साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

यस कारण स्वीकार्य छैन एमालेमा द्विअध्यक्षीय नेतृत्व

एमालेको आन्तरिक सकस अझै समाधान भएको छैन । पार्टीको सरकार ढाल्ने अक्षम्य अपराध पार्टीको चुनाब चिन्हबाट चुनाब जितेर बनेका सांसदबाट भए पनि पार्टी विभाजन हुन नदिन पार्टी नेतृत्वले संयमता र लचकता अपनाएको छ । अर्कातिर गम्भिर आत्मालोचना गरेर पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्कनु पर्नेमा एकपछि अर्को अग्र्याह्य माग राखेर एमालेको असन्तुष्ट समूह प्रतिक्रियावादी कित्तालाई सघाइ रहेछ । त्यो समूहले साविक नेकपामा जस्तै एमालेमा पनि के पी ओलीकै बराबरी अधिकार र हैसियतमा माधव नेपाललाई ल्याउनुपर्ने माग तेर्स्याएको छ ।

एमालेलाई दीर्घकालीन रुपमा प्यारालाइज्ड गराउने डिजाइन अन्तर्गत आएको यो माग नेपालको कम्युनिष्ट आन्दोलनको लागि क्यान्सर रोगसरह हानिकारक छ । विश्व कम्युनिष्ट आन्दोलनमा कहीं नभएको चलन यहाँ चलाउन खोजिदैछ । के पी ओली र प्रचण्डको बहुनायकत्व भएको साविक नेकपाको दुर्गति एमालेमा जबर्जस्त घुसाउन खोजिदैछ ।

मार्क्सवादको प्रादुर्भाव भएपछि त्यसको वैचारिक जगमा बनेका विभिन्न देशका कम्युनिष्ट पार्टीको नेतृत्व निर्माणको लामो ईतिहास छ । रसियन समाजवादी क्रान्तिको नेतृत्व गर्ने र सात दशकभन्दा बढी सोभितय युनियनको नेतृत्व गर्ने सोभियत कम्युनिष्ट पार्टीमा भ्ल्यादमीर लेनिनदेखि मिखायल गोर्वाचोवसम्म महासचिव नै मुख्य नेता रहे । सात दशकभन्दा बढी सोभियत सत्ता सञ्चालन गर्दा प्रेसिडियमु र सुप्रिम सोभियतुजस्ता विभिन्न मोडेल प्रयोग गरिए पनि पार्टी सञ्चालनको सवालमा एकरुपता नै देखिन्छ ।

सन १९२१ मा गठन भएको चिनिया कम्युनिष्ट पार्टीले सन १९४९मा चिनिया सत्ता प्राप्त गर्यो । चिनिया कम्युनिष्ट पार्टी सन १९८२ सम्म अध्यक्षात्मक प्रणालीमा चल्यो । अध्यक्ष माओको सन १९७६ मा देहवसान भएपछि ह्वाको फङ अध्यक्ष बने । तर सन १९८२ मा बसेको बाह्रौं केन्द्रीय कमिटीको बैठकले अध्यक्षात्मक प्रणाली खारेज गरेर महासचिवीय प्रणाली लागू गर्यो । हालसम्म चिनिया कम्युनिष्ट पार्टीको समग्र नेतृत्व महासचिवले गर्दै आएका छन् । पार्टी सत्तामा आएपछि नेतृत्वका लागि ठूल्ठूला अन्तरसंघर्ष भए पनि त्यसबाट बचेर नै चिनिया कम्युनिष्ट पार्टीले सात दशकभन्दा बढी चीनको निरन्तर र सबल नेतृत्व गर्न सफल भएको हो ।

सन १९३० मा गठन भएको भियतनामी कम्युनिष्ट पार्टीमा हो चि मिन्हले अध्यक्ष र प्रथम सचिवको रुपमा पार्टीको नेतृत्व गरे भने अहिले पार्टी महासचिव नै प्रमुख नेताको रुपमा कार्य गर्दै आएका छन् । 

किम इल सुङको नेतृत्वमा बनेको उत्तर कोरियाको वर्कर्स पार्टी राजतन्त्रको परम्पराझैं चलेको छ र त्यसको मूल नेतृत्व पनि महासचिव नै रहने व्यवस्था छ ।
क्युवाको कम्युनिष्ट पार्टीमा पार्टीको मुख्य नेता प्रथम सचिवलाई मानिन्छ । लामो समयसम्म फिडेल क्यास्ट्रोले पार्टीको प्रथम सचिवको रुपमा काम गरे । राहुल क्यास्ट्रो अहिले प्रथम सचिव छन् ।

छिमेकी चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भएकै साल अर्थात् सन १९४९ मा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले महासचिबलाई प्रमुख नेता मान्यो । पुष्पलाल संस्थापक महासचिव बने । नेपालको कम्युनिष्ट पार्टी विभाजन हुदै जाँदा कुनै समूहले महासचिव र कुनै समूहले महामन्त्रीलाई प्रमुख नेता मान्दै आए । झापा सशस्त्र विद्रोहबाट उदाएको तत्कालीन मालेले शुरुमा महासचिवीय प्रणाली अपनायो र माले-मार्क्सवादी एकतापछि मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव कायम राखेर तत्कालीन एमाले पार्टी अगाडि बढ्यो । विक्रम् सम्वत् २०५६ मा  अध्यक्ष मनमोहन अधिकारीको देहवसान भएपछि अध्यक्ष पद नै खारेज गरियो । २०६५ सालदेखि फेरि तत्कालीन एमालेले अध्यक्ष सहितको बहुपदीय प्रणाली शुरु गर्यो । 

