धनुषामा छोराले गरे बाबु र श्रीमतीको हत्या

काठमाडौं । धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन्। मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। विवाद हुँदा गए राति मारेर खाल्डोमा गाडेको भन्दै भागेश्वरले स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।

हत्या गरेर बारीको झाडीमा उनले शव गाडेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन सुरु गरेको छ। ‘लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध थियो। त्यसै कारणले घरमा विवाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे