‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेकपा समाजवादीको ब्यानरमा फोटो राखिएकोमा बामदेवको आपत्ति, आफू एमालेमै भएको स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपा (एमाले) मा नै रहेको प्रष्टीकरण दिनुभएको छ । गौतमको सचिवालयले माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचार–प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १२ : २९ बजे