साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माधव नेपालको घात प्रतिघात, चोइटिएको झुण्ड र एमाले

अन्त्यतः नेकपा (एमाले) बाट एउटा चरम अबसरवादी र महत्वकाँक्षी झुण्ड बाहिरिएको छ । झण्डै डेडदशकसम्म पार्टीको एकल नेतृत्व गरेका र मुलुकको कार्यकारी प्रमुख भैसकेका व्यक्ति माधव नेपालले नै त्यो झुण्डको नेतृत्व गर्न पुग्नु दुर्भाग्यपूर्ण अवस्था हो । पार्टीभित्र माधव नेपाल एक समन्वयकारी भूमिका खेल्नसक्ने नेताको रुपमा रहेका कारण जननेता मदन भण्डारीको रहस्यमय हत्यापछि तत्काल उनलाई नै पार्टीले महासचिवको जिम्मेवारी दिइएको थियो । 

उनले पार्टी चलाउँदा कहिले कसैलाई च्याप्ने र कसैलाई पाखा लगाउने, अर्को समय फरक मुद्धामा कसैलाई काखापार्ने र अर्कालाई किनारा लगाउने दाउपेजको रणनीति लिएर सधैभरी आफु वरिपरि पार्टीसत्ता केन्द्रीत गरे । उनले पार्टीमा अभ्यास गरेको परिपाटीलाई एमालेमा एक कालखण्डमा ‘राताआँखे जनवाद’ भनिन्थ्यो । उनका पालामा पार्टीका चारजना कमरेडहरुसँगै बसेर केही सल्लाह गरेभने उनले नेतृत्वको विरुद्ध षडयन्त्र गरेको रुपमा बुझ्थे र कोपझाजनमा पर्नु पर्ने अवस्था थियो । कुुनैवेला उनका विरुद्ध केपी ओलीसमेत बढीमा पाँच सातजना कमरेडहरु पार्टीको केन्द्रीय समितिमा उनको अत्याचारको विरुद्ध बोल्न आँट गर्दथ्ये । पार्टी संचालनमा उनले कुनै उर्जा प्रदान गर्न सक्दैनथे । उनमा वैचारिक र राजनीतिक दृष्टिकोण थिएन र छैन नत आमजनमानसलाई आकर्षण गर्न सक्ने जनप्रीयशैली र प्रभाव छोड्न सक्ने तागत नै । त्यसैले उनले परिणामत पार्टीलाई तेस्रो पार्टीको रुपमा पुर्‍याए ।

उनका प्रतिस्पर्धी खासगरी केपी ओलीको क्षमताबाट उनी यति त्रसित र आतंकित थिए कि केपी ओलीको पक्षमा लाग्ने धेरै नेता कार्यकताको पार्टी राजनीति नै समाप्त पारे यीनले । कतिको उठ्नै नसक्ने गरी चपरिमुनिको बास बनाए । ओली नेतृत्वमा आएपछि उनलाई सहिनसक्नु नै भयो । त्यसैले जसरी भएपनि उनलाई पार्टी र सरकारको दुवै नेतृत्वबाट हटाउन हात धुएरै लागे । यसमा उनले ओली सरकार गिराउन एउटा सफलता पाए । अब बाँकी रह्यो पार्टी अध्यक्ष । त्यो पनि हातपार्न उनले पार्टीका सामू बराबरी अधिकारसहितको अध्यक्ष सर्त तेस्र्याए । त्यो नपाउने भएपछि अध्यक्ष हुनकै लागि भएपनि एउटा सानो झुण्डलाई लिएर उनी एमालेबाट अलग भएका छन् । 

पार्टीबाट यो पंक्ति बाहिरिसँगै एमाले पूर्णरुपमा विभाजन भयो, अब एमाले पार्टी तहसनहस हुन्छ, माधव नेपालको पार्टी शसक्त हुन्छ, केपी ओलीले नेतृत्व गरेको पार्टीको जनाधार भत्किन्छ आदी इत्यादी खुवै हल्ला चलाईएको छ । कसैकसैलाई भ्रम पनि परेको हुनसक्छ । तर यथार्थ यस्तो हुँदैहैन । छँदै छैन ।  

