‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अमेरिकाद्वारा गैर सैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन निर्देशन

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैर सैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जनाएको छ। अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्।

बिबिसीका अनुसार अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको  छ ।  

काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एक जना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएका छन्। विवरणमा कतिपयले किचिएर ज्यान गुमाएको उल्लेख गरिएका छन्।

अमेरिकाको रक्षा मन्त्रालयले आइतबार सीआरएएफ भनिने सिभिल रिजर्भ एअरफ्लिट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको थियो।यसले सङ्कटको समयमा अमेरिकालाई गैर सैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ।

सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैर सैनिक विमान खटाइएका थिए। विज्ञप्तिका अनुसार अहिले क्रियाशील हुने १८ वटा विमानमध्ये चार वटा युनाइटेड एअरलाईन्सका छन्।

अमेरिकी एअरलाईन्स, एट्लस एयरलाइन्स, डेल्टा एअरलाईन्स र ‌ओम्नी एअरका तीन/तीन वटा र दुई वटा हवाइयन एअरलाईन्सका छन्। सीआरएफ क्रियाशील गराउँदा सैनिक विमानहरूलाई काबुलभित्र र बाहिरको कारबाहीमा सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ।

यी विमानहरू काबुलमा भने अवतरण नगर्ने उल्लेख गर्दै राष्ट्रपति बाइडनले दुई दर्जनभन्दा बढी देशमा उद्धार गरिएका व्यक्तिको परीक्षणका लागि केन्द्रहरू बनाइएको जनाएका छन्।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : ०८ बजे