दलित गाउँका पहिलो शिक्षक

एमाले निर्णय : किन हुनुपर्छ निर्वाचित अध्यक्ष शक्तिशाली ?

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी एमालले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाउने निर्णय सोमवार गरयो । स्थायी समिति र त्यस लगतै बसेको केन्द्रिय कमिटीको बैठकले केन्द्रिय अध्यक्ष सिधै निर्वाचित हुने तर अन्य पदाधिकारीहरु निर्वाचित केन्द्रिय समितिले चुन्ने निर्णय लियो । स्थायी समितिले अध्यक्ष र महासचिव महाधिवेशन प्रतिनिधिहरुले निर्वाचित गर्ने सिफारिस गरेकोमा केन्द्रिय समितिले अध्यक्षमा त्यसरी निर्वाचित हुने तर अरु सवै पदाधिकारी निर्वाचित केन्द्रिय कमिटीले नै छान्ने निर्णय लियो । यो निर्णय भदौंको अन्तिम साता हुने पार्टीको विधान अधिवेशनमा प्रस्तुत हुने छ र त्यसबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । 

निर्वाचित केन्द्रिय अध्यक्षलाई शक्तिशाली बनाउने निर्णय उपयुक्त छ । यसले अहिलेसम्म अध्यक्षलाई काम गर्न नदिने, अप्ठयारो पार्ने र त्यसका कारण पार्टी सन्चालनमा प्रभावकारीता नआउने तितो अनुभवलाई चिर्नेछ । केपी शर्मा ओली नवौं महाधिवेशनबाट पार्टीको अध्यक्ष निर्वाचित भएपछि स्वभाविक रुपमा पार्टीका कार्यकर्तापंक्ति र सुवेक्षक समर्थकहरुमा एउटा आशाको सन्चार भएको थियो किनकी ओली प्रष्ट दृष्टिकोण भएको नेता हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा एमाले देशको सवैभन्दा ठुलो राजनीतिक दल भयो र सत्ताको नेतृत्व समेत लियो । तर अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पार्टी सन्चालन र सरकारको सन्चालनका सन्दर्भमा पार्टीभित्रैबाट चरम असहयोग भयो, जसका प्रमाणहरु छताछुल्ल नै छन् । आफनै प्रधानमन्त्रीबिरुद्ध विपक्षीसँग साँठगाँठ गर्न पुग्नुभएका माधव नेपालले वास्तवमै ओलीलाई कहिल्यै पनि अध्यक्ष मान्नुभएन र ओलीबाट आफू पराजित भएकोमा भित्रभित्रै कुण्ठा पालेर बस्नुभयो । एमाले र माओवादी बीच एकता हुँदापनि माधव नेपाल सन्तुष्ट हुनुभएन किनकी पार्टीमा उहाँको हैसियत स्थायी समिति सदस्यका रुपमा मात्रै थियो । 

जब नेकपा बन्यो माधव नेपालले ओली र प्रचण्डबीच दूरी बढाउने र दुबैतर्फ खेल्ने प्रयास गर्नुभयो र अन्तत् एमाले माओवादी आफनो पूर्व अवस्थामै फर्कन परयो । पूर्व अवस्थामा आएको एमाले बीच बलियो एकता प्रदर्शन गर्नुपर्नेमा माधव नेपाल एमाले भाड्न र सके बिभाजन गर्ने प्रयासमा लाग्नुभयो जसका लागि उहाँले शेरवहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवहरुलाई रोज्नुभयो । उनीहरुकै सहयोगमा ओलीलाई कमजोर बनाउने र सकेसम्म एमाले कब्जा गर्ने नसके नयाँ पार्टी गठन गर्ने निर्णयमा पुगेर त्यस अनुसारकै गतिविधि हुँदैआइरहेका छन् । 

नेकपा गठन र विघठनको बीचको करिब साढे ३ बर्षको यो अनुभवले अध्यक्ष शक्तिशाली हुनुपर्छ भन्ने निष्कर्ष पार्टीले निकालेकोे हुनुपर्छ । त्यसमा पनि समकालिन नेताहरुमा केपी ओली देश विकासको प्रष्ट दृष्टिकोण, मार्गचित्र र त्यस अनुसारको कार्यक्रमिक सोच भएको नेता हो । विचार र सिद्धान्तप्रति दृढ ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाको सोच मात्रै ल्याउनुभएन त्यसको समेत नेतृत्व लिनुभयो । प्रधानमन्त्री ओलीको साढे तीन बर्षको दोस्रो कार्यकालमा राष्ट्रियताको सवालमा विकासका दृष्टिकोणमा र समग्रतामा नेपाललाई बलियो बनाउने सन्दर्भमा महत्वपुर्ण र ठोस काम भएका छन् । तर पार्टीभित्रैबाट असहयोग र घेराबन्दीहुँदा ती कामले यथोचित प्रचार पाउन सकेनन् । यी सवै अनुभवले नेकपा एमाले जस्तो सवैभन्दा शसक्त, गतिशिल र जुझारु पार्टीको अध्यक्ष शक्तिशाली हुनुपर्छ र उसले विना अवरोध काम गर्न पाउनुपर्छ भन्ने निष्कर्षमा स्थायी समिती र केन्द्रिय कमिटी पुगेको हो । आज अध्यक्ष ओली हुनुुहुन्छ भोलि अरु कोहि नेता अध्यक्ष हुनुहोला अध्यक्ष जो भएपनि उसलाई निर्वाचित कार्यकालभरि विना अवरोध काम गर्न पाउने वातावरण हुनुपर्छ । त्यसैले एमालेको यो निर्णय उपयुक्त, सकारात्मक र स्वागयतयोग्य नै छ । 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ५५ बजे