बालश्रम गराउनु हुदैन भन्ने थेगो निकै प्रचलित छ । बालश्रम भनेको के हो भन्दा १४ वर्षभन्दा मुनीका बालबालिकालाई काममा लगाउन पाइदैन भन्ने बुझेको छु । अझ १८ वर्ष नपुगिकन जोखिमयुक्त काममा लगाउन नहुने भन्ने हो । यदि परिभाषा यति नै हो भने यो पुर्ण भएन भन्ने लाग्छ ।
मेरो बुझाई र विचारमा बालश्रम त्यसलाई भनिन्छ जुनकाम गर्दा बालबालिकाहरुको सिकाईमा बाधा पर्छ, शारिरिक र वौद्धिक विकासमा बाधा पर्छ त्यस्तो बाधा पर्ने गरि काममा लगाउनु बालश्रम हो तर जुन श्रम वा प्रयोगबाट उनीहरुले सिक्छन्, अनुभव गर्छन् र यही कारण उनीहरुको ज्ञान बढछ, जीवन उपयोगि शिक्षा र शिकाई प्राप्त गर्छन् भने यसलाई बालश्रम भन्न मिल्दैन ।
मानिसको उमेरमा बाल, किशोर, युवा र प्रौड गरि चार अवस्थाको परिभाषा सुनिन्छ । सायद १४ वर्षसम्मको अवस्थालाई बालबालिका नै भएिको हुनुपर्छ । बालबालिका एकदमै जिज्ञासु स्वभावका हुन्छन् । उनीहरुका लागि हरेक कुरा नयाँ हुन्छ । सिक्न चाहन्छन्, हामी सानै छस्, सक्दैनस्, गर्नु पर्दैन, किन चाहियो, नसक्ने काम, नचाहिने चासो आदि भनेर पन्छाउछौं, रोक्छौं । यसको के प्रभाव पर्छ भनेर खासै ध्यान दिदैनौं ।
हामी नानीहरुलाई तिनवर्ष पुग्दानपुग्दै स्कुल पठाउन हतार गर्छौं । स्कुलमा उसले खेल्दै सिक्छ भन्ने मान्न तयार छैनौं त्यसैले उसले एबिसिडि र कखगघ लेखेको, पढेर सुनाएको मन पराउछौं । घरमा आज के पढिस् भन्छौं तर के सिकिस् भन्दैनौं । हामी अभिभावकलाई सिकाई होइन पढाई चाहिएको छ । त्यसैले हाम्रो चाहना अनुसार स्कुलमा नानीहरुलाई पढाइन्छ तर सिकाइदैन । यस्तो लाग्छ हामीले नानीहरुलाई स्कुलमा मात्र पढन पठाएको हो, सिक्न, खेल्न, साथि बनाउन, व्यवहार जान्न, राम्रो बोल्न पठाएकै होइनौं । पढेको र पढाएको कुरा जाँचमा सोध्ने त्यसैका आधारमा मुल्याङ्कन गर्ने चलन छ । हामी अभिभावक रिजल्टमा पाएको नम्बर हेरेर मख्ख पर्छौं । तर मेरो नानीले एक वर्षमा के सिक्यो भन्ने सायदै ध्यान दिन्छौं ।
जीवनमा पढाईको जति महत्व छ त्योभन्दा धेरै महत्व सिकाईको छ भन्ने मेरो बुझाई हो । सिक्ने थलो स्कुल पनि हो तर स्कुल मात्रै होइन । बालबालिकाको सिकाईको पहिलो पाठशाला घर हो र पहिलो गुरु आमाबाबु हुन् । घरको काम, बोली, व्यवहार, चलन, आचरण, परिवारको पेशा, परिवारका सदस्यले गरेको व्यवहार बोली आदिबाट बालबालिकाले सिकिरहेका हुन्छन् ।
