बुधबार दिउँसोदेखि बजारमा एकखाले चर्चा आयो । एमाले समाजवादी नामको पार्टी खुल्यो रे ! ‘नाम समेत जुराउन नसक्ने नाथुले के पार्टी खोलेको !’ मेरी ८० वर्षीया आमाले भन्नुभयो, ‘बरु बरमझियामा गएर पेडा पसल चलाउनु नी !’ अनलाईनका समाचार, फेसबुक र ट्वीटरको सुविधाबाट टाढा रहनु भएकी आमाले रेडियो र पत्रिकाका स्थानीय समाचारदेखि अन्तर्राष्ट्रिय समाचारको राम्रै विश्लेषण गर्ने क्षमता आर्जन गर्नु भएको छ । उहाँले सहज रुपमा भनि दिनुभयो, ‘माधवकुमार नेपालले अर्को पार्टी किन खोलेको हो ? औचित्य पुष्टि गर्न सक्दैनन् र कसैले हिजो मालेको हालत हुन्छ पनि नभनोस् ।’ आमाको यो भनाईले मलाई फेरि घोत्लिने अवस्थामा पु¥यायो । मैले भने किन आमा ? आमाले सहज भनि दिनुभयो । हिजो मालेले महाकाली सन्धिको कुरा उठाएको थियो, ठीक कि बेठीक आफ्नो ठाउँमा थियो तर, एजेण्डा राष्ट्रियताको पक्षमा काम गर्नेहरुको ध्यानाकर्षण गरेको थियो ।
राजनीतिक दल खोल्ने कुरा पेडा पसल खोले जस्तै नाम जुधाउने गरी खोल्नु राम्रो होइन । बरमझियामा सक्कली बाजेको पेडा पसल, बुढो बाजेको पेडा पसल, पुरानो बाजेको पेडा पसल जस्ता दर्जनौ पेडा पसलहरु खुलेका छन् । तिनीहरुको काम भने पेडा बेच्नु हो । तर, नाम चाही पेडा पसलको अगाडि बाजे झुण्ड्याउनु नै पर्ने । किनभने कुनै बाजेले बरमझियामा पेडाको ब्राण्ड नै बनाएका थिए । अहिले नेपाली राजनीतिमा नेकपा एमालेले आफ्नो पार्टीलाई कम्युनिष्ट पार्टीको ब्राण्ड र ‘सूर्य’लाई चुनाव चिन्हको ब्राण्ड बनाएकोले नेकपासँग जोडिएका केही दलालहरु अस्ती चूनाव चिन्ह सूर्य हामी लिन्छौं भन्दै थिए । अहिले केही एमाले सिध्याउछु भन्नेहरु एमालेलाई बद्नाम गर्न एमाले समाजवादी दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । बरमझियाको पेडा पसल विर्साउने गरी माधवकुमार नेपालले नेकपा एमालेलाई सिध्याउन र जनतामा भ्रम छर्न एमाले समाजवादी गठन गरेको हुन सक्छ । सायद त्यही आसयले पेडा पसल खोल्न माधवकुमार नेपाललाई सुझाव आएको हो ।
मलिन अनुहार, मनमा अनेक खाले छटपटाहट, मनमनै छुट्टै तर्कना, हैन यति भएपछि ओली हराइन्छ, बेलाबेलामा आइरहने फोनको जवाफ कसलाई के कसलाई के कुनै सम्झना छैन, आफूलाई हिजो साथ दिने र सल्लाह दिने सबै साथीहरु आफूबाट उछिट्टिएर गइसके । तै पनि रहेकाहरु कम छैनन् हिजो त्यत्रो बलियो दुई तिहाईको सरकार गिराइयो । अलि के बिग्रियो बिग्रियो नेकपाबाटै हटाउन खोजेको आफैले अर्को पार्टी खोल्नु पर्ने अवस्था आयो । खुइइय… गर्दै टोलाइरहेका माधवकुमार नेपाललाई झाक्रीले हातमा समातेर निर्वाचन आयोगको कार्यालयभित्र पु¥याएपछिको परिणाम एमाले समाजवादी । तर, यो नाम निर्वाचन आयोगले दिन मिल्छ कि मिल्दैन १५ दिनपछि छिनोफानो गर्ला ? एमाले समाजवादी गठन भएपछि नेकपा एमालेको भविष्य के होला ? आम कार्यकर्ता र सुभेच्छुकहरुलाई चिन्ता लागेको हुन सक्छ । तर, चिन्ता गर्नु पर्ने छैन । नेकपा एमाले सुनौलो भविष्य बोकेर स्पष्ट मार्गदर्शन अनुसारको नीति कार्यक्रम, सुदृढ संगठन र इमान्दार कार्यकर्ताको साथ अघि बढेको पार्टी हो ।
