साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चालु आवमा ‘फ्लाइओभर’ निर्माण अघि नबढ्ने

काठमाडौँ – सडक विभागले कोटेश्वर–कलङ्की खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालु आवमा प्रक्रिया अघि नबढ्ने भएको छ । ललितपुरको ग्वार्काे, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने भनिए पनि अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको छैन । 

तीनवटै चोकमा निर्माण योजना बनाइएको भए पनि चालु आवमा ग्वार्काे चोकमा निर्माण शुरु गर्ने गरी अध्ययन गरिएको सडक विभागले जनाएको छ । यसका लागि आवश्यक रकम विभागले अर्थ मन्त्रालयसँग माग गरेको विभागका प्रवक्ता शिव नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “अर्थ मन्त्रालयमा भएको छलफलअनुसार चालु आवमा ठेक्का शुरु गर्न सकिने देखिएको छैन ।”

बजेट अभावका कारणले अर्थ मन्त्रालयले सहमति नदिएको हुनसक्ने प्रवक्ता नेपालले बताउनुभयो । चालु आवमा डिजाइनका लागि रकम छुट्याइएको भए पनि निर्माणका लागि बजेट छुट्याइएको थिएन । अर्थ मन्त्रालयसँग निर्माणका लागि रकम मागेर बहुवर्षीय ठेक्का गर्न खोजिएको भए पनि मन्त्रालयले दिनसकेको छैन । कतिपय ठेक्कामा काम सम्पन्न भइसकेको भए पनि भुक्तानी दिन नसकेकामा थप दायित्व किन गर्ने भन्ने मन्त्रालयले सोचेको हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले भने जति नभए पनि विभागले कतिपय ठेक्का सम्पन्न भएकामा भुक्तानी गर्न बाँकी छ ।”

आगामी आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई छुट्याएको बजेटबाट पनि यसको निर्माण गर्न सकिने हुनसक्ने प्रवक्ता नेपालले बताउनुभयो । अर्थ मन्त्रालयले सहमति दिएमा चालु आवमा सूचनासम्म निकालेर अर्काे वर्षमा गर्ने गरी काम अघि बढाउन सकिने देखिएको छ । यससम्बन्धी फाइल अहिले अर्थ मन्त्रालयमा छ । केही समय पहिले मात्रै मन्त्रालयले विभागसँग ‘फ्लाइओभर’ निर्माणका बारेमा चासो देखाएर छलफल गरेको थियो । विभागले आफूसँग कागजात तयार रहेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन सहमति मागेको थियो । उहाँले भन्नुभयो, “ठूलो लगानी भएकाले उहाँहरुले थप छलफल गर्नुपर्छ भन्नुभएको छ ।”

चालु आवमा ग्वार्काेमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आवमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी विभागले योजना बनाएको थियो । चीन सरकारले केही वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएको छ । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै आकाशेपुल निर्माण सम्पन्न गरेको छ । ती स्थानमा ‘फ्लाइओभर’ बनाउन आकाशेपुल भत्काउन नपर्ने विभागले जनाउँदै आएको छ । 

उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । सरकारको लगानीमा निर्माण हुन लागेका यो नै पहिलो फ्लाइओभर हुनेछ । निर्माण शुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने बताइएको छ । नेपाली निर्माण व्यवसायीलाई नै निर्माणको जिम्मेवारी दिन सकिने विभागले जनाउँदै आएको छ । विगतमा जटिल प्रकृतिका पुल निर्माण गरेका व्यवसायीले नै ‘फ्लाइओभर’ निर्माण गर्न सक्ने विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा योजनामा भए पनि अहिलेसम्म सतुङ्गलमा मात्रै निर्माण शुरु गरिएको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाले सुरुङसँगै ‘फ्लाइओभर’ निर्माण गरिरहेको छ । तोकिएको अवधि (निर्माण शुरु भएको ४२ महिना) मा सम्पन्न भएमा यो नै नेपालको पहिलो ‘फ्लाइओभर’ बन्ने प्रवक्ता नेपालले बताउनुभयो । विगतमा चक्रपथकै अर्काे खण्डमा चीन सरकारले, कोटेश्वर, बानेश्वर र थानकोटमा जापान सरकारको सहयोगमा ‘फ्लाइओभर’ निर्माण गर्ने छलफल भएको थियो । यी सबै ‘फ्लाइओभर’ निर्माण भएमा अबका केही वर्षपछि उपत्यकामा फ्लाइओभरको सङ्ख्या झण्डै आठ पुग्नेछ ।

उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थानमा बानेश्वर र जडीबुटीचोक रहेका छन् । यी दुवै स्थानमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ‘फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ । जाइकाको टोलीसँग भौतिक पूर्वाधार मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ । बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।

विसं २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रूपमा कलङ्की–चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण गरिने भएको छ । चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अण्डरपास’ निर्माण गरेको थियो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकचोकमा जाम हुँदा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ को विकल्प खोज्न थालिएको हो ।
 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ३ : ५९ बजे