‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

घरघरमा नागको पूजा आराधना गरी नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व घरको मूल ढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्बिर टाँसेर मनाइँदै छ । 

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व  घरका मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ  ।

नागपुजाको प्रचलन वैदिककादेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आज बिहानैदेखि काठमाडौँको नाग पोखरी र टौदह, भक्तपुरको सिद्ध पोखरीलगायत देशभरका नाग दह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लाग्दछ ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ४१ बजे