साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

रूपमा क्रान्तिकारी अनि सारमा आज्ञाकारी नेतृत्वबाट देश कतिञ्जेल पीडित भइरहने ? 

नेपालमा नियन्त्रित अस्थिरता पुनःस्थापित गर्न प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने एक वर्षदेखिको प्रयास सफल भएपछि कम्फर्टेबलवादीहरू अर्थात मापशे मोर्चा अब वामपन्थी आन्दोलन खतम बनाउन र कम्फर्टेबल सरकारलाई टिकाउन सके नेकपा एमालेबाट केपी ओलीलाई हटाउने नसके एमाले चोईट्याउने रणनीतिबमोजिम माधव नेपालसँग प्रचण्डको नियमित भेटघाट र सम्वाद भइरहेको छ। मन्त्रिमण्डलले पूर्णता नपाउनुको मुख्य कारण माधव नेपाल पक्षलाई पनि सरकारमा गराउने योजनाले गर्दा नै हो। त्यसैले माधव नेपालको सुविधाका लागि दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने गृहकार्य पनि भइरहेको छ। तर त्यो अध्यादेशले कतै भोलि सत्ता घटक दलहरूमा नै विभाजन ल्याउने कारण त बन्ने होइन भन्ने त्रासले मापशे मोर्चा अलमलिएको अवस्था छ।

परमादेशबाट सरकारमात्र परिवर्तन गर्न खोजिएको थिएन। नेपालमा वामपन्थीहरूको बढ्दो जनमतलाई खण्डित गर्दै बुर्जुवाहरूको राजनीति बलियो बनाउनु थियो। फेरि वामपन्थी राजनीति कमजोर बनाउन केपी ओलीलाई राज्य सत्ताबाट हटाएरमात्र पुग्दैन्, पार्टी सत्ताको मुख्य नेतृत्वबाट पनि हटाउनु पर्छभन्ने निष्कर्षका साथ २८ कार्तिक २०७७ मा माझण्ड एण्ड कम्पनीले केपी ओलीका विरूद्ध माधव नेपालको मार्गचित्रमा प्रचण्डले १९ पृष्ठ लामो आरोपपत्र तत्कालिन नेकपाको सचिवालय बैठकमा पेस गरेका थिए। त्यो आरोपपत्रलाई असफल बनाउन खोज्दा नचाँहदा नचाँहदै पनि पुष ५, २०७७ मा संसद विघटनजस्तो अप्रिय निर्णय लिन केपी ओली बाध्य भएका थिएभन्ने कुरा आज आएर राजनीतिक रूपमा पुष्टी भएको छ। माधव नेपालको एउटा मात्रै लक्ष्य जे-जसरी भएतापनि केपी ओली सत्ताबाट हटाउने प्रयास त सफल भयो। तर पार्टीबाट पनि हटाउने माधव नेपालको ईच्छा पूरा नभएपछि विभाजन नै नभएको पार्टीमा एकताको तर्क गरेर नेता तथा कार्यकर्ताहरू मात्र होइन, जनमन पनि भ्रमित बनाउन बुर्जुवा मिडियाहरू प्रयोग भइरहेका छन्।

अहिले केपी ओली विरोधीहरू नेकपा एमालेबाट ओलीलाई अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई स्थापित गर्न उपाय खोजिरहेका छन्। यसका लागि मौका कुरिरहेका छन्। मापशे मोर्चाले माधव नेपाललाई जसरी सजिलो हुन्छ, त्यसरी नै दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन गृहकार्य पनि गरिरहेका छ। किनभने यदि नेकपा एमालेभित्र विधि र व्यवहारमा एकढिक्का हुने स्थिति भयोभने देउवाको नेतृत्वमा रहेको कम्फर्टेबल सरकार टिकाउन कठिन हुनेछ। त्यसैले प्रचण्ड निरन्तर माधव नेपाललाई साहसिक निर्णय लिन उक्साइ रहेका छन्।