पार्टी विभाजन के कारण भएको हो । के यसका सैद्धान्तिक, वैचारिक र राजनीतिक धरातलीय यथार्थता थिए र छन ? छैनन । पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादका सन्दर्भमा उनको कुनै मतभेद थिएन । रणनीति र कार्यनीतिक विषयमा पनि मतभेद छैन । उनले पार्टीको नवौं महाधिवेशनको कालखण्ड र सोही महाधिवेशनमा अध्यक्षमा पराजित भएलगत्तै पार्टीमा चरम गुटबन्दी गरे । नेतृत्वलाई घेराबन्दी गरे । निर्वाचित अध्यक्ष केपी ओलीको सर्वत्र वत्ख्वाई गरे । पार्टी एकता गर्दा पनि उनको र कमरेड प्रचण्डको एउटै उद्देश्य थियो कि पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट कमरेड केपी ओलीलाई जसरी पनि हटाउने र सत्ता बाँडिचुँडि लिने । नेकपा (एमाले) मा स्थायी रुपमै माधव गुट संस्थापन पक्षलाई पुरै असहयोग गरेर पार्टीलाई हल न चलको अवस्थामा पुर्याएको थियो । यो अवस्था सिर्जना हुनमा माधव नेपाललाई सुर्याएर आफ्नो चरम महत्वकाँक्षा पूरा गर्न एउटा समूह पहिलेदेखि नै पार्टीभित्र क्रियाशिल थियो । एमालेभित्रको शक्ति सन्तुलनको अवस्था यस्तो रहेकै अवस्थामा माओवादी केन्द्रसँग एकता भएको थियो । एकताको भावनालाई ख्याल गरी माओवादी केन्द्रसँग हाराहारीकै शक्तिसहित एकता गरिएको थियो । एकतापछि नेकपामा त्रिपक्षीय शक्ति सन्तुलनको अवस्था थियो । कुनै दूई पक्ष मिल्दा अर्कोपक्ष अल्पमतमा पर्ने अवस्था थियो । त्यसो नहोस भन्नाका खातिर पार्टीलाई सहमतिय पद्धतिमा संचालन गर्ने विधानमै व्यवस्था गरियो । तर केपी ओलीको शाख दिनप्रतिदिन बढ्दै जाँदा र त्यही अवस्था कायमनै रहँदा माधव नेपाल र प्रचण्डले आफ्नो भविस्य सुरक्षित नहुने निष्कर्ष निकालेर बहुमतिय पद्धतिमा पार्टीलाई लर्ताने हर्कत गरे । जुन विषयले नेकपा विमाजनको कडिको काम गर्यो । 

पछि अदालतले नेकपालाई एकतापूर्वको अवस्थामा फर्काए पछि पार्टीमा फर्किएर पार्टीलाई एकतावद्ध बनाउनुको सट्टा माधव नेपालले एकपछि अर्को सर्त तेस्र्याउन थाले । पार्टीले उनकै सहमतिमा कार्यदल बनाएर समस्या संवोधन गर्ने प्रयास गर्यो । तर उनले यसमा पनि सहमति जनाएनन् । पार्टी निर्णयलाई ठाडो चुनौति दिने, अवज्ञा गर्ने, सांसदहरुलाई फ््रलोर क्रस गराउने, पार्टीको आधिकारिक उम्मेदारको विरुद्धमा बाँगी खडागरी हराउने, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले संसदमा विस्वासको मतलिँदा संसद वहिस्कार गरी अल्पमतमा पार्ने र अन्तत पार्टी अध्यक्षको नेतृत्वको सरकारलाई गिराउने र पार्टीको नजिकको प्रतिद्धन्दी पूँजिवादी पार्टीको नेतृत्वमा सरकार बनाउन उनी निर्लज्ज भएर हदैसम्म लागिपरे । एक बफादार नेता कार्यकर्ताले यो अवस्थाको कल्पना नै गर्न सकिँदैन कि आफ्नै पार्टीको अध्यक्षको नेतृत्वको सरकारलाई गिराउन कसरी सकेको होला ? उनको यी सबै घातप्रतिघातलाई सहेर पनि पार्टीमा फर्काउने र एकता कायम गर्ने काममा पार्टीले हदैसम्मको लचकता अपनायो । तर पार लागेन ।

 संसद स्थापनामा उनी लागे रे तर जब प्रधानमन्त्री देउवाले विस्वासको मत लिँदा जसपाका दुवै समूहले मत दिदाँ उनले विस्वास आर्जन गर्न सक्ने अवस्था थियो । तर पनि उनले र उनको पछिलाग्नेहरुले किन देउवाको पक्षमा मत दिए होलान ? विषय गंभीर थियो । एकपछि अर्का घटनाक्रमबाट पुष्टी हुँदै गयो कि उनी पार्टीलाई दवाबमा राखि गुटस्वार्थ पूरा नभएपछि पार्टीलाई तहसनहस पर्ने काममा लागे । माधव नेपाललाई बराबार अध्यक्षसहित हस्ताक्षर चल्ने अवस्थामा एकता हुने अन्यथा नहुने भन्ने उनको अन्तिम सन्देश थियो पार्टीलाई । माग पनि कस्तो ? महाधिवेशनमा पराजित हुने अनि बराबरी अधिकारसहितको अध्यक्ष भए एकता हुने अन्यथा नहुने भन्ने पनि हुन्छ र त्यसो भए त प्रतिस्पर्धाको के अर्थ भयो र ? पार्टीमा गर्नु नगर्नु गर्ने, वितण्डता मच्याउने अनि एकता गर्नु पर्यो भन्यो भने अधिकार बारबरी भए गर्ने भन्ने पनि हुन्छ र ? 

