‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

 १४ सांसद पदमुक्ति गरेको सूचना तत्काल टाँस्न  सभामुखलाई एमालेको आग्रह 

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई तत्काल प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । 

एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतका नेताहरूले आज सभामुखलाई भेटेर माओवादी र जसपाले कारवाही गरेका सांसदलाई २४ घण्टाभित्रै पदमुक्त गरेको नजिर पेस गर्दै तत्काल पदमुक्त गरेको सूचना टास्न र एमालेविरुद्ध नलाग्न चेतावनी दिनुभएको हो । 

सभामुख सापकोटाले एमाले नेताहरूसँग शुरूमा आफू कसैको दबाबमा काम नगर्ने भन्दै आफूसँग चर्का कुरा नगर्न आग्रह गरेका थिए । तर, एमाले नेताहरूले सभामुखलाई कानूनको कार्यान्वयन गर्नेबाहेक अरु विकल्प नरहेकोले विलम्ब नगर्न आग्रह गरेका थिए । एमाले प्रमुख सचेतक भट्टराईले भन्नुभयो, सभामुले के गर्ने वा नगर्ने भन्ने कुरै छैन । कानूनले जे भनेको छ त्यो गर्ने हो । कारवाही पार्टीले गरेपछि ठीक बेठीक अदालतले भन्ला । तर, सभामुखले हिजोका उदाहरण समेत हेरेर खुरुक्क सूचना टाँस्नुपर्छ । नत्र एमालेले सभामुखलाई सहयोग गर्न सक्दैन ।’

एमाले नेताहरूले तत्काल कारवाही प्रक्रिया अघि बढाउन चेतावनी दिएपछि सभामुख सापकोटाले आफूले बुझेर प्रकृया अघि बढाउने आश्वासन दिएका छन् । 

सभामुखलाई भेट्न एमालेका नेताहरू खगराज अधिकारी, कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी, महेश बस्नेत, निरु पाल, पार्वत गुरुङ, राजेन्द्र गौतम, भगवती न्यौपाने, गंगा चौधरीलगायत सांसद जानुभएको थियो । 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  २ : ११ बजे