एमालेको सुन्दर भविष्य
नेकपा एमाले स्थापना कालदेखि नै राष्ट्र र जनतासमक्ष गरेका वाचाहरु पूरा गर्ने उद्देश्यकासाथ अगाडि बढेको पार्टी हो । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र समाजवादमा देशलाई लैजाने पूर्ण प्रतिबद्धताका साथ अगाडि बढेको छ । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा र विकासका निम्ति पनि नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको नेतृत्व गर्ने, देश र जनताप्रतिको सेवाभाव, राष्ट्र, राष्ट्रियता, जनजिविका, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानप्रतिको दृढ अडान राख्ने मान्यतामा आधारित पार्टी नेकपा एमाले नै हो ।
नेकपा एमाले अहिले यहाँसम्म आइपुग्न माधवकुमारले गरेको योगदानको चर्चा गैर कम्युनिष्टहरुले गर्छन् । तर, पार्टीका कार्यकर्ताहरु गर्दैनन् । निक्कै तिब्र गतिमा अघि बढेको नेकपा एमालेलाई जननेता मदन भण्डारीको रिक्ततामा नेपालले नेतृत्व गर्नु भएको थियो । २०५१ सालमा नेकपा एमालेले आफूलाई सबैभन्दा ठूलो दल बनाएको जननेता भण्डारीको ब्याज हो । त्यसपछि नेतृत्व लिनु भएको नेपालले पार्टीलाई आक्रमक शैलीमा बढाउन सक्नु भएन । उहाँले मात्रै होइन उहाँपछिका कुनै नेताले पनि गतिशील बनाउन नसकेकै हो । पार्टीको आकार अलि ठूलो भएको कार्यकर्ताको बलमा हो ।
लामो समय भूमिगत रुपमा पार्टी चलाएको एमालेलाई शुरुका दिनमा संसदीय मोर्चाको त्यति ज्ञान नहुन सक्छ । तर, त्यसको समय कति हो २÷४ वर्ष, त्यसपछि पनि किन एमाले अघि बढेन ? यसको जवाफमा नेतृत्वको असक्षमता नै हो । संविधान निर्माणको बेलामा विपक्षीहरुले एमालेको विचार प्रष्ट आएन भनेर भनिरहँदा एमालेका सांसदहरुले रातो अनुहार बनाएर घोसेमुन्टो लगाउनु परेको त्यो पीडादायी अवस्था संसदभित्र थियो । बाहिर पार्टीका नेताहरु कार्यकर्ताको माझमा ‘नेक्पा एमाले हुन्छ पनि भन्दैन हुन्दैन पनि भन्दैन तर, स्पष्ट छ’ भन्दै थिए । यसले के बुझाउँछभने नेतृत्वसँग संविधानसभामा उठेका समस्याको समाधान गर्ने प्रष्ट भिजन छैन वा अर्कैको एजेण्डा बोकेर अघि बढेको छ । त्यो बेला पनि नेतृत्व पार्टीको स्वार्थभन्दा आफ्नो निजी स्वार्थमा कसैसँग सौदाबाजी गरिरहेको थियो भन्ने भान हुन्छ । परिस्थितिले त्यही देखाउँछ । आफ्ना साना स्वार्थका लागि पार्टी नै भत्काउँछु भन्नु यो पार्टीको स्कूलिङ तत्कालिन नेतृत्वलाई नपुगेको हो भन्न सकिन्छ ।
