‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अफगानिस्तानका रक्षा मन्त्रीको निवासमा आक्रमण, चार जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानका रक्षा मन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ।

आक्रमणका बेला रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल हुनुभएको छ ।

बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रिन जोनस्थित रक्षा मन्त्रीको निवासमा कार बम हमला गरेका थिए। साथसाथै उनीहरूले गोली पनि चलाएका थिए।

बिबिसीका अनुसार रक्षा मन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका जनाइएको छ ।

मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो। सुरक्षा अधिकारीहरूले एएफपी समाचार संस्थालाई घटनामा चार जना मारिएको बताएका छन्।

इटालियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चार जनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ।

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका सहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी छ। संयुक्त राष्ट्रसङ्घले मङ्गलवार लस्कर गाह सहरमा अघिल्लो दिन मात्र कम्तीमा ४० सर्वसाधारण मारिएको जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ४८ बजे