बालबालिकाहरु खेलमा मनोरञ्जन गर्छन्, साथि बनाउछन् र सिक्छन् । खेलबाट शारिरिक अभ्यास पनि भइरहेको हुन्छ । घरका साना मसिना लाग्ने कामबाट बालबालिकाको सिकाई र शारिरिक अभ्यास भइरहेको हुन्छ । जस्तै कोठाको सजावट, सरसफाई, चित्र बनाउने, कपडा धुने, घर सफा गर्ने, भाँडा माझ्ने, भाँडा धुने, खाना बनाउने, तरकारीका श्रोतहरु चिन्हे, पकाउन योग्य बनाउने (तरकारी केलाउने, सुधार गर्ने), पकाउने, घरमा भएका समानको सही स्थानमा राख्ने, थन्क्याउने, घर पालुवा पशुको हेरचाह गर्ने, उनीहरुको आवश्यकता बुझ्ने, पशुबाट हुने फाइदा थाहा पाउने, बोट बिरुवाको महत्व जान्ने, परिवारको सम्वन्ध बुझ्ने, एकअर्कालाई आदर सम्मान गर्ने, माया गर्ने, आदरार्थि शव्दको प्रयोग गर्ने, घरको आम्दानीको श्रोतका बारेमा जानकारी लिनेदिने, खर्च के केमा हुन्छ, कसरी हुन्छ थाहा पाउने, सदुपयोग, फारु र जतन गर्नुको महत्व बुझ्ने, जोहो–जगेडा गर्ने कला सिक्ने र महत्व थाहा पाउने, सरसफाईको महत्व सिक्ने, सफा बस्तुको प्रयोग गर्ने, प्रयोग गरिने सबै बस्तु अर्थात मालसमान सफा गर्ने, सही स्थानमा राख्ने, कोठा सजाउने, भान्सा, शौचालय, घरकोठा, आँगन आदिको सफाई, सफा बानी, सफा व्यवहार, सन्तुलित आहार आदिआदि ।
आफ्नो कोठा आपैm मिलाउने, सफा गर्ने, सजाउने, आफ्ना कपडा आपैm धुने, सुकाउने, पट्याउने, जतनसँग राख्ने, आफ्नो दैनिक प्रयोगका समानहरु लाउने कपडा, जुत्तामोजा, स्कुल व्याग, किताव, कलम, कापी आदि इत्यादिलाई आपैm उचित स्थानमा व्यवस्था गर्नु आदि काम बाल श्रम हो कि सिकाई ?
सदुपयोगको तरिका, फारु, जतन, पुनः प्रयोग गर्न सकिने, कम खर्च गरेर बढी उपलव्धि लिन सकिने यस्ता साना मसिना लाग्ने कुरा बालबालिकालाई घरमा नै सिकाउनु पर्छ । पानीको महत्व कसले कहाँ सिकाउने, बिजुलीको प्रयोग गर्दा आवश्यक जतिमात्रै गर्दा पैसा बचाउन सकिन्छ भनेर कसले कहिले भन्ने ? यो नभनिएकै कारण खाली कोठामा बत्ति बलिरहेको, पंखा घुमिरहेको, एसी चलिरहेको, टिभि चलिरहेको हुन्छ । पानी उमाल्न प्रयोग भएको भान्साको ग्यास पानी उम्लेर आधा हुँदासम्म निभाउने गरिदैन भने बुझ्नुपर्छ त्यहाँ फारु, जतन, सदुपयोग भन्ने ज्ञान र व्यवहारको नितान्त अभाव छ । अरुलाई देखाउन मात्रै सफा गर्नेहरु आन्तरिक सफाईमा निकै कमजोर हुन्छन् । यस्तो सोच र स्वभाव भएका मानिसको घरमा नियमित सरसफाईको चलन हुदैन, फोहरले राज गर्छ । हानीकारण व्याक्टेरिया जताततै हुन्छन् । यही अवस्था घरमा सधै देख्ने बालबालिकाले यसलाई सामान्य मान्ने गर्दछन् । यस्तै सिक्छन् । घरबाटै सिक्ने यस्ता तमाम काममा बालबालिकाको बानी बसाउन र अभ्यस्त गराउन काममा लगाउनै पर्छ, काम सिकाउनै पर्छ । यस्ता काम घरबाटै सिक्ने हो । घरमा गरिने यस्ता तमाम कामहरु बालश्रम अन्तर्गत पर्छन् कि पर्दैनन् ?