मानिसले आफ्नो हैसियत भुल्यो भने अधोगतितर्फ लाग्छ । त्यस्तै भयो माधव नेपालको सन्दर्भमा पनि । उनले आफ्नो हैसियत विर्सिए । उनको कम्युनिस्ट आन्दोलनमा योगदान छ । एमाले निर्माणमा पनि महत्वपूर्ण योगदान छ । तर उनलाई लाग्यो उनी योग्य नेतृत्व हो । जुन कुरा कुनै पनि दृष्टिकोणसँग मेल खाँदैन । 

संसद विघटन गर्ने गराउनेमा उनकै निर्णायक हात थियो । त्यो बाध्यकारी कदम चाल्न पर्ने अवस्थाको सर्जक एकमात्र उनी हुन । त्यसपछि संसद पुनस्र्थापनाको पक्षमा उनी लागे । एमालेको लोकप्रिय सरकार जसरी पनि गिराएर सो पार्टीलाई कमजोर पार्ने चाहने देशी विदेशी प्रतिकृयावादीहरुले माधव नेपाललाई निरन्तर सेकताप गरिरहे । उनलाई यतिसम्म फुक्र्याए कि उनी त ‘महान’ हुन । उनले पनि त्यस्तै ठाने । उनलाई हौस्याउदै, उकास्दै र उपयोग गर्दै लाने नीति अनुरुप उनी एमाले विरोधीहरुको गोटि बन्न पुगे । उनको उपादेयता सायद यो संसद अवधिभर होला । त्यसपछि उनलाई कसैले पनि वास्ता गर्नेवाल छैन । तर उनले यो कुरा बुझेनन । पार्टी विभाजन हुँदा के हालत हुन्छ भन्ने कुरा यिनलाई हेक्का नहुने त कुरै भएन । तर पनि किन यिनले पार्टी विभाजन गरे ? पार्टी विभाजन गर्दा तत्कालीन नेकपा माले, नेपाली काँग्रेस प्रजातान्त्रिक, माओवादी पार्टीहरु वा अन्य दल नै किन नहुन विभाजनबाट शक्ति आर्जन हुँदैन भन्ने कुरा स्थापित छ हाम्रो सन्र्दभमा । विभाजनको पक्षमा आम नेता, कार्यकर्ता र जनता सरिक हुँदैनन् भन्ने कुरा जाँन्दाजाँन्दै पनि आज किन उनी एउटा सानो चोइटोको नेतृत्व गर्न पुगे ? 

यीनले पार्टी विभाजन गर्दा हिजो उनलाई विभिन्न विषयमा साथसहयोग गर्ने कमरेडहरुको ठुलोपंक्ति विभाजनको विपक्षमा उभिएको छ । उनका पछिलाग्ने व्यक्तिहरुको अनुहार नियाल्दा यीनको साथ सहयोगबाट पार्टी बन्ला र ? एमाले स्थायी समितिका दुई जना जो जीवनमा कहिल्यै जनअनुमोदन भएनन् । तीनहरु जनमानसमा भिजेका र प्रभाव पार्ने देखिँदैनन् । अन्य केही थानलाई जसरी पनि यहि सरकारमा मन्त्री बन्नु नै परेको छ । बाँकी केहीको आफ्नो व्यक्तिगत स्वार्थ र स्थानीय पार्टीसँगको अन्तरविरोधले माधव नेपाललाई साथ दिएको हुनसक्छन । जे होस् एमाले पार्टीको एउटा सानो चोइटो उछिट्टिएर गएको छ । यसो हुनमा कूनै राजनीतिक वैचारिक आधार छैन । 

जहाँसम्म नेकपा एमाले र ओलीको नेतृत्व क्षमताको कुरा छ गएको आमनिर्वाचनमा ओलीको अनुहार हेरेर मतदाताले झण्डै दुई तिहाईको मत नेकपालाई दिनुको कारण थियो कम्युनिस्ट पार्टीले स्थिर सरकार दिन सक्छ भनेर । ओलीले दिलोज्यान दिएर चुनावी अभियानको सारथी बने । उनी जनताका बीच ज्यादै प्रिय बने । उनका सामू कुनै विपक्ष टिक्न सकेनन् । जनताले ओलीको बोली सुने, गुने अनि उनलाई र उनको पार्टीलाई चुने । यथार्थ यही हो । यो मुलुकमा केही हुँदैन भन्ने हैन सबै गर्न सकिन्छ भनि जनताको मनोवल बढाए । 

