‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एक्लिए माधव : दोस्रो तहका नेताले छोडे साथ

काठमाडौँ ।  लामो समयदेखि माधवकुमार नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल दर्तामा भने साथ छोडेका छन् ।  

निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेका स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने बाहेक अरु कुनै पनि नेताले साथ दिएनन् ।  

लामो समयदेखि पार्टी विभाजनका विरुद्घमा उभिनुभएका एमालेका दोस्रो तहका नेताले माधवलाई पार्टी फुटाउने कार्यमा असहयोग गर्नुभएको हो । कार्यदलका सदस्य रहनु भएका कुनै पनि नेताहरु नयाँ दल गठनमा जानु नभएको हो ।  

 एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको थियो ।  त्यसैगरी नेताहरु योगेश भट्टराई,अष्टलक्ष्मी शाक्य लगायत दोस्रो तहका कुनैपनि नेताले नेपाललाई साथ नदिनुभएको हो ।  

 सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न आयोग पुग्नुभएको छ । आयोग पुगेका नेपालको दल आज दर्ता नुहने निर्वाचन आयोग निकट स्रोतले जनाएको छ । कानुनी प्रावधान हेर्नुपर्ने र उहाँले ल्याएको चुनाव चिन्ह पनि जुदेकाले उहाँको दल दर्ता नहुने आयोग स्रोतले बतायो । 

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : ५६ बजे