कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ – कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य कक्षा तथा विश्वविद्यालय स्तरका परीक्षाहरु सञ्चालन भइरहेको जनाउँदै कक्षा १२ को परीक्षा पनि गराउन निर्देशन दिनुभएको हो । समितिका सदस्य डा.सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने सुझाब दिनुभयो । त्यस्तै समितिकी अर्की अन्जना विशन्खेले परीक्षा स्थगीत गरेर शैक्षिक सत्र बिथोल्न नहुने बताउनुभयो । स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा लिनुपर्ने उहाँको भनाइ छ ।

कोरोना संक्रमणदर बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को सिफारीसमा गत साउन २३ गते राष्ट्रिय परीक्षा बोर्डले १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १ : ०१ बजे