दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्राविधिक र कर्मचारी नहुँदा विद्युत् विस्तारको काम सुस्त

जाजरकोट – विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न  नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या  घटेर १३  पुगेको छ ।

 कूल ३० जनाको दरबन्दी भए पनि हाल १३ जना कर्मचारी कार्यरत छन् । तीमध्ये पाँच करार, पाँच ज्यालादारी, तीन स्थायी कर्मचारी कार्यरत रहेको जाजरकोट शाखा प्रमुख विशाल लामिछानेले बताउनुभयो । 

हाल सदरमुकाममा मात्र कार्यालय रहेकाले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्तालाई सदरमुकामसम्म आएर शुल्क बुझाउन समस्या भएको छ । रु १०० सय  शुल्क तिर्नका लागि एक हजार खर्च गर्नुपर्ने बाध्यता छ ।  अहिले छेडागाड नगरपालिकाको मोर्क, नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा खोल्ने तयारी भए पनि कर्मचारी नहुँदा समस्या हुँदै आएको छ । लाइन विस्तारको काम तीव्र भए पनि कर्मचारी अभावले गर्दा काम गर्न समस्या हुँदै आएको छ । 

 जाजरकोट, सुर्खेतको आधा भाग, सल्यानको आधा भागसमेत यहाँको विद्युत् प्राधिकरण कार्यालयले नै मर्मत तथा लाइन विस्तारको काम गर्नुपरे पनि सवारीसाधनको नाममा एकथान मोटरसाइकल तथा एकथान थोत्रो गाडी रहेको र स्थलगत कामका लागि पनि व्यक्तिगत सवारीसाधन प्रयोग गरेर खटिनुपरेको कार्यालयका कर्मचारीको गुनासो छ प्रदेशबाट गरिएका ठेक्कामा चरम लापर्बाही भएका कारण काममा ढिलासुस्ती हुँदै आएको छ । पहुँचको भरमा ठेक्का लिने तर बीचमै छोड्दा तोकिएको समयमा काम हुन नसकेको उपभोक्ताको भनाइ छ ।

रासस

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १ : ५० बजे