पछिल्लो चरणमा झापाली नेता केपी शर्मा ओलीले नेतृत्व गर्नु भएपछि पार्टीको हैसियत नै बदलिएको छ । त्यही संविधानसभामा तिमी कुन लिङ्गी हौ भनेर एमालेका सांसदलाई गिज्याउनेहरु अब एमालेलाई समभावले जिम्मेवार शैलीमा सम्वोधन गर्न थाले । यो पार्टी नेतृत्वको कार्यशैलीले नै हो । नेकपा एमालेले दोस्रो संविधानसभाको समयलाई खेर फाल्न दिएन संविधान बनायो ।
त्यसपछिको समय विकासको एजेण्डाको थियो । यो कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राम्ररी थाहा थियो । त्यही अनुसार उहाँले काम गर्नुभयो । सफलता पाउनु भयो । नेता ओलीले नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउनु भएकै थियो, दुई कम्युनिष्ट पार्टीहरुको एकीकरण हुँदै थियो, अर्को निर्वाचनमा पार्टीले दुईतिहाई नै मत ल्याउने गरी जनताको अपेक्षा पूरा गर्दै थियो । बिग्रिएको के थियो ? कुनै नेताको भान्जी ज्वाईले वा सालाले वा भतिजाले जागिर पाएको थिएन होला वा लाभका पदमा उहाँहरुका आफ्ना मानिस राख्न नपाएको होला । त्यो त आफ्ना पालामा गर्दा पनि हुन्छ पालो आउने वातावरण पनि बन्दै थियो । किन हतार ? किन ५ वर्ष पनि पर्खिन नसक्ने ? त्यसको पनि उत्तर छ ।
केपी शर्मा ओलीलाई हटाउने एजेण्डा कम्युनिष्ट विरोधीहरुको थियो । त्यो एजेण्डामा नेकपाका नेताहरुले साथ दिएको नतिजाले देखाउँदैछ । अहिले एउटा सानो टुक्रा उछिट्टिएको छ । विदेशी तत्वले पछि चुनावको बेला पनि पार्टी फेरि भत्काउन प्रयत्न गर्छ । त्यतिखेर एमालेले टिकट दिएन भनेर सके पार्टी फोर्ने नसके अन्तरघात गर्ने स्थिति आउन सक्छ नआओस् यो कामना गर्दै सबै नेता तथा कार्यकर्ता सचेत हुन जरुरी छ । त्यो बेला बाहिरबाट केही हुँदैन भित्रैबाट हुनसक्छ । यस्ता अवस्थाहरुको आँकलन कार्यकर्ताहरुले पनि गरेका छन् ।
नीति कार्यक्रम, सुदृढ संगठन र इमान्दार कार्यकर्ता
नेकपा एमाले यसै ठूलो पार्टी भएको होइन र यो पार्टी बरमझियाको पेडा पसलसरहको पार्टी होइन । नेकपा एमाले जनताको बहुदलीय जनवादको स्पष्ट मार्गनिर्देशनमा अगाडि बढेको पार्टी हो । नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई महाधिवेशनबाट मात्र होइन जनताबाट पनि अनुमोदन गराएको छ । जवजको मार्गदर्शन अनुसार तयार गरिएको घोषणा पत्रलाई २०७४ सालको निर्वाचनमार्फत अनुमोदन गर्दै जनताले एमालेका उमेद्वारलाई विजय गराएका हुन् । कसैलाई भ्रम नहोस् । संघीय र प्रदेशको निर्वाचनमा मात्रै माओवादीसँग एकता भएको थियो । स्थानीय तहमा एमाले एक्लै चुनाव भिडेको थियो । यो निर्वाचनले एमालेले लिएको नीति कार्यक्रम राम्रो थियो । जनताको पक्षमा थियो भन्ने सिद्ध गरेको छ । त्यही अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुले काम गरेका छन् ।
