‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अफगान महिलाको अधिकारप्रति पश्चिमी देशहरूको चिन्ता

वासिङ्टन – अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता नियन्त्रणमा लिएपछि अफगानी महिलाहरूको अधिकारप्रति पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् । 

    अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले संयुक्तरूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरूको अधिकार कुण्ठित हुने चिन्ता व्यक्त गरेका हुन् । 

    उनीहरूले महिला तथा बालिकाहरूको अधिकार सुनिश्चित गर्न पनि सरोकारवालाहरूलाई आग्रह गर्दै ध्यानाकर्षण गराएका छन् ।

    “हामीलाई परिवर्तित अवस्थामा अफगानिस्तानका महिला र बालिकाहरूको अधिकार कुण्ठित होला कि भन्ने चिन्ता छ, त्यसतर्फ हामी विषेश ध्यानाकर्षण गराउन चाहन्छौँ,” संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । 

    उनीहरूले विषेश गरेर अफगानी महिलाहरूको शिक्षा, काम गर्ने स्वतन्त्रता, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकारलगायतका विषयमा आफूहरूको चिन्ता रहेको जनाएका छन् । 

    वक्तव्यका अनुसार अमेरिकी, युरोपेली मुलुकसँगै अल्बानिया, अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चिली, कोलम्बिया, कोस्टारिका, इक्वेडर, होन्डुरस, ग्वाटेमाला, न्यूजिल्याण्ड, नर्वे, पाराग्वे, सेनेगल, स्विट्जरल्याण्डलगायतका देशहरूले अफगान महिलाहरूको अधिकारप्रति चिन्ता व्यक्त गरेका हुन् । 

    तालिबानहरूले चलाउन थालेको शासनमा महिलाहरूलाई गर्ने व्यवहार कस्तो हुनेछ, अधिकार र स्वतन्त्रताप्रतिको उनीहरूको दृष्टीकोण र व्यवहारका बारेमा आफूहरूले नजिकबाट नियालिरहेको पनि ती देशहरूले वक्तव्यमा उल्लेख गरेका छन् ।  

    तालिबान विद्रोहीहरूको अघिल्लो शासनकाल र युद्धकालमा उनीहरूलाई महिला अधिकार र स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएकाले चिन्ता व्यक्त गर्नुपरेको उनीहरूको भनाइ छ । 

रासस÷एएनआई

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : २१ बजे