साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

माधव नेपालः विचारमा खोटैखोट, परिणाममा चोटैचोट

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का 'बरिष्ठ नेता' माधव नेपाल नेपालको राजनीतिमा एक अनौठो पात्रको रूपमा देखा परेका छन् । कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा(एमाले)को लामो समयसम्म नेतृत्व गरेका माधव नेपाल पदको नाजायज भोकका कारण आज आफैं न घरको न घाटको स्थितिमा पुगेका छन् । धेरै विगतको उनको विचारमा देखापरेको खोटको त यहाँ बयान गरेर साध्य छैन, गत आमनिर्वाचनमा बनेको बाम गठबन्धनयता उनमा देखा परेको वैचारिक खोटलाई यसरी सूत्रबद्ध गर्न सकिन्छ ।

प्रचण्डसँग मिलेर ओली सिध्याउने
​​​​​​​अघिल्लो आम निर्वाचनमा बाम गठबन्धनले भव्य सफलता प्राप्त गरेपछि त्यही उत्साहमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न तयार भए । बन्दुकको बलमा सत्ता कब्जा गर्ने सार बोकेको माओवादी विचार बोकेको माओवादी केन्द्र र शान्तिपूर्वक बाटोबाट चुनावमा श्रेष्ठता हासिल गरेर सत्ता सञ्चालन गर्ने जनताको बहुदलीय जनवादी सिद्धान्त अङ्‌गिकार गरेको एमालेबीच प्रष्ट वैचारिक मार्गचित्र तयारै नगरी कठात् एकता गरियो । एकतापछि बनेको नेकपामा पार्टीलाई वैचारिक र साङ्गठानिक रूपमा मजबुत बनाउन भूमिका खेल्नु पर्नेमा माधव नेपाल प्रचण्डसँग गोप्य साँठगाँठ गरि ओलीलाई पार्टी र सरकारबाटै हात धुन वाध्य पार्ने अभियानमा लागे । पार्टीभित्र र संसद्‌भित्र टाउको गन्न खप्पिस माधव नेपाल तुरुन्त पार्टीसत्ता वा राज्यसत्ता कब्जा गर्ने योजनामा लागे । सधैं अस्थिरतामा खेल्न मन पराउने प्रवण्ड र पदको लागि जे पनि गर्न पछि नपर्ने माधव नेपालबीच राष्ट्रपति विद्या भण्डारीसमेतलाई गलहत्याउने योजना बन्यो । राष्ट्रपति पदका व्यग्र आकाङ्क्षी झलनाथ खनाल त्यतै लपेटिए । यो उनीहरूको विचारमा आएको स्खलन थियो, खोट थियो । पार्टी एकताले पूर्णता नपाउँदै, वैचारिक-साङ्गठानिक सवालको निरूपण नहुँदै माधवले ओलीभन्दा प्रचण्डलाई नजिक देख्नु नै नेकपा र हालको एमालेको समस्याको प्रमुख कारण हो ।

आफूलाई पार्टी, ओलीलाई गुट देख्ने
सर्वोच्चको फैसलाले एमाले ब्युँताइदिएपछि पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षतामा बसेको विधानसम्मत बैठकलाई माधव नेपाल 'गुटको बैठक' भन्छन् । आफूले नेतृत्व गरेको कोटरीको कानेखुसीलाई 'एमालेको बैठक' भन्छन् । अनि एमालेको बरिष्ठ नेताकै हैसियतमा कथित अग्रगमनकारी एमालेविरोधी गठबन्धनमा सहभागी हुन्छन् । तलतलसम्म त्यसै गर्न आफ्ना आसेपासेलाई उकास्छन् । आफैं कार्यदल बनाएर त्यसले सुझाएको समाधान मान्न राजी हुने अनि बडो मेहनतसाथ कार्यदलले समस्या समाधान प्रतिवेदन तयार पारेपछि 'म मान्दिन, मलाई बराबरी हैसियतको अध्यक्ष चाहिन्छ भन्ने नयाँ माग अघि सारेर आफूलाई विभाजनकै कित्तामा उभ्याएका छन् ।

जबजलाई प्रतिगमनकारी विचार देख्ने
​​​​​​​जतिबेला माधव नेपाल प्रचण्डसँगको मिलिभगतमा साविक नेकपाबाट ओलीलाई गलहत्याउने हर्कत गर्दै थिए, त्यतिबेला आफूले वर्षौंवर्ष अङगालेको जनताको बहुदलीय जनवादलाई समेत प्रतिगमनकारी विचार भन्न भ्याए । जबजका नामी दुस्मन प्रचण्डको भाषा सापटी लिएर जबजको उछित्तो काढे । तर एमाले ब्युँझियो, फेरि जननेता मदन भण्डारीको फोटो मुनि उभिएर 'हामी एमालेको विचार जबज हो, त्यसको सच्चा अनुयायी ओली होइनन् म हुँ पो भन्न थाले । कति हाँस्नु !

