युवा नवप्रवर्तन अभियान : खाद्य प्रणाली रूपान्तरण

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००० देखि हरेक वर्ष अगष्ट १२ तारिखका दिन अन्तर्राष्ट्रिय युवा दिवश मनाउँदै आइएकोमा यस वर्ष हिजो मनाइयो । युवा समुदायलाई उत्साहित, जागरुक र सक्रिय तुल्याउन प्रत्येक वर्ष नयाँ संकल्प अगाडि सारेर मनाउने गरिएको अन्तर्राष्ट्रिय युवा दिवसमा यस वर्षका लागि ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने रहेको छ । भूमण्डलमा हरितगृह ग्यास उत्सर्जनद्वारा विश्व खाद्य प्रणालीमा उत्पन्न हुँदै गइरहेको जटिल समस्याले पैदा गरेको खाद्य संकट र जलवायु संकटलाई अन्त्य गरेर धर्ती र मानिसको स्वास्थ्यलाई चुस्तदुरुस्त राख्नका लागि चेतना र जागरणका संवाहक युवालाई थप अभिप्रेरित गर्नु सामयिक विषय हुन आएको छ । 

भोकमरी भनेको खानाको अभावसँग जोडिएको छ । सामान्यतया मानिसलाई दिनमा १८०० क्यालोरी खाना चाहिन्छ र यो भन्दा कम भएमा कुपोषण हुन्छ र विभिन्न प्रकारका रोगहरूले आक्रमण गर्दछ । हुनत विश्वमा अहिले पनि चाहिने भन्दा बढि खाद्यान्न उत्पादन भइरहेको छ तर त्यसको समन्यायिक वितरण हुन नसक्दा मानिसले भोकमरीको सामना गर्नुपरिरहेको छ । फलस्वरूप हाल विश्वमा ८० करोड मानिस भोकभोकै बस्नु परिरहेको यथार्थता आँकडाले देखाएको छ । स्वयं युवा समुदाय पनि कुपोषण र भोकमरीबाट अछुतो रहन सकेको छैन । 

खाद्य प्रणाली भनेको खेतीबाट भान्सामा खानेकुरा आउने कुरा मात्र होइन बरु यो त उत्पादन, भण्डारण, वितरणजस्ता समग्र प्रक्रियाको समुच्चय हो । खाद्य उत्पादन बढाएर मात्र हुँदैन त्यस्तो खाद्यान्न्न उत्पादन गर्दा माटोको गुणस्तर कायम राख्न र  तालतलैया, नदी तथा समुद्रको प्रदुषणलाई रोक्न सकेमात्र स्वस्थ्य खाना सधैँ प्राप्त हुन्छ । खेतबारीमा रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले खाद्यान्न उत्पादन कमसल मात्र भइरहेको छैन, वातावरण विनास पनि तीब्ररूपमा बढिरहेको छ । संसारमा वातावरण प्रदूषणका कारणले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, मरुभूमीकरण जस्ता विपत्तिहरू आइरहेका छन् र ठूलो मात्रामा जनधनको क्षति भइहरेको छ । 

नवप्रवर्तन भन्नाले पुरानो चिन्तनलाई विस्थापित गरेर नयाँ जागृत गर्ने, समाजका विभिन्न पहलुलाई सुधार गर्ने, पुरानो प्रविधि, उत्पादन प्रक्रिया र सेवालाई नयाँले प्रतिस्थापन गर्ने कुरालाई बुझाउँछ । त्यसो त हरेक पुराना कुरा जो समाजमा असान्दर्भिक हुन्छन् तिनलाई नयाँले निषेध गरिरहेको हुन्छ । तर ती पुराना चिजवस्तुहरू स्वःस्फूर्तरूपमा विस्थापित हुने होइनन्, बरु प्रगतिशील चिन्तन र भौतिक परिवेशले मात्र नयाँलाई स्थापित गर्न सक्दछ र रचनात्मक सक्रियता र पहलकदमीले नवीनतालाई दिगो तुल्याउँछ । यसपटक अन्तर्राष्ट्रिय युवा दिवश मनाइरहँदा नवप्रवर्तनतर्फ युवालाई अगाडि बढाउन संखघोष गर्नु भनेको पृथ्वीको वातावरणीय स्वास्थ्यलाई दिगो राख्दै खाद्य प्रणालीलाई सुदृढ तुल्याउन र सबैलाई अनिकालबाट मुक्त पार्न चालिएको महत्वपूर्ण कदम हो । 

