‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माधव नेपालको रोग भनेको चार जना मान्छे बटुलेर भएपनि अध्यक्ष हुनुपर्ने नै हो : अध्यक्ष ओली

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई चार जना मान्छे बटुलेर भएपनि अध्यक्ष हुनुपर्ने रोग लागेको बताउनुभएको छ । आज भक्तपुरमा आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रमलाई संवोधन गर्नुहुँदै अध्यक्ष ओलीले अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाइने बताउनुभयो । सरकारले गलत मनसाय राखेर अध्यादेश ल्याएको बताउदै अध्यक्ष ओलीले सरकारको उद्देश्य भनेको जसरी भएपनि एमालेलाई कमजोर पार्ने र फुटाउने भएको बताउनुभयो । सर्वोच्च अदालतले देशको महत्वपूर्ण आवश्यकता परेको खण्डमा मात्र अध्यादेश ल्याउन पाइने ब्याख्या गरेपनि देश र जनताको लागि आवश्यक नै नभएको अध्यादेश ल्याइएको उहाँले बताउनुभयो । 

चलिरहेको संसदलाई मध्यरातमा अन्त्य गर्नु र भोलीपल्ट विहानै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु भनेको सरकारको गलत मनसाय भएको ओलीले बताउनुभयो । सरकार भित्रभित्रै अध्यादेशको तयारी गर्दै सदनलाई ढाँटिरहेको उहाँले बताउनुभयो । कानुन आवश्यक परे अघिल्लो दिनसम्म संसद चलेको भन्दै त्यहाँ विद्येयक नल्याएर एमाले विभाजन गर्नका लागि संसद बन्द गरेर अध्यादेश ल्याइएको उहाँले बताउनुभयो । सरकारले ल्याएको अध्यादेश एमालेलाई फुटाउन र कमजोर पार्न गलत मनसायका साथ असंवैधानिक तरिकाल ल्याइएको उहाँले बताउनुभयो ।

एमालेले अध्यादेश जारी नगर भन्दा भन्दै अध्यादेश ल्याइएको बताउँदै अध्यक्ष ओलीले त्यसको लोकतान्त्रि र संवैधानिक ढँगले प्रतिवाद गरिने बताउनुभयो । 

‘संसद र सदन नभएको बेला कुनै कानुन नभइ नहुने भयो भने अध्यादेश बन्छ । यहाँ के आवश्यकता थियो ? जनताका लागि के समस्या थियो  ? देशका लागि यो किन आवश्यक थियो । गलत मनसाय , कानुनलाई भाँजकुज पार्न र सरकार जोगाउन अध्यादेश  ल्याइएको छ, यो अध्यादेश अविंलम्ब फिर्ता गरिनु पर्दछ ।’ अध्यक्ष ओलीले तत्काल संसद अधिवशेन बोलदाउन माग गर्नुभयो । 

अनुचित कामलाई पराजित गर्न एमाले तयार छ

‘एमाले गैरकानुनी अनुचित र असंवैधानिक बाटोमा जाँदैन । लोकतान्त्रिक र संवैधानिक बाटोबाट अनुचित कामलाई पराजित गर्न एमाले तयार छ । ’ ओलीको भनाइ थियो । नेता माधव नेपालले पार्टी नेतृत्व गर्दा ठुलो पार्टीलाई कचौरा जस्तो पारेर राजिनामा दिएको बताउँदै अध्यक्ष ओलीले माधवको काम भनेकै एमाले समाप्त पार्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो,–आफैले नेतृत्व गर्दा विशाल पार्टीलाई कचौरा जत्रोमा सिमित पार्नुभयो र अब त सकियो भनेर छोड्नुभयो । सरकारको नेतृत्व गर्दा पनि पार्टीको सहयोग र विपक्षीको सहयोग हुँदा पनि ९ महिनामै निकम्वा बनाउनुभयो र एमालेले सरकार चलाउन सक्दैन भनेझै छोड्नुभयो । अहिले विपक्षीहरुसँग गठजोड गरेर एमाले समाप्त पार्ने कोशिस गरिरहनुभएको छ । अध्यक्ष ओलीले भन्नुभयो । 

एमाले अझै पनि विभाजन नभएको बताउँदै अध्यक्ष ओलीले एमाले देशको प्रमुख ठुलो पार्टी भएको बताउनुभयो । १०० सिट भन्दा माथि संघीय सरकारमा एमालेको मात्र रहेको उहाँले बताउनुभयो । सातबटै प्रदेशमा अझै पनि एमाले एकातिर र अरु जम्मै एकातिर रहँदा पनि झण्डै झण्डै बराबरीको अवस्थामा रहेको ओलीले बताउनुभयो । माधव कै कारण एमालेले सबै ठाउँका सरकार गुमाउन परेको भन्दै पार्टीको वरिष्ठ नेता भन्दै आफ्नै पार्टी सिध्याउन लाग्ने झगडियाहरु अब आफ्नो पार्टीमा नरहेको बताउनुभयो । 

‘पार्टी बर्बाद पारिरहने अनि  अध्यक्ष पनि चाहिँ रहने ?’

आफ्नै पार्टीका सरकार विरुद्घ फ्लोरक्रस गरेर सरकार ढाल्ने, शेरबहादुर देउवा जस्ता दक्षिणपन्थीको सरकार बनाउन आफुलाई एमालेको बरिष्ठ नेता हो भन्दै राष्ट्रपतिकोमा हस्ताक्षर लिएर जाने र अदालतमा पनि एमालेलाई एमालेको निर्णय विरुद्घ उभ्याएर गलत राजनीनि माधवले गरेको ओलीले बताउनुभयो । माधव नेपालको प्रबृति,–‘पार्टी बर्बाद पार्ने अनी अध्यक्ष पनि चाहियो भन्ने खालको छ।’ उहाँले भन्नुभयो ।

यो सरकार काम गर्न बनेको हैन विर्गान र भत्काउन बनेको हो 

सरकारकामा बसेर जति नै खुट्टा तानिए पनि आफ्नो नेतृत्वमा मुलुकमा धेरै विकासका कामहरु भएको अध्यक्ष ओलीले बताउनुभयो । बर्तमान सरकार काम विर्गान र भत्काउन बनेको भन्दै उहाँले सरकार बनेको डेढ महिनामा विपक्षीलाई धम्काउने, दमन गर्नै, षडयन्त्र गर्ने र गाली गर्नै बाहेक अहिलेको सरकारले कुनै काम नगरेको बताउनुभयो । देउवा नेतत्वको सरकारको बाँकि दिनपनि यसरी नै सकिने उहाँको दाबी थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ५ : ५३ बजे