बालबालिकाले गरेर सिक्ने हुन्, देखेर र सुनेर सिक्ने हुन् । परिवारले गरेको व्यवसायमा फुर्सदको समयमा उनीहरुले सकेको सघाउदा बालश्रम हुन्छ कि हुदैन ? मेरा चिरपरिचित दुईजना मित्र केशवराज पाण्डे र बिजय डालमिया दुबैजनाका छोरा भारतको कुनै नाम चलेको स्कुलमा पढछन् । छुट्टीमा घर आएको समयमा बिहानदेखि बेलुकासम्म नै बिजय डालमियाले गरेको व्यवसायमा उनका छोराले सघाएको देखेको छु । यो बालश्रम हो कि सिकाई ? अर्का एक मित्र मसँग एकदिन सुनाउदै थिए उनको छोरो स्कुलबाट घर आउँदा घरको गेटैबाट झोला फाल्दिने, लुगा, जुत्ता, मोजा खोलेर फाल्निे गर्छ । सधै यसै गर्छ कसरी सिकाउने, कसरी सम्झाउने भनेर उपाय खोज्दै थिए । अलि बढी नै पुल्पिुलिएकाहरुले यस्तो गरेको पनि देखिन्छ । यस्तो स्वभाव परिवर्तन गरेर आफ्नो काम आपैm गर्नु पर्छ, अझ घरको काममा पनि सघाउनु पर्छ भनेर बानि पार्ने, सिकाउने गर्नु अनिवार्य छ जस्तो लाग्छ । यसका लागि बल प्रयोग गर्नु बेठिक हुन्छ तर सम्झाएर, फकाएर, पुरस्कृत गरेर काम सिकाउने र गराउने गर्नु उपयुक्त हुन्छ । यो बालश्रम हुन्छ कि हिुदैन ?
आफ्ना नानीबाबुहरुलाई हामी सबैजना अति नै माया गर्छौं यसमा कतै दुईमत छैन । तर माया देखाउन उसले उमेर अनुसार गर्न सक्ने र सिकाउनै पर्ने काम नसिकाउने, गर्न नदिने गर्दा राम्रो हुन्छ र ? जस्तै स्कुल नजिकै छ नानीबाबुलाई स्कुल पु¥याउन जादा व्याग पनि आपैm बोकिदिने धेरै अभिभावक छन् । हिँडेर १० मिनेटमा पुगिने स्कुलमा सधै मोटरसाइकलमा हालेर पुर्याउने गरिन्छ । स्कुल नजिकै छ नानिबाबुलाई तिमी अब ठुलो भयौ साथिहरुसँगै घर आउ किन नभन्ने ? यसले उनीहरुमा क्षमताको विकास हुन्छ । यो आत्मविश्वास (म स्कुल साथिहरुसँग जान सक्छु, स्कुलबाट घर आउन सक्छु) आवश्यक छ । तर माया धेरै देखाउदा र सधै अशुरक्षाको महशुस गर्दा उनीहरुमा कस्तो प्रभाव पर्ला ?
अहिले पनि धेरै बालबालिका घर परिवारको पेशा व्यवसाय खासगरि कृषिमा संलग्न परिवारका सदस्य जो घरमै बसेर नजिकैको विद्यालयमा पढने गर्छन् तिनले घरका धेरै काममा सघाई रहेका हुन्छन् । यस्तो काम गराईले सिकाई र ज्ञान बढाउछ । शारिरिक श्रम गरेका कारण श्रम प्रतिको सम्मान र शारिरिक व्यायाम भएर शरिर स्वस्थ हुन्छ । तर यो बाल श्रम भित्र पर्छ कि पर्दैन ?