न्यायलयको बहुदलभित्र निर्दल स्थापित गर्न खोज्ने परमादेश, माझण्डहरूको वामपन्थी विरूद्ध दक्षिणपन्थी शक्ति नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्यादेश अनि नेकपा एमालेमा औपचारिक विभाजन ल्याउन माधव नेपाललाई दक्षिणको आदेशको मुख्य लक्ष्य नेपाललाई कमजोर र अस्थिर बनाउने नै हो। तर यति सामान्य सत्य पनि नबुझेर एमालेजनहरू पक्षविपक्षमा बाँडिएका छन्। यसले राजतन्त्रवादीहरूलाई उत्साहित मात्र बनाएको छैन्, उनीहरू गणतन्त्रका विपक्षमा माहोल बनाउने प्रयास पनि गरिरहेका छन्। विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रदेखि लिएर पत्रकार युवराज घिमिरेहरू राजतन्त्रको पक्षमा पैरवी गर्न रमाइरहेका छन्। यो स्थिति ल्याउनमा उपयोगितावाद ृप्रचण्डे र कुण्ठा माधव नेपाले हरूको विशेष भूमिका रहेको समयक्रमले पुष्टी गर्दैछ।

आफ्नो सत्ता टिकाउन जे-जस्तो हर्कत गर्न पनि तयार हुने शेरबहादुर देउवा, गतिशिलताको आवरणमा अस्थिरतामा रमाउने प्रचण्ड अनि विधि पद्धतिको नकाब लगाएर कुण्ठाग्रस्त मनोविज्ञानले निर्देशित माधव नेपाल बीचको सहकार्यले नेपालमा बाह्य हस्तक्षेप बढ्न थालेको छ। यी सबै अराजनीतिक गतिविधिहरूलाई उनीहरूले लोकतन्त्र र अग्रगमनको संज्ञा दिएका छन्। जबकी त्यो वास्तवमा प्रतिगमनको सुरूवात थियो। तर यो प्रतिगमनलाई अगाडि बढाउन नेकाभन्दा वामपन्थी पृष्ठभूमि भएका दक्षिणपन्थी माझण्डहरूको भूमिका विशेष देखिन्छ। त्यसैले ठोकुवाका साथ भन्न सकिन्छ, माझण्डहरू नेपालको वामपन्थी आन्दोलन तहसनहस बनाउन बुर्जुवाहरूको स्वार्थमा काम गरिरहेका छन्।

देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएका माधव नेपाल पक्षका सांसदहरू यतिखेर पार्टीमा विभाजन नहुँदा आफ्नो भूमिका कमजोर हुने भएपछि प्रम देउवालाई भेटेर मन्त्री बनाउन हारगुहार मात्र गरिरहेका छैनन्, एमाले विभाजन गर्न माधव नेपाललाई दबाव पनि दिइरहेका छन्। माधव नेपाल स्वयं पनि नेकपा एमालेमा विभाजन ल्याउन प्रचण्डको  सहयोग र देउवाको आशिर्वादमा आफ्नो सक्रियता बढाइरहेका छन्। तर केपी ओलीलाई बदनाम गराएर अझ कमजोर बनाउँछु भन्दा-भन्दै माधव नेपाल आफै बदानाम र कमजोर भइरहेका छन्। त्यतिखेर माधव नेपालले लोभिपापीहरूलाई मन्त्री बनाइ दिने लोभ देखाएर पार्टीको निर्देशनको अवज्ञा गरेर देउवालाई विश्वासको मत दिइएका रहेछनभन्ने कुरा यतिखेर आएर प्रमाणित भएको छ।

