साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिराहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बिमा गराए

लहान । सिराहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बिमा गराएका छन्  । 

जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको थियो । 

त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बिमा गराएका हुन् । स्वास्थ्य बिमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिराहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला गरी कूल ५७ हजार १८८ जनाले स्वास्थ्य बिमा गराएका छन् । 

कार्यालयमा बिमा दर्ताका लागि थप करिब १० हजार आवेदन आइसकेको र अब ती सबै आवेदन दर्ताको तयारी भइरहेको दर्ता अधिकारी चौधरीले जानकारी दिनुभयो । बिमा गराएकामध्ये हालसम्म सिराहामा करिब १२ हजार वीमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको जनाएको छ । 

यस्तै विगत एक वर्षदेखि लागू भएको सप्तरीमा २४ हजार १८५ जनाले बिमा गराएको छ । सप्तरीमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमा बोर्ड लहान शाखाले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै वीमितको नाम दर्ताको कार्य गर्दै आएको छ । 

प्रत्येक वडामा एक/एक सहजकर्ता परिचालन गरी बिमाको महत्त्व, यसको प्रक्रिया र बिमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बिमा गराउनेको नाम दर्ताको कार्य भइरहेको चौधरीले बताउनुभयो । 

सहजकर्तामार्फत दर्ता भएको वीमितको नामलाई प्रत्येक तीन÷तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने वीमितले बिमा सेवा पाउने गरेको दर्ता अधिकारी चौधरीको भनाइ छ । 

पाँच जनाको परिवारले वार्षिकरुपमा प्रतिपरिवारले तीन हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक रु एक लाखसम्मको स्वास्थ्य उपचार गराउन पाइने व्यवस्था छ । 

पाँचभन्दा बढी सदस्य भएका परिवारका थप प्रतिसदस्यले वार्षिक रु ७०० का दरले प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा रु २० हजार थपिने जनाएको छ । रासस 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १२ : २१ बजे