अर्कातिर पुष्पकमल दाहाल ुप्रचण्डुको नेतृत्वमा चालीसको दशकमा नेकपा (मसाल) पुनर्गठन भएको थियो । उनलाई महामन्त्रीको रुपमा प्रमुख नेता बनाईएको थियो । लगत्तै उनले पार्टीको नाममात्र नेकपा (माओवादी) बनाएनन्, आफ्नो पद पनि महामन्त्रीबाट अध्यक्षमा रुपान्तरण गरे । माओवादी जनयुद्धको अवधि र त्यसपछिको लामो अवधि उनी माओवादी अध्यक्ष बनिरहे । 

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापश्चात् बनेको नेपाल कम्यनिष्ट पार्टी(नेकपा) बहुअध्यक्षीय प्रणालीमा केही बर्ष चल्यो । नेकपामा बनेका दुई अध्यक्षलाई ुठूलो जेट विमानको दुई चालकु भनेर अँगालो हालाहाल गरियो । तर यो सुखद् एकता भएन । केही समयपछि देखि नै भयानक असमझदारी शुरु भयो । बहुनायकबाट नेकपा रुपी विशाल जेट आफ्नो गन्तव्यतर्फ उड्न सकेन । 

संसारमा पार्टी व्यवस्था शुरु हुनुभन्दा केही हजार बर्ष पहिले पूर्वीय विद्वान चाणक्यले भनेका थिए-अनायकाः पदा नष्टा विनष्टा बहुनायकाः अर्थात् नायक नभए राज्य नष्ट हुन्छ, बहुनायक भए राज्यको विनाश हुन्छ । अहिले नेपाल कम्युनिष्ट पार्टीमा त्यस्तै स्थिति उत्पन्न भएको छ । नेतृत्वको लागि उछिनपाछिन,गुटबन्दी र विखण्डनले तीव्रता पाएको छ । निस्चित अवधिसम्म कोही प्रमुख नायक हुने विश्वव्यापी कम्युनिष्ट परम्परा खण्डित हुँदा यो अवस्था आएको प्रष्ट देख्न सकिन्छ । 

माधव नेपाललगायत नेपाल कम्युनिष्ट आन्दोलनका केही नायकहरुलाई तातै खाउँ जली मरूँ भन्ने  विचित्रको भूत सवार भएको छ । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रविच एकता हुँदा प्रमुख नायक के पी शर्मा ओलीविरुद्ध अरु नायकहरु सडकमै आए । अर्को महाधिवेशन र अर्को चुनाब पर्खेने धैर्यता उनीहरूमा भएन ।अहिले एमालेभित्रै विना कुनै वैधानिक व्यवस्था ओलीसरह आफू नायक बनिहाल्ने माधव नेपालको उत्कट चाहना पैदा भएको छ । विवादका खुद्रा मसिना केही विषय सतहमा देखिए पनि नेकपा (एमाले) को प्रमुख र निर्णायक विवाद पनि प्रमुख नायकत्वकै हो । 

एमाले जनताको बहुदलीय जनवादको केन्द्रीकृत अभिव्यति हो, न कि नेताका गुटहरूको मोर्चा । विवाद विचारमा नभै नायकत्वमा हुने नेपालको कम्युनिष्ट आन्दोलनको विवादको परम्परा एमालेमा पुनः एकपटक दोहोरिएको छ । देश, जनता र जनजीविकाको सवाल नभै नेताहरुलाई हाताहाती पद चाहिएर यो विभाजित अवस्था आएको हो । बहुनायकका कारण महा संकटमा परेको नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि एकताको,मिलनको वा समन्वयको मार्गमा डोहोर्याउने एकमात्र सही तरिका एमालेका सबै तहको महाधिवेशन र अधिवेशन तोकिएको समयमा सम्पन्न गर्नु नै हो ।

साविक नेकपाको सिको गरेर बहुनायक बनाएर एकीकृत भएका  दक्षिणपन्थी पार्टी पनि संकटकै अवस्थाबाट गुज्रिरहेका छन् । जसपा विभाजनको डिलमा छ भने राप्रपाको एकता कता कता पुगेको छ । यो सबै देख्दा देख्दै एमाले त्यही भुङ्ग्रोमा पर्ला भनेर अनुमान पनि गर्न सकिदैन । 
 
नायकत्व कसैले आफूले चाहेरमात्र प्राप्त हुदैन । देशलाई स्वतन्त्र,सबल र समृद्ध बनाउन सक्ने वर्तमान नेपाली राजनीतिका एकमात्र नायक के पी शर्मा ओलीलाई पार्टीभित्रकै केही असफल नायकको घेराबन्दीका कारण अहिलेको स्थिति उत्पन्न भएको हो । अब एमालेको नायकत्वको अन्तिम फैसला महाधिवेशनमा कार्यकर्ताले गर्नेछन् । र, एमालेको प्रमुख नायकत्व अविभाज्य रहने छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ११ : ५७ बजे