‘नेशनल डे कन्सर्ट’ सम्पन्न

न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड

काठमाडौँ – श्रमजीवी पत्रकारलाई अनिवार्यरुपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रमका सहभागीले कतिपय सञ्चारकर्मी अहिले पनि बिना पारिश्रमिक काम गर्नु परिरहेको बताउनुभयो । 

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले न्यूनतम पारिश्रमिकको समस्या लामो समयदेखि टुङ्ग्याउन बाँकी रहेको र यसलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्ने बताउनुभयो । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकका समस्या हल गर्नका लागि मन्त्रालयले छलफल गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । लामो समयदेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पदाधिकारी नियुक्ति भएकाले अब जतिसक्दो समस्या सुल्झाउन लाग्नुपर्नेमा सचिव बस्यालले जोड दिनुभयो । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले देशभर कार्यरत सञ्चारकर्मीको वास्तविक तथ्याङ्क नै यकिन हुन नसकेको बताउनुभयो । समितिले चाँडै नै श्रमजीवी पत्रकारको वास्तविक तथ्याङ्क पत्ता लगाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन ठोस कदम चाल्ने बताउनुभयो । समानुपातिक विज्ञापन प्रणाली अनिवार्य लागू गराउनुपर्नेमा अध्यक्ष अर्यालले जोड दिँदै विज्ञापन बोर्ड गठन भएकाले चाँडै नै उक्त प्रणाली लागू हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारीले कतिपय सञ्चारमाध्यमले नियुक्तिपत्र बिना नै काममा लगाएको बताउनुभयो । बिना नियुक्ति काम गराउँदा कार्यरत श्रमजीवी पत्रकारको सही तथ्याङ्क नै उपलब्ध हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । 

यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अर्का सदस्य विमला पाण्डेले सबै सञ्चारमाध्यमको अवस्था गहनरुपमा अध्ययन अवलोकन गरी वास्तविक अवस्था पत्ता लगाउन जरुरी रहेको बताउनुभयो । पुरुष पत्रकारभन्दा महिला पत्रकारले बढी समस्या भोग्दै आएको उहाँले गुनासो गर्नुभयो । अबका दिनमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले कार्ययोजना बनाएर श्रमजीवी पत्रकारको हितमा काम गर्नुपर्नेमा पाण्डेले जोड दिनुभयो । 

मोफसलका सञ्चारकर्मीले अत्यधिक समस्या भोग्नु परिरहेको भन्दै उहाँले स्थानीय विज्ञान स्थानीय सञ्चारमाध्यमलाई अनिवार्यरुपमा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । छलफल कार्यक्रममा समितिका सदस्यसचिव गोगनबहादुर हमाल, सहसचिव शोभाकान्त पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य ऋषिकेश श्रेष्ठ, नवराज महतरा, गिरुप्रसाद भण्डारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

रासस

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : २३ बजे