‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

महाधिवेशनबारे छलफल गर्न काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै 

काठमाडौँ ।  सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ  । बिहीबार बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल प्रारम्भ गरेको थियो । 

आज बिहान ११ः०० बजेलाई बैठक पुनः बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक १४औँ महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। 

बिहीबारको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो । 

बैठकमा समितिका अन्य सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकी सहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ । 

काँग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्य तालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

बिहीबारको बैठकमा  सह महामन्त्री डा.प्रकाश शरण महत, केन्द्रीय सदस्य लेखक, ढुङ्गाना, परियार, पौडेल, गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी र कर्णबहादुर बुढा र चौधरीले आ–आफ्नो धारणा राख्नुभएको थियो । 
 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ९ : २१ बजे