मेरो बुझाईमा बालश्रम त्यो हो जो बाल उमेरमा नै उसले परिवारको आर्थिक जिम्वेवारी लिनु पर्छ, आफ्नै जीवन धान्न एवं परिवारको आवश्यकता पुरा गर्न श्रम गर्न वाध्य हुन्छ, वाध्य पारिन्छ र पढने, लेख्ने, सिक्ने अवसरबाट बञ्चित हुन्छ । त्यस्ता बालबालबालिकाको पहिचान गरेर स्थानिय सरकारले जीवन निर्वाहको विकल्प दिएर पढने, लेख्ने र सिक्ने अवसरका लागि विद्यालय पठाउने वातावरण सिर्जना गर्नुपर्छ ।
तर, विद्यालयमा पढन पठाएको छ, सानै छ, जान्दैन, सक्दैन, गर्दैन, ठुलो भएपछि आपैmगर्छ, आपैm सिकिहाल्छ आदिआदि भनेर बालबालिकालाई उमेर अनुसारको जीवन उपयोगि ज्ञान सिक्नबाट बञ्चित गर्ने हो भने त्यस्ता बालबालिका ठुला भएपछि संकटमा पर्नेछन् । उनीहरुसँग विद्यालयले दिएको सिमित पढाई सिकाईको प्रमाणपत्र त हुन्छ तर जीवन उपयोगी धेरै ज्ञान र शिप हुदैनन् । त्यो प्रमाणपत्रले अलिकति घमण्ड थपिदिन्छ । त्यो घमण्डबाट ओर्लिन उनीहरुलाई व्यवहारीक प्रयोगको आवश्यकता पर्छ । २०,२२,२४ वर्षको उमेरमा जब ती युवा हुन्छन् र व्यवहारिक जीवनमा प्रवेश गर्छन् वास्तवमा उनीहरु निकै आलोकाँचो, अल्पबुद्धि र व्यवहारिक शिक्षामा एकदमै कमजोर अवस्थामा हुन्छन् । आफ्ना दैनिकि कामसम्म गर्ने बानि नपरेकाले अर्काले अह्राएको, लाएको, सिकाएको काम गर्नुपर्ने वाध्यता हुन्छ । उनीहरुलाई नयाँ काम गर्न, काममा टिक्न र कामबाट सफलता पाउन निकै कठिन हुन्छ । कति जनाले त हैरान र हतास भएर छिटोछिटो काम बदल्छन् । जति धेरै नयाँनयाँ काम गर्छन् त्यतिधेरै असफल हुने अवस्था हुन्छ । किनकि कुनै पनि काममा राम्ररी नसिकि, नजानी, धैर्यता पुर्वक परिणामको प्रतिक्षा नगरी राम्रो नतिजा आउदैन ।
मेरो अनुभवमा जसलाई विद्यालयको शिक्षासँगै घर भित्र र परिवारले सञ्चालन गरेको पेशा व्यवसायका बारेमा सानैदेखि रुची जगाउने, संलग्न र सकृय गराउन सकियो उनीहरु चाडै परिपक्क हुन्छन् । अलि साह्रोगाह्रोमा पनि टिक्न सक्छन् । जसलाई पढन मात्रै भनियो तिनको जीवन अलि बढी नै अस्तव्यस्त देखेको छु । जीवन चलाउन नभई नहुने देख्दा सुन्दा साना मसिना लाग्ने कामका बारेमा उनीहरु निकै कमजोर हुन्छन् । आखिर जीवन चलाउन त मानिसलाई विहान उठेदेखि नसुन्जेलसम्मका सानातिना लाग्ने धेरै कर्म(काम)को भुमिका हुन्छ नै । खोई त्यसमा ध्यान पुगेको ?
अझ आयआर्जन गर्न शिपमुलक शिक्षाको झन् ठुलो महत्व छ । धेरै शिपमुलक शिक्षाका लागि शारिरिक श्रमको आवश्यकता पर्छ । सानैदेखि श्रम गर्ने बानि छैन र श्रम प्रति वेवास्ता गर्ने गरेको अवस्थामा त झन् मुस्किल पर्छ । मास्टर्स गरेको प्रमाणपत्र बोकेर हिँडनेहरु धेरै बेरोजगार छन् तर शिपमुलक सिकाई भएका र श्रम गर्न पछि नपर्नेहरु बेरोजगार हुनु परेको छैन ।
बालबालिकाहरुलाई शुरुदेखि नै सकेको काममा लगाउने, कामबाटै सिकाईको विकास गर्ने र पढनेलेख्ने काम सँगसगै गर्ने हो भने जीवन चलाउन चाहिने सम्पुर्ण विकासको बलियो आधार बन्छ तर विद्यालयको पढाईलेखाई र विद्यालयले दिएको प्रमाणपत्रलाई मात्रै सफलताका लागि पुर्ण देख्ने वर्तमान अवस्थाले हाम्रो नयाँ पुस्ताको विकास एक पक्षिय भयो भन्ने मेरो धारणा हो । त्यसैले बालबालिकालाई सानैदेखि व्यवहारिक जीवनका सिकाईमा संलग्न गर्ने शिक्षाको खाँचो छ । विद्यालय मात्रै सिक्ने थलो होइन, घरपरिवार, परिवारले सञ्चालन गरेको व्यवसाय, समाज, प्रकृति, साथि, छिमेकि, बजार, श्रम सबै सिकाईका आधार हुन्, विषय हुन् । तिनलाई उपयोग गरौं ।
प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार १० : ४९ बजे
प्रतिक्रिया