दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जग्गा बाँडेर भूमिसम्बन्धी समस्या हल हुँदैन, जग्गाको व्यक्तिगत स्वामित्व अन्त्य गरौँ : वामदेव गौतम

व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमि सम्बन्धी समस्या समाधान गर्न सबै निजी जमिनको सरकारीकरण गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्नुहुँदै उपाध्यक्ष गौतमले जग्गाको निजी स्वामित्व अन्त्य नगरी भूमिसम्बन्धी समस्या समाधान नहुने बताउनुभयो । सरकारले सबै निजी जग्गा किनेर योजनाका साथ लिजमा उपभोग गर्न दिनुपर्ने गौतमको प्रस्ताव छ । 

गौतमले निजी स्वामित्वको जमिन हुँदासम्म सुकुम्बासी र भूमि सम्बन्धी समस्या समाधान नहुने बताउनुभयो । ‘जमिनमाथि व्यक्तिगत स्वामित्व भएसम्म यो समस्या समाधान हुँदैन,’ गौतमले भन्नुभयो,  ‘सरकारले सबै जमिन चलनचल्तीको मूल्य दिएर किनोस् । हामीले पहिले नै गल्ती गर्‍यौँ र त्यो व्यक्तिगत स्वामित्वमा गयो । अब फेरि सबै सरकारको स्वामित्व ल्याउने काम गरौँ, जग्गा बाँडेर अर्को गल्ती नगरौँ।’  

गौतमले नेपालमा हाल रहेका भूमिहिनहलाई बाँड्ने भनिएको जग्गा नै नभएको बताउनुभयो । जग्गा बाँड्ने नाउँमा जङ्गल समाप्त पार्न नहुने उहाँले बताउनुभयो । 

जग्गा एकीकृत गरेर त्यसको वैज्ञानिक तरिकाले प्रयोग गर्न सके मात्र समस्या समाधान हुने भन्दै उहाँले सबै जग्गा सरकारको मातहत ल्याएर ठुला ठुला फार्म र उत्पादनमूलक काममा जग्गाको उपयोग गर्नुपर्ने बताउनुभयो । 

गौतमले सबै भूमिहीनलाई जनही पाँच÷पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाउनुभयो । विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको तर्क राख्नुभयो । “जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन्”, उहाँले भन्नुभयो, “त्यसकारण टुक्राटुक्रा पारिएको जमिन राज्यले बैंक ग्यारेन्टी गरेर खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ, अन्यथा भूमिहीन र सुकुम्बासीको समस्या कायमै रहनेछ ।”

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : ०२ बजे