाई सहज बनाउन पाईन्छ तर एउटा मान्छेका लागि कानुन निमार्ण गर्दे जान नमिल्ने बताउनुभयो । यसले देउवाको नियतमा पनि प्रश्न उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो, देउवा जस्तो मान्छे जो लोकतान्त्रिक मुल्य मान्यता छाडेर जे काम गरिरहनुभएको छ त्यसमा म आश्चर्यमा परेको छु ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ०३ बजे