माधवले मानुन्, नमानुन्, यो जेएन खनालले जवज कुनै हालतमा पनि मान्दैन : झलनाथ खनाल 

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफूले अब जनताको बहुदलीय जनवाद नमान्ने बताउनुभएको छ । जवजको युग सकिएको बताउँदै नेता खनालले अब समाजवादको युग आएको बताउनुभयो । 

उपचारका लागि भारतमा रहनुभएका खनालले चक्रपथ डटकमसँग कुराकानी गर्नुहुँदै अब आफूहरू कुनै पनि हालतमा एमालेमा नमिल्ने बताउनुभयो । उहाँले माधव नेपालले जनताको बहुदलीय जनवाद माने पनि आफूले अब जवज कहिल्यै नमान्ने बताउनुभयो । उहाँले भन्नुभयो, अरूले मानुन् नमानुन् अब जेएन खनालले जवज मान्दैन ।’ उहाँले थप्नुभयो, ‘२०४६ सालपछि हामीले जवज मान्दै आएको हो । ६२÷६३ को जनक्रान्ति पछि जवजको औचित्य समाप्त भयो । अब हामी जवज मान्दैनौ ।’ 

एमाले विभाजनको पक्षमा नलागेका अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई  खनालले अवसरवादीको संज्ञा दिनुभयो  । उहाँले भन्नुभयो, ‘उहाँहरू एकताको नाउँमा दक्षिणपन्थी अवसरवादसँग संझौता गर्न पुग्नुभयो । उहाँहरू अवसरवादी देखियो ।’

१० बुँदे सहमति पार्टी एकताको पक्षमा भएको हैन भन्ने प्रश्नमा नेता खनालले १० बुँदेमा प्राविधिक कुरा मात्र भएको कुनै विचार नभएको बताउनुभयो ।  

पार्टी विभाजन गरेर गए पनि तपाईहरुको पक्षमा कार्यकर्ता त देखिएनन् नी  भन्ने प्रश्नमा नेता खनालले बिस्तारै पार्टी बनाइने दाबी गर्नुभयो । ‘हामीले अस्ति भर्खर मात्र पाँच हजार कार्यकर्ताहरूको भेला गरेका थियौँ, ती  कार्यकर्ताहरुको मनमा चयन छैन ।’ खनालले थप्नुभयो,  ‘अहिले ९ जना कार्यकर्ता त्यहाँ फर्खिए भन्दैमा  सबै फर्किए भन्न मिल्दैन ।’ खनालको भनाई थियो । आफ्नो नयाँ पार्टीको कार्यदिशा मार्क्सवाद र लेनिनवाद हुने उहाँले  बताउनुभयो । भारतमा उपचाररत खनाल स्वास्थ्यलाभ गरि सोमबार स्वदेश फर्किदै हुनुहुन्छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : ३८ बजे