विश्वका कतिपय मुलुकहरूले ठूलो मात्रामा प्रौढ तथा बृद्धको जनसंख्यालाई आत्मसात गर्दै अघि बढिरहेको सन्दर्भमा नेपालले यहाँ रहेको युवाको ठूलो संख्याबाट राष्ट्रहितका लागि लाभ लिन सक्ने अवस्था रहेको छ । हामीलाई सधैँ युवाको यस्तो जनसांख्यिक अवसर प्राप्त भइरहन्छ भन्ने छैन । त्यसैले अहिले आएको मौका छोप्दै आफूलाई सक्रिय तुल्याउन सक्ने, समाजलाई सहि दिशामा परिचालन गर्नसक्ने क्षमता भएको युवा जमातलाई आफ्नै देशको विकास प्रक्रियामा संलग्न गराउन सक्ने वातावरण बनाउनु राज्यको दायित्व हो । तर यहाँ कृषिको आधुनिकीकरण र व्यावसायिकरण हुन नसक्दा, औद्योगीकरणले तीब्रता लिन नपाउँदा, पर्यटन प्रवद्र्धन दिगो नबन्दा रोजगारीको अवसरबाट युवा समुदाय बञ्चित भएको छ ।

लस्वरूप ठूलो संख्यामा युवाले विदेशी भूमिमा जोखिमयुक्त क्षेत्रमा सस्तोमा श्रम बेच्न बाध्य हुनुपरेको छ । विदेशको विप्रेषणबाट प्राप्त रकमद्वारा युवा र सम्बद्ध परिवारले आर्थिक लाभ लिएर गर्जो त टारिरहेको होला तर स्वदेशमा उत्पादन र उत्पादकत्व बढ्न नसक्दा ठूलो व्यापार घाटा मुलुकले व्यहोर्न बाध्य हुनुपरेको छ । आखिर आजको युवा भोलि प्रौढ र बृद्ध हुन्छ नै त्यसबेला राज्य आर्थिकरूपले कमजोर भयो भने बुढेसकालमा मानिसले के नै सुविधा पाउन सक्छ र ? त्यसैले युवामैत्री नीति, कानून तथा कार्यक्रमको कार्यान्वयन आजको आवश्यकता हो । यसका लागि युवालाई सामाजिक तथा राजनीतिक क्षेत्रका नीति निर्माण तहमा जिम्मेवारी दिँदै आफ्नो भविष्य निर्धारणमा सहभागी बनाउनु पर्ने खाँचो रहेको छ । 

युवामा आउने निरासा, पलायनता र निष्क्रियताले सामाजिक आर्थिक विकास मात्र अवरुद्ध हुँदैन बरु युवा समुदायमा विकृति र विसंगति बढ्न भई समाजकोे शान्ति सुव्यवस्था खलबलिएर अराजकता समेत उत्पन्न हुनसक्ने खतरा हुन्छ । युवामा उत्पन्न हुने यस्तो अवस्थाको कुनै समुहले दुरुपयोग गर्नसक्ने संभावना पनि त्यत्तिकै हुन्छ ।

त्यसैले युवामा उद्यमशीलता विकास गरेर आत्मनिर्भर र स्वावलम्बी बनाउन सके उनीहरूलाई सामाजिक आर्थिक समृद्धिको महान अभियानमा केन्द्रित गर्न सकिन्छ, बरालिनबाट जोगाउन सकिन्छ । युवा समुदाय संलग्न हुने क्षेत्र भनेको शिक्षा र खेलकूदमा पनि हो । यी दुबै क्षेत्रमा गुणस्तरीय फड्को मार्नसके मुलुकलाई चाहिने शैक्षिक जनशक्ति उत्पादन हुन्छ भने युवा स्वास्थ्यमा मद्दत पु¥याउँदै खेलकूदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँन पनि सकिन्छ ।  

नेपालको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीतिले नवप्रवर्तनको क्षेत्रमा प्रशस्त लगानी बढाउनु पर्ने दृष्टिकोण अगाडि सारेको छ । अब नवीन चिन्तनलाई विस्तारित, व्यापक र सुदृढ तुल्याउन अनुसन्धानमा जोड दिनुपर्दछ । तर हाम्रो देशमा राज्य, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले अनुसन्धानमा कम्ति मात्रै लगानी गरिरहेकाले नवप्रवर्तनको गति धीमा छ । यस्तो अवस्थाको अन्त्य गर्न नवप्रवर्तनसँग सम्बन्धित यहाँ निर्मित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न अब ढिला गर्नु हुँदैन ।   

