‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

विपक्षीसँग साठगाँठ गरेर पार्टी छोड्दै कोही जान्छ भने त्यसमा शोक मनाएर बस्ने होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिर्वतनका विरुद्धमा जालझेल गर्दै कोही पार्टी छोडेर हिड्छ भने त्यसमा शोक मनाएर बस्नुपर्ने कुनै कारण नहुने बताउनुभएको छ । पार्टीभित्रको आन्तरिक विवादमा कतिपयले एमाले कोमामा पुग्यो सम्म भन्न भ्याएको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो,–‘कोमामा पुग्यो भन्नेलाई अहिले जवाफ दिन्न, चुनावको परिणामसम्म पर्खिन म सुझाब दिन्छु ।’ उहाँले आफू नेतृत्वको सरकारलाई विविध जालझेल षडयन्त्र गरेर हटाएको बताउनुभयो । नीतिका हिसाबले आफूसँग प्रतिस्पर्धा गर्न नसकेपछि चौतर्फी हमला भएको उहाँको तर्क थियो ।

एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीले २०५१ सालमा पनि मुद्धा हालेर एमालेको सरकार ढालेको स्मरण गर्दै भन्नुभयो, ‘अहिले त सोझै अदालतले प्रधानमन्त्री नै नियुक्ति गरिदिएको छ । शायद यसैलाई उच्चस्तरिय लोकतान्त्रिक अभ्यास भनिन्छ होला ।’ उहाँले चलिरहेको संसदलाई षडयन्त्र गरेर भङ्ग गर्दै प्रतिपक्षी दललाई फुटाउने खेल जनताले प्रष्ट रुपमा बुझेको बताउनुभयो ।

आफनो सत्ता टिकाउन वर्तमान सरकारले हुने नहुने जालझेल सवै गरिरहेको छ उहाँले भन्नुभयो, ‘जनता धेरै सोझा छन, अल्मल्याउन सकिन्छ भन्ठानेका छन तर अब जनतालाई झुक्याउन सकिन्दैन, जनताले सवै प्रष्ट बुझेका छन् ।’ 
 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ४५ बजे