मापसे मोर्चाले जुन तरिकाबाट केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए, त्यसले तत्काल केपी ओली अर्थात नेकपा एमाले कमजोर देखिएतापनि भोलि झन बलियो हुने आधार तयार गरिदिएको छ। मापशे मोर्चा बिस्तारै लक्ष्यविहिन बन्दैछ। अब त्यो अवसरलाई नेकपा एमालेको संस्थापन पक्षले ठीक ढंगले चिनेर उपयोग पनि गर्न सक्नुपर्छ। केपी ओलीलाई जुन आरोप लगाएर माझण्डहरूले देउवालाई बोकेका थिए, त्यो आरोप घटनाक्रमले आफै खण्डित भइसकेको छ। तथापि यसका बारेमा जनमनमा अझै भ्रम बाँकी नै छ। त्यसैले जनमनमा रहेको भ्रमहरू हटाउँदै जनमुखी र देशमुखी क्रियकलापहरूमा केन्द्रीत हुन सके नेकपा एमाले नेपालको राजनीतिमा अझै निर्णायक भएर केपी ओली केन्द्रमा पुग्नेछन्।

माधव नेपाल समुह नेकपा एमालेबाट अलग हुन मात्रै बाँकी छ। त्यसका लागि वैधानिक बाटोको प्रतिक्षामा छन् किनभने उनीहरू आफ्नो सांसद पद गुमाउन चाहँदैनन् तर विद्रोहको धम्की दिइरहन्छन्। १० बुँदे सहमतिको जगमा एक भएर अघि बढ्न माधव नेपाल नमान्नुका पछाडि विग्रह कै लागि हो। फेरि एमाले विरोधीहरू कतिखेर एमाले फुट्ला भनेर साइत हेरेर बसेका मात्र छैनन् त्यहीबमोजिम क्रियाशील भइरहेका छन्। तर मापशे मोर्चाको अपेक्षाबमोजिम माधव नेपालले साहसिक निर्णय नगर्दा उनीहरू आत्तिएका कारणले हतपतमा भूमि सम्बन्धि समस्या समाधान आयोग नै खारेज गर्ने अपरिपक्व निर्णय गर्न पुग्यो। हुन त त्यो निर्णय मापशे मोर्चाको वर्गीय चरित्रबमोजिम नै थियो।

सामाजिक सञ्जालमा घनश्याम कोइराला लेख्छन्, “जो सम्भव छ, त्यो प्राप्ति वा परिवर्तनको प्रयत्न नगर्नु कायरता हो। जे परिवर्तन गर्न सर्वथा असम्भव छ, त्यसलाई स्वीकार नगर्नु मूर्खता हो।” अहिले त्यो कायरता र मूर्खता माधव नेपालमा देखिएको छ। त्यसैले मापशे मोर्चा कुनैपनि बेला दुर्घटनामा पर्न सक्ने प्रबल सम्भावना छ। तर प्रधानमन्त्री शेरबहादुर देउवा मोर्चा दुर्घटनामा परेतापनि आफूलाई राजनीतिक लाभ प्राप्त भइसकेको निष्कर्षका साथ पार्टी र सरकारमा आफ्नो प्रभाव बढाउँदैछन्। जुन कुरो माझण्डहरूले ख्याल गरिरहेका छैनन् किनभने उनीहरूको ध्यान केपी ओलीलाई कमजोर बनाउनमा मात्र केन्द्रीत भएको छ। केपी ओलीलाई बदनाम र कमजोर बनाउन खोज्दा आफै राजनीतिक रूपमा बदनाम र कमजोर भइरहेको तथ्यप्रति उनीहरू सजग देखिदैनन्।

नेपालमा संवैधानिक तथा राजनैतिक स्थायित्वका विरूद्धमा दक्षिणले कमजोरहरूको मोर्चा बनाएर बलियालाई  सत्ताबाट विस्थापन गर्ने विभाजन र शासन नीति २००७ सालदेखि आजपर्यन्त लागु गरिरहेको छ। आज मापशे मोर्चाले तिनै कमजोरहरूको प्रतिनिधित्व गर्दै दक्षिणको निर्देशनमा नेकपा एमालेलाई सत्ताको नेतृत्वबाट हटाउन सफल भएको छ। यो सफताको पछाडि न्यायिक ‘कु’ अर्थात अदालतको परमादे्श मुख्य आधार बनेको छ। 

