‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बाढीले बगाएको रातोपुलको स्थानमा बेलिब्रिज बन्ने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित बाढीले बगाएको रातोपुलको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।

सिंहदरबारमा मङ्गलवार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिनुभएअनुसार शुक्रवार हेलम्बु पुगेको प्राविधिक सहितको टोली उक्त स्थानमा बेलिब्रिज हाल्ने निष्कर्षमा पुगेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्यसचिव एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का कार्यकारी प्रमुख अनिल पोख्रेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग नेपाली सेना सम्मिलित प्राविधिक टोलीले स्थानीय सरकार सँगको समन्वयमा गत असार १ र साउन १६गतेको बाढीले बगाएका पुल मध्ये अत्यावश्यक ठानिएको चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का कार्यकारी प्रमुख अनिल पोख्रेलले जानकारी दिनुभयो ।

“प्राविधिक टोलीको सर्वेक्षण अनुसार चनौटेको रातोपुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा ४–५ मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरेका छौँ ।’ कार्यकारी प्रमुख पोख्रेलले भन्नुभयो‘उक्त स्थानमा सामान लिएर जाने बाटो बन्ने बित्तिकै पुल निर्माणको काम सुरु गर्छौँ ।”

उहाँका अनुसार हेलम्बुकै चुरेटार र थापाटार जोड्ने यान्त्रिक पुलको पनि सर्वे भइसकेको र सँगै निर्माण कार्य थालिने छ । 

प्राधिकरण, सडक विभाग र नेपाली सेनाले संयुक्त रूपमा काम गर्ने हुँदा निर्माण कार्य थालिएको १५ दिनभित्रमा उक्त पुल सम्पन्न हुने पनि कार्यकारी प्रमुख पोख्रेलले बताउनुभयो ।

पोख्रेलका अनुसार हेलम्बुको सर्वे सके लगत्तै उक्त प्राविधिक टोलीले मेलम्ची र पाँचपोखरी  क्षेत्रको सर्वे गरेर आवश्यकताका र प्राथमिकताका आधारमा बेलिब्रिज तथा यान्त्रिक पुलको निर्माण कार्य अघि बढाइने छ ।

“अबको ४–५ दिनमा बाटो क्लियर गरेर सामान लाने व्यवस्था मिलाउँछौँ ।’ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालजेन शेर्पाले भन्नुभयो ‘२–३ दिन भित्र आवश्यक प्रक्रिया पुरा गरी बाटो क्लियर गरेर सामान लाने तयारीमा छौँ ।”

उक्त पुल नहुँदा हेलम्बुको १, २ र ३ नम्बर वडा पाँचपोखरी थाङपालको १ र २ नम्बर वडा र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक यातायातबाट पुर्णरुपमा वञ्चित रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

असार १ गते र साउन १६ गते गएको बाढी पहिरोले मेलम्ची क्षेत्रमा पाँच वटा पक्की पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुर्‍याएको थियो ।

 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ४७ बजे