हो, अझै पनि जनताको अपेक्षाहरु पूरा भएका छैनन् हाम्रो देशको श्रोत साधन र केही उपल्लो तहका भ्रष्ट र दलाल नोकरशाही चरित्रका कर्मचारीतन्त्रबाट जनताका विकासका चाहना पूरा हुन सकिरहेको छैन । अझै धेरै कामहरु गर्नु छ । त्यसका लागि फेरि पनि नेकपा एमालेको सरकार बन्न आवश्यक छ । त्यसको नेतृत्व फेरि पनि एक पटक केपी शर्मा ओलीले नै गर्नुपर्छ । पार्टी अध्यक्ष ओलीले कार्यकर्ताभित्रको संसयको अवस्था हटाएर पार्टीलाई सत्तामा पु¥याएर मात्रै विदा लिन आवश्यक छ । बीचैमा ओलीलाई विदा दिनु भनेको एमालेलाई विरोधीहरुका लागि कम्फर्टेवल बनाउन मौका दिनु हो । नीति कार्यक्रम मात्रै भएर हुँदैन त्यसलाई कार्यान्वयन गर्ने सक्षम जनशक्ति पनि चाहिन्छ । त्यो जनशक्तिले काम गर्न सकेन भने राम्रो भएपनि त्यो नीति कार्यक्रम असफल हुन्छ ।
एउटा उदारहण लिउँ अघिल्लो कार्यकालको कृषि मन्त्रीले वैशाखदेखि मल ल्याउन प्रक्रिया अघि बढाउनु भयो । किसानलाई मल चाहिने बेलामा मल आइ पुगेन हाहाकार भयो । आरोप ओली सरकारसँग लाग्यो काम विगारेका नेता प्रचण्डका ठेक्केदारले हो । तर, यसपटक कृषिमन्त्री पद्मा अर्यालले वैशाखदेखि नै मल ल्याउने प्रक्रिया अघि बढाउनु भयो, मल आयो समस्या भएन । हाम्रो अगाडि नतीजा प्रष्टै छ । त्यसकारण केपी शर्मा ओलीले सक्षम काम गर्न सक्ने कार्यकर्तालाई अघि बढाउनुभयो । यसमा गुटबन्दी भन्नेहरुले आफूले जिम्मा लिएको काम किन पूरा गरेनन् ?
एमाले कार्यकर्ताकै बलमा टिकेको पार्टी हो । अहिले पार्टीको सानो जुइनो फुस्किएको हो । त्यो जुइनोमा भर गर्नेहरु केही फुस्केका हुन् । जो मूल धरातलमा टेक्दैन् यस्तै जुइनो खोजि हिड्छ त्यो फस्किन्छ झर्छ । तर, मूल धरातलमा जसले टेकको छ त्यो लडेन झरेन् । खासगरी नेकपा एमाले र माओवादी एकीकरण गर्दा जुइनो दह्रो नभएर यस्तो परिणाम देखिएको हो । केही बाहिरबाट आउनु भएकाहरुले धरातल टेक्नुभयो उहाँहरु अडिनु भयो । जस्ले धरातल नटेकी जुइनोको भर गर्नुभयो उहाँहरु झर्नु भयो ।
नेकपा एमालेले स्थापित गरेको वैचारिक एकतालाई सुदृढ बनाउँदै अराजक प्रबृत्तिलाई निश्तेज गर्दै विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई स्थापित गराउन ओली नेतृत्व नै आवश्यक देखिन्छ । नेकपा एमाले अहिले पनि जनतामा स्थापित पार्टी हो । यो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले जनताको मन छुने धेरै कार्यक्रमहरु अगाडि बढाउनु भएको छ । विकास निर्माणका योजनाहरु राष्ट्रियताका एजेण्डाहरु अगाडि बढाउनु भएको छ । त्यो पूरा गर्न बाँकी नै रहेकोले ‘जसको नीति उसको नेतृत्व’ भनेझै पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुरु गर्नु भएको योजनाहरु आफैले पूरा गरेर नयाँ योजनाहरु पूरा गर्न नयाँ पुस्तालाई तयार गर्दै जिम्मा लगाउनु पर्छ । युद्धको बीचैमा मैदान खाली गर्नुको के अर्थ लाग्छ भनिरहनु परोइन ।
प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ११ : ३० बजे
प्रतिक्रिया