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा पृथ्वीको तापक्रम बृद्धिदर १.५ डिग्री सेल्सियस सम्म पुग्ने प्रक्षेपण गरेको छ । यस्तो तापमान वृद्धिसँगै विश्वभर प्राकृतिक विपत्तिका घटनाहरू अझ बढ्ने छन् । यो शताब्दीको अन्त्यसम्ममा समुद्रको जल सतह पनि करिब दुई मिटर बढ्न सक्छ भनिएको छ । जसका कारण समुद्र वरिपरि रहेका वस्तीहरू जोखिममा पर्न सक्छन् । हरित गृह ग्यासको उत्सर्जनमा कटौती गर्न सफल भए तापक्रमलाई स्थिर बनाउन सकिन्छ । कार्बन उत्सर्जनको क्रम घटाएमात्रै तापक्रम वृद्धि हुनबाट केही राहत मिल्नेछ । वास्तवमा मानव जातिले प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन गरेको कारणले नै पृथ्वीको तापक्रम बढ्ने क्रम जारी रहेको हो ।

यस भूमण्डलमा उत्पन्न हुने प्राकृतिक जोखिम कम गर्न वा नियन्त्रण गर्न युवाशक्ति अग्रसर हुनै पर्दछ । युवालाई व्यक्तिगत वा संस्थागत रूपमा त्यस दिशामा परिचालित हुन आव्हान गरेर मात्र हुँदैन बरु त्यसरी सक्रिय हुनका निम्ति थप ठोस नीति, संयन्त्र र कार्यक्रम अगाडि सार्दै जीवन, जैविक विविधता र खाद्य प्रणालीमा रूपान्तरण गर्नुपर्दछ । अबको तीस वर्षमा दुई अरब मानिस धर्तीमा बढ्ने आँकलन गरिएकाले उनीहरूको खाद्य अधिकार सुनिश्चित गर्नका लागि गरिबी निवारणमा जोड दिन, सामाजिक समावेशीता बढाउन, स्वास्थ्य सेवा विस्तार गर्न, जैविक विविधता संरक्षणसहित बीऊ जोगाउन र जलवायु परिवर्तन न्यूनीकरण गर्न सम्पूर्ण राष्ट्रहरूले ठोस पहलकदमी लिनुपर्दछ । विश्वपूँजीवाद प्रवद्र्धित हातहतियारको होडबाजी र भूमण्डलीकरण प्रक्रियालाई त्यागेर पेरिस सम्झौता बमोजिम जलवायु परिवर्तन न्यूनीकरण गर्न अग्रसर हुँदा वातावरणीय न्यायसहित कृषि प्रणाली दिगो भई यस धर्तीका सबै मानिसको खान पाउने अधिकार सुनिश्चित हुनेछ ।  

जलवायु परिवर्तनले विश्व खाद्य प्रणालीलाई प्रतिकूलता थपिरहेकै बेला कोभिड–१९ को वैश्विक महामारीले सार्वजनिक स्वास्थ्यसहित विश्व खाद्य प्रणालीलाई थप क्षति पुर्याइरहेको छ । मानिसमा कोरोना भाइरस सर्ने डरले सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले कृषि उत्पादन, वितरण र उपभोग प्रणालीलाई नै तहसनहस तुल्याएको छ । यसले सीमान्तकृत र पछि पारिएको समुदायलाई अझ बढि प्रभावित तुल्याएको छ । न्यून आय भएका परिवारको जीविकोपार्जनलाई तबाहतबाह पारेको छ । कोभिड सिर्जित समस्याले यस धर्तीमा विद्यमान सामाजिक, आर्थिक, शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निश्चित छ । 

मानिसको जीवनको लागि कृषि कर्म पहिलो शर्त हो किनकी यसबाट नै खाना प्राप्त हुन्छ । खाना नखाई मानिस बाँच्न सक्दैन । खानाले विश्वलाई एक बनाएको छ, मानिसलाई शक्ति दिएको छ र अगाडि बढ्न सक्ने बनाएको छ । त्यसैले जलवायु परिवर्तनले खाद्य प्रणालीमा थोपरेको संकट समाधान गर्न विश्व एक भएर लाग्नु पर्दछ । प्रदूषित वातावरण सिर्जित मानव र भूमण्डलीय स्वास्थ्य समाधान गर्न अग्रसर हुनु पर्दछ । जलयायु संकटले पौष्टिक आहार खान पाउने मानिसको मौलिक अधिकार हनन् गरेको छ भने धर्तीको स्वास्थ्यलाई पनि बिगारेको छ । भूमण्डलीय स्वास्थ्यलाई चुस्त राख्न मद्दत पु¥याउने वन जङ्गलसहित जैविक विविधता, हिमाल, नदी र समुद्रको संरक्षण गर्नु पर्दछ । धर्तीको स्वास्थ्य ठिक भएन भने मानिसको स्वास्थ्य, उर्वर जमिनको अवस्था र जैविक विविधतामा नै संकट उत्पन्न हुने भएकाले समुदायमा आधारित जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न युवाशक्तिलाई परिचालित गर्नुपर्दछ ।  

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ११ : ५१ बजे