‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी । मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । 

सर्प (नाग) प्रजातिका जीवको पूजा आराधना गरिने यो पर्व हिन्दु मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । 

साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाउँछन् ।  

साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा चलेको मैथिल पुरोहित बताउँछन् । घरको भित्तामा गाईको गोबरले नाग चित्र कोरेर पूजा गरिएपछि वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको बर्दिबास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ ।

पर्वमा घरका चारै सुरका भित्तामा नाग चित्र कोरिनुका साथै मुख्यद्वारमा कागजमा कोरिएको ९बनाइएको० चित्र पनि टाँसिन्छ । 

घर आँगनको मध्य भागमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा घरकी मुख्य गृहिणीले दूध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नाग देवतासँग पुकारा गर्छिन् ।

मिथिलामा ‘लगपाँच’ पर्व हिन्दु परम्पराका पर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । ‘लगपाँच’ लगत्तै राखी (रक्षा बन्धन), त्यसलगत्तै कुशे अमावश्या, चौरचन, इन्द्रजात्रा, पितृ पक्ष, दसैँ, दिवाली ९दीपावली, तिहार० र छठ लगालगी आउने हुँदा यो पर्वलाई पूर्व सूचना मान्ने गरिएको पाका मैथिल बताउँछन् ।

हिन्दु परम्परा सबै जीवप्रति समभाव राख्ने र प्रकृति पूजक भएको हुँदा सर्पादिको बढी चहलपहल हुने साउनमा नाग पूजाको परम्परा बसेको कर्मकाण्डी पुरोहित ब्राह्मण झा बताउनुहुन्छ । हिन्दु मैथिल परम्परामा विभिन्न जीव र वनस्पतिको पूजा आराधना तिनको महत्त्व झल्कने समय (ऋतु, महिना) अनुसार गरिने चलन रहेको झाको भनाइ छ ।रासस 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : १९ बजे