२०७४ को आमनिर्वाचनपछि देशमा एक किसिमको आसाको सञ्चार भएको थियो। तर त्यो आसालाई पनि निरासामा बदल्न बाह्य स्वार्थमा वामपन्थी प्रधानमन्त्री हटाएर माझण्डहरूले दक्षिणपन्थी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर पूरा गरिदिए। अदालतको परमादेश आउन पनि माझण्डहरू कै मुख्य भूमिका थियो। यस्तो अराजनीतिक गतिविधिले एकातिर देशमा अस्थिरतामात्र बढाएको छैन्, बाह्य हस्तक्षेप बढाउने आधार पनि तयार गरेको छभने अर्कोतिर वर्तमान व्यवस्था विरोधीहरूको मनोबल पनि बढाएको छ।

नेपाली काङ्ग्रेसको मुख्य नेतृत्वलाई थाहा छ, नेकपा एमालेमा औपचारिक विभाजन नल्याइकन अब हुने चुनावहरूमा जित्न सकिदैन्। अहिले नेकपा एमालेमा विधिवत विभाजन ल्याउन सकियोभने २०५६ मा झैं एकल बहुमत ल्याउन सकिन्छ भन्ने विश्लेषणका साथ भोलिको उपलब्धिका लागि आज माधव नेपालको जयजयकार गर्दैछन्। तर माधव नेपालभने यसबाट आफ्नो प्रतिष्ठा र सम्मान बढेको भनेर मक्ख परेका छन्। यो खालको भ्रममा रमाउने नेताका पछि लागेर सम्भावना बोकेका पछिल्लो पुस्ताका नेताहरूले आफ्नो राजनीतिक भविष्य सङ्कटमा पार्दैछन्। उता प्रचण्ड भने देउवा र माधवलाई प्रयोग गरेर आफ्नो डुब्दो राजनीतिक डुङ्गा जोगाउन खोज्दैछन्।

शेरबहादुर देउावालाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नु र विश्वासको मत दिनुलाई महान उपलब्धि ठानेर माझण्डहरू रमाएका छन्। के त्यो महान उपलब्धि हो ररु अनि विभाजन नै नभएको पार्टीमा एकताको कुरो कहाँबाट आयोरु वैचारिक र व्यवहारिक रूपमा पार्टीको मुख्य प्रतिस्पर्धी दल नेपाली काङ्ग्रेसलाई सत्ता सुम्पिएर कुन मुख लिएर एमाले हौं, माओवादी हौं र जनमोर्चा हौं भन्दैछन्रु माधव नेपाल एमालेका लागि गद्दार नै हुन् अनि दक्षिणपन्थीका मतियार। त्यस्तै प्रचण्ड पनि वामपन्थी आन्दोलनका लागि लाल गद्दार नै हुन्। यति भन्न डराउनु पर्ने आवश्यकता छैन्।

२०७३ सालमा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माधव नेपालले प्रचण्डलाई उचालेभने अहिले फेरि तिनै माधव नेपालले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डको ईच्छा र आफ्नो मार्गचित्रबमोजिम बेईमानपूर्ण अराजनैतिक क्रियाकलापहरू गरेर नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए। घटना, पात्र र प्रवृत्ति उस्तै र उही तरपनि त्यसलाई बिर्सिएर वामपन्थी जनमतलाई विभाजित हुन नदिन बैगुनीहरूलाई माफी र सम्मान दिनुपर्ने बाध्यता छ। माझण्डहरूको त्यो गल्ति थिएन, अपराध थियो। त्यो अपराध गरेवापत दण्डित गर्ने काम जनअदालतको हो। त्यसैले अहिलेलाई दिइने माफी अन्तरिम हो।

