‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सरकारलाई बाँस्कोटाको चुनौती : गलत गरेको छैन,छानबिन गर

​​​​​​​काभ्रेपलाञ्चोक । पूर्व मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा आफूले कुनै गलत निर्णय नगरेको बताउनुभएको छ । उहाँले एमालेले आफ्नो सरकार हुँदा आफूलाई जोगाएको भन्ने आरोप लगाउनेहरू प्रति छानबिन गर्न आग्रह गर्नुभयो । 

काभ्रेको बनेपामा नेपाल खेलकुद महासङ्घले आयोजना गरेको जिल्ला भेला कार्यक्रमलाई संवोधन गर्नुहुँदै बाँस्कोटाले आरोप लगाउनेहरू अहिले सरकारमा भएको भन्दै निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । ‘अहिले एमाले र केपी ओलीको सरकार छैन, वर्तमान सरकारले म माथि छानबिन गरोस् ।’बास्कोटाले भन्नुभयो । बास्कोटाले आफूले कुनै गलत निर्णय नगरेको बताउँदै  छानबिन गरी गलत गरेको भेटाए कारबाही गर्न चुनौती दिनुभयो ।    ‘म माथि आरोप लगाउनेहरूकै सरकार छ, छानबिन गरेर कारबाही गरोस्’ बास्कोटाको भनाई थियो । 

कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका बास्कोटाले पार्टी अनुशासन उलङ्घन गर्नेहरूलाई जनता  र कार्यकर्ताले माफी नदिने बताउनु भयो । 

कार्यक्रममा बोल्नुहुँदै सांसद बाँस्कोटाले वर्तमान सरकारले दार्चुलामा भारतीय एसएसपीले तुहिन काटी हत्या गरिएका जय सिंह धामीको विषयमा बोल्न नसकेको बताउनुभयो । वर्तमान सरकारलाई कन्र्फटेव सरकार भन्दै पूर्व मन्त्री बाँस्कोटाले काभ्रेमा केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेको बजेट कटाए काभ्रेली जनताले नछोड्ने बताउनुभयो । ‘कन्र्फटेबल सरकारले काभ्रेमा अघिल्लो सरकारले विनियोजन गरेको बजेट कटायो भने काभ्रेली जनताले छोड्दैनन् ।’ बाँस्कोटाको भनाई थियो ।  

कार्यक्रममा एमाले काभ्रेका जिल्ला अध्यक्ष अशोक ब्यान्जु, खेलकुद महासङ्घ निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा एमाले काभ्रेका नेता एवं रामहरि न्यौपाने, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, नेताहरू राजन भुर्तेल,कन्चन अधिकारी, सुरेश हुमागाईँ लगायतको उपस्थिति थियो । कार्यक्रम खेलकुद महासङ्घ काभ्रेका अध्यक्ष नवराज मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।  

 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  २ : १५ बजे