रोग र बुढेसकालले थलिएको ओलीको शरीर मेची महकाली चुनावी दौडाह गरि झण्डै दुईतिहाई मत ल्याएपछि भन्न थालियो उहाँ त विरामी मानिस, काम गर्न सक्नु हुन्न वा सक्नु भएन भन्नेबाट शुरु गरी विस्तारै विस्तारै एकपछि अर्को कथित आरोप थप्दै अन्तमा जसरी भएपनि अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट कुनै पनि मूल्यमा ओलीलाई हटाउँने कृतसंकल्प गररे लागेका प्रचण्ड—माधव गुटका कारण नै नेकपामा विग्रह आयो । अन्तत प्रतिनिधिसभा भंग भै मध्यवधि निर्वाचनको घोषणा भएको थियो । 

माधवलाई थाहा थियो गएको निर्वाचनमा ओलीका कारण नेकपाले झण्डै दूईतिहाई मत पाएको थियो । सच्चाई यस्तो हुँदाहुँदै त्यो उहाँले कहिल्यै स्वीकार्न चाहनु भएन । जसरी कृष्णले आफ्नो काखमा शिशुपाललाई राखेर उनलाई मानवरुपी जीवनको दान दिएका थिए । त्यसैगरी नेपाली राजनीतिबाट अस्ताउन लागेका माधवलाई केपी ओलीले उदार भएर आफैसँग निर्वाचन हारेका भएपनि पार्टी एकताको मूल्यमा अर्का अध्यक्षको रुपमा प्रस्ताव गरेका थिए अन्तिममा । तर उनको पोल्टामा पार्टी बुझाउदामात्र उनी एमालेमा फर्किने अन्यथा पार्टीलाई जसरी पनि विभाजन गर्ने कसम खाएर लागे । पार्टीलाई उनका पोल्टामा बुझाउने काम नेतृत्वले गरेन । गर्नसक्ने कुरै भएन । अन्तत पार्टीको केही लागेन । उनी एउटा सानो समूहसहित पार्टीबाट अलग भए । 

माधव नेपालले प्रचण्डसँग मिलेर नेकपामा रहँदा पार्टीमाथि गरेका अत्याचार हुन वा एमाले भइसकेपछि माधव नेपालले गरेका कुकर्म ती सबै उनका लागि गलपासो हुनेछन । उहाँका सबै कुकृत्यहरुको पर्दाफासहरु समयक्रममा हुँदै जानेछन् । 

आगामी निर्वाचनहरुमा यो झुण्डले कहिँकतै एमालेलाई हराउन सक्ने अवस्था नआउला भन्न चाहिँ सकिँदैन । तर यो पार्टीले संसदमा एक सिट पनि जित्न सक्दैन । यीनीहरुको एउटा उद्देश्य नेकपा एमालेलाई हराएर आफ्नो तुष र आवेगलाई मेटाउने बाहेक केही देखिदैन । यीनीमध्ये स्वयम माधव नेपाल अरुको वैशाखी नटेकी निर्वाचनमा गएभने यीनको जमाना जफत हुने कुरा निश्चिित नै छ । यस्तो दुर्भाग्यपूर्ण अवस्था व्यर्होन यीनी किन उद्धत भए ? एमाले जनहरुको एउटै निष्कर्ष छ कि माधव नेपालको कुण्ठा र चरम महत्वकाँक्षा पूरा गर्न । अर्कोतर्फ संस्थापन एमालेको नीति जनताको बुहुदलीय जनवाद (जबज), केपी ओलीको कुशल नेतृत्व, पार्टीको निर्वाचन चिन्ह, एकताको क्रममा आर्जन भएको शक्ति र विभाजनको विरुद्धमा खडाभएको सिंगो पार्टीपंक्तिका सामू चोइटिएको त्यो समूहको पत्तासाफ हुनेछ । त्यसैले यतिवेला एमालेका आम नेता कार्यकर्ता समर्थक र यो पार्टी वरिपरि गोलबन्द भएका जनसमुदाय यो विखण्डनको विरुद्धमा शसक्त भएर प्रतिवादमा उत्रिनुको विकल्प छैन । 

केपी ओली पुष्पलाल र मदन भण्डारीपछि नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, योग्य, सक्षम र कुशल नेतृत्व हो । उनकै नेतृत्वमा आज नेकपा (एमाले) ले यो उचाई हाँसिल गरेको, अझ सुदृढ र एकताबद्ध भई कम्युनिस्ट आन्दोलनको मूलप्रवाह बन्ने र पुनः नेकपा (एमाले)ले अगामी निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गरी मुलुकले स्थिर सरकार पाउनेछ । नेपाली जनताको समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय आँकक्षा पूरा हुनेछ । समृद्धसमाजवाद निर्माणको महाअभियान अगाडि बढ्नेछ । 

 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ९ : ३९ बजे