प्रमुख लक्ष्य पद
हुन त राजनीति गर्ने मानिसको जीवनमा पदको हिसाबकिताब भइरहन्छ, अर्थात् उसको जीवन पदकै वरिपरि घुमिरहन्छ । कोही नेतालाई पदले लखेट्छ,कोही नेता पदको पछाडि मृगमरीचिकाको नियतिमा दौडिरहन्छन् । माधव नेपाल दोस्रो कोटिमा पर्छन् । माधव नेपाल एक पात्रमात्र होइनन् , प्रवृत्ति बनेर खडा छन् । पदलोलुप प्रवृत्तिको रूपमा । घोर प्रतिगमनकारी ज्ञानेन्द्रको आव्हानमा प्रधानमन्त्री पदको लागि विन्ती-पत्र चढाए पनि उनी सफल हुन सकेनन् । प्रथम संविधानसभाको निर्वाचनमा काठमाण्डौ र रौतहट दुवै क्षेत्रबाट जब उनलाई माओवादीले पराजित गर्‍यो, तब त्यही संविधानसभा सदस्य पद माओवादी सुप्रिमो प्रचण्डसँग बक्सिस मागे । माओवादी भिक्षाबाट संविधानसभामा पुगेका माधव नेपाल प्रधानमन्त्री पद माग्न चाहिँ गिरिजाको शरणमा पुगे ।

नेकपा (एमाले) का अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकार ढाल्न गठबन्धन बनाइरहँदा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाइदिन देउबा र प्रचण्डसँग निकै अनुनय-विनय गरेको तर पार्टी नफोरी त्यो संभव नहुने बताएपछि पछि हटेको बताइएको थियो । अहिले भनिदैंछ- माधव नेपाल तीनतिर बार्गेनिङ गरिरहेछन् । देउबासँग आफ्नो समूहले पाउने मन्त्रीको सङ्‌ख्यामा बार्गेनिङ गरिरहेछन् । प्रचण्डसँग एमालेको विकल्पमा माओवादी केन्द्र,एमालेबाट आफ्नो नेतृत्वमा चोइटिने समूह, किरण, विप्लव, बाबुरामसहितको बाम-समाजवादी कित्ता बनाउने र त्यसको नेतृत्व पाउनुपर्ने बार्गेनिङ चलिरहेको छ । एमालेमा कानुनी हस्ताक्षरसहितको बराबरी हैसियत पाउनुपर्ने उनको एकताको बटमलाइन त सार्वजनिक भइसकेकै छ ।

विचारमा खोट भएपछि प्राप्त हुने परिणाम पनि अन्ततः चोटैचोट हो । हालको माधव नेपालको त्रिपक्षीय बार्गेनिङबाट केही हात लाग्ने छैन । नेकपाको एकतापछि प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष स्वीकार्दा पाएको हण्डर र ठक्कर एमालेले विर्सेको छैन । बरू एमालेको अध्यक्ष पदलाई विधान महाधिवेशनमार्फत् बढी शक्तिशाली र व्यवस्थित बनाइने छ तर एमालेको तर्फबाट उनले मागेजस्तो कानुनी अधिकारसहितको ओलीसरह अध्यक्ष कुनै हालतमा उपलब्ध हुने छैन । सरकारलाई पूर्णता नदिइ माधव नेपाललाई पर्खिएर बसेका भनिएका देउबाले उनका केही मानिसलाई ६ महिनाको लागि मन्त्री बनाउँलान् । त्यसबाट उनको कुनै अभिष्ट पूरा हुदैन । एमालेको सिङ्गो पङ्क्ति विभाजित हुन नचाहेको र दोस्रो तहका नेतहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल(?), योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यले समेत  एमाले छाड्न नमानेको अवस्थामा देउबाले हाल चाहेजस्तो एमाले विभाजन हुदैन र गठबन्धनमा माधव नेपालको औचित्य पनि सकिंदै जान्छ । एकातिर तीव्र कम्युनिष्टविरोधी देउबा सरकारमा कम्युनिष्ट हावी भएको हेर्न चाहदैनन् भने अर्कोतिर एमसीसीको घाँडो त छँदैछ ।

जहाँसम्म एमालेको विकल्पमा बन्ने सम्भावित बाम मोर्चाको नेतृत्वको सवाल छ, त्यो नेतृत्व माधव नेपाललाई किमार्थ प्राप्त हुदैन । प्रचण्डले माधवलाई आफ्नो कार्यकर्ता बनाउन एमाले फुटाउन उक्साइरहेका हुन्, नेता बनाउन होइन । आफ्नो स्वार्थ पुरा नहुन्ज्याल कठपुतली बनाएर नचाउन हो, एमालेले दिएको हैसियत दिन होइन ।

एमालेको सरकारभन्दा काङ्ग्रेसको सरकारलाई क्रान्तिकारी र अग्रगमनकारी देख्ने, एमालेभन्दा काङ्ग्रेस संस्कारी देख्ने माधव नेपालकै कारण नेपालको कम्युनिष्ट आन्दोलनले निकै ठूलो चोट पाएको छ । एमालेको सचेत साङ्गठानिक र वैचारिक पहलकदमीले त्यो चोटको निदान र उपचार होला तर चारतिरबाट माधवले पाउने चोटले उनको राजनीतिको इहलिला सकिने चाहिँ निश्चित छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : ११ बजे