ज-जसले राजनीतिक गद्दारी गरेर सरकारबाट केपी ओलीलाई हटाउन एक वर्षदेखि प्रयास गरिरहे तिनैले संसदमा केपी ओलीलाई वैशाख २७ गते विश्वासको मत दिएनन्। तिनकै कारणले अहिले शेरबहादुर देउवा प्रम बन्न पाएका छन्। तर ति पात्रहरूले आफ्नो गद्दारीको ढाकछोप गर्न संविधान र लोकतन्त्रको बर्को ओढेर जनमन भ्रमित पार्न खोज्दैछन्। तिनले छर्न खोजेको भ्रमलाई बुर्जुवा मिडियाले बजारीकरण गरेर सहयोग गरिरहेका छन्। पार्टीका लागि गद्दार र दक्षिणपन्थीका मतियारहरूबाट नेपालको प्रगतिशील लोकतान्त्रिक आन्दोलन अर्थात ३जबज लाई जोगाउने होभने वैचारिक र व्यावहारिक रूपमा एमालेको संस्थापन पक्ष पनि स्पष्ट र इमानदार हुनैपर्छ। अन्यथा नेपालको प्रगतिशील लोकतान्त्रिक आन्दोलन अनि राष्ट्रिय स्वाभिमान र सम्वृद्धिको अभियान झन कमजोर हुनेछ।

अहिले राजनीतिमा माधव नेपाललाई निष्ठावान, आदर्शवान र बचनको पक्का नेता भएको न्यारेटिभ बनाउन खोजिदैछ जबकी व्यवहारले त्यसको खण्डन गरिरहेको छ। तरपनि बुर्जुवा मिडिया र पात्रहरूले जय माधव नेपाल भन्दैछन् र वामपन्थी राजनीति कमजोर बनाउने सपना देख्दैछन्। तर ति बुर्जुवाहरुको सपना पूरा हुनेवाला छैन्। किनभने आजको जनचेतनाले खराब र असल छुट्ट्याउने सामर्थ्य राख्छ। प्रा. डा.सुरेन्द्र केसी भन्छन्, “पद, प्रतिष्ठा र स्वार्थको द्वन्द्वले सिर्जना गरेको राजनीतिको परिणामले केपी ओली सत्ताबाट बाहिरिनु पर्योभने देउवा सरकार माधव नेपालको मार्गचित्र र प्रचण्डको टेकोमा बन्यो।” 

नेपालको वामपन्थी राजनीतिमा माधव नेपाल प्रवृत्तिले एकातिर नेपाली काङ्ग्रेसलाई सत्ता सुम्पने काम भयोभने अर्कोतिर वामपन्थी जनमतलाई २०५६ सालमा झैँ विभाजित गरेर नेकालाई नै बलियो बनाउने लक्ष्य लिएको छ। त्यसैले माधव नेपाल वामपन्थी राजनीति तहसनहस बनाउन प्रयोग गरिएका पात्र मात्र रहेछन् भनेर अहिले पुष्टी हुँदैछ। तर उनै माधव नेपाल अझै पनि आफूलाई सच्चा कम्न्युनिष्ट भनेर कार्यकर्ताहरूलाई भ्रममा पार्न खोज्दैछन्। यो खालको बेइमानी गर्नेलाई गद्दार नै भन्नुपर्छ। तर अझैपनि माधव नेपालहरू आफूलाई सच्चा कम्न्युनिष्ट भन्दैछन् र प्रगतिशील लोकतान्त्रिक आन्दोलनसँगै राष्ट्रिय स्वाभिमान र सम्वृद्धिको अभियानलाई पनि कमजोर बनाउँदैछन्।

“यो सरकार लेखोटमा क्रान्तिकारी तर व्यवहारमा दक्षिणको आज्ञाकारी भएको देखिन्छ। किन?” पत्रकार प्रकास गिरीे जनता झुक्याउन क्रान्तिकारी देखिने मालिक खुसी बनाउन आज्ञाकारी हुने मापशे मोर्चाले बनाएको देउवा सरकारले देशलाई अझ समस्यामा पार्नेछ। परमादेशको साईडईफेक्ट जयसिंह धामीको मृत्यु प्रकरणमा सरकार मौन बसेर भारतसँग के भएको थियोभनेर प्रश्न पनि गर्न सकेन। त्यसैले यो खालको नेतृत्व र सरकारबाट देश  र जनता पीडित हुन जोगाउन फेरि एकपटक जबजवादीहरू जुरमुराउने बेला भएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ११ : ५१ बजे