परमादेशका कैँचीको क्रूर सिजरिङबाट बलात् जन्माइएको सरकार

पाँचदलको सामूहिक बलात् गर्भाधान र सर्वोच्च परमादेशको सिजरिङबाट जन्माइएको अहिलेको कम्फर्टेबल जरासन्ध सरकारको स्वरूप विचित्रको छ । किनभने ठूलो क्रान्तिबाट प्राप्त बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठूलो भ्रान्ति सिर्जना गरी लोकतान्त्रिक सरकारलाई अलोकतान्त्रिक तरिकाले अपदस्थ गरी अहिले निर्दलीयताका भूतको भाङ्‌रो पहिराइएको छ । यसका लागि एमालेका केही दुर्नामधन्य विभीषणहरूले स्वदलबाट निर्दलमा अग्रगमनकारी  (छलाङ) फड्को मारेका छन् र शेरबहादुर देउवाका तालुमा निर्दलीय  प्रधानमन्त्रीको येमान्‌को आलु फलाइदिएका छन् ।

अझ यसो भनौँ, अर्काको जुठोपुरा चाट्न पाइने लोभमा आफ्नो घरमा आगो लगाएर, आफ्नो घरको छानु लुछ्दै बौलाउने नमकहरामहरूले यस्तो जघन्य कुकृत्य गरेका छन् । यस्तो जघन्य कामलाई अग्रगमनकारी भन्दै आफूले दानापानी हसुरुन्जेल हसुरेको पार्टी नेतृत्वलाई प्रतिगमनकारी भनी आफ्नो पार्टीको धनसारमा भएको २३ मुरी धान लगेर अर्कैको धनसारमा खन्याई यिनले महाघात र आन्तरिक डकैती गरेका छन् ।  जसले गर्दा शेरबहादुर देउवा अहिले नेपालको भन्नू कि (माधव) नेपालको भन्नु ? जेसुकै होस्, ‘नेपाल’को प्रधानमन्त्रीका रूपमा बिचित्रको चौबाटामा उभिनु भएको छ । यस्तो लाग्दै छ ! ‘अजिङ्गरको आहारा दैवले पुर्याउँछ’ भन्ने उखान अहिले बदलिएको छ र यो यसरी अलिक अपडेट भाको हो कि जस्तो छ- ‘शेर को आहारा चोदानेले पुर्याउँछ’ । चो. दा. र ने. को सप्रसङ्ग व्याख्या किन पो गर्नु र ? उसै बुझिहाल्नु भो होला क्यार ।  

अँ, अहिले चाहिँ अचम्मको वर्णसङ्कर रजवीर्यबाट नवजात प्रधानमन्त्रीको जन्म भएको हुँदा दुनियाँले बडो अनौठो मानेको हुनु पर्छ ! प्रधानमन्त्री लाई आमचुनावको आफ्नै लोकतान्त्रिक नश्लको स्वस्थ गर्भाधानबाट जन्माउन काङ्ग्रेस तयार भएन । आफ्नो पार्टीमाथि डकैती गरी २३ थान खरखजाना सहितको कुम्लो बोकी आएका भगौडाहरू; सशस्त्र विद्रोहमा बगेको जनताको रगत र पसिनालाई पर्फ्युम बनाएर दल्ने दलालहरू तथा रौतहटमा ३५ जना माओवादीहरूको बीभत्स हत्या गरी बगाएको रगतको वर्णसङ्कर वीर्यबाट बलात् गर्भधारण भएको यो अथकल्चो सरकारलाई परमादेशका कैँचीको क्रूर सिजरिङबाट जन्माइएको कुरो त छर्लङ्गै भैहाल्यो नै ।

यस्तो सरकारको टीठलाग्दो नेतृत्व गरेको देख्दा भने लोकतान्त्रिक भनिने काङ्ग्रेसको लोकतन्त्रको लौराले टेक्न छाडिसकेको हो कि भन्ने आम आशङ्काको विषय समेत बनेकै छ ।  काङ्ग्रेसको यो निरीह नेतृत्व देख्दा आमचुनावको गर्भाधानबाट सरकार जन्माउन सक्छु भन्ने मर्दानापन काङ्ग्रेसमा  हराउँदै गएको हो कि भनी शङ्का गर्ने प्रचुर आधारहरू देखा परिसकेका छन् । यसरी जन्मेको यो सरकारका प्रधानमन्त्रीको नाल पनि नझर्दै अहिले नै नाबालक प्रधानमन्त्रीलाई जन्माउनेहरू नै उहाँलाई आवश्यक पोषण नदिई कुपोषित तुल्याउन नाइटादेखिको बल लगाएको रमिता अहिले  हेर्न लायक बनेको छ ।

त्यसो त बलात् गर्भधारण मार्फत जन्माइदिएका बलात्कारीहरूले नवजात शिशुलाई हुर्काएको र स्वस्थ पोषण दिएको उदाहरण कहाँ पो भेटिन्छ र ! त्यसरी नै अहिले बलात् जन्माइदिएका उहाँलाई तिनै बलात्कारीहरूले नवजात शिशुको आहारसमेत लुटेर कुपोषणको सिकार बनाउने अग्रगमनकारी अभियान आरम्भ गरिसकेका छन् र त्यसका बाछिटा देखिइसकेका छन् ।  उच्चस्तरीय संयन्त्र नामको एउटा विषालु सर्प नाबालक र निर्दलीय प्रधानमन्त्रीका टाउका ओरिपरि घुमिरहेको अनुभूत हुँदो थियो ।  संविधानमै नभएको यस्तो संयन्त्रले मुलकको प्रधानमन्त्रीका टाउका माथि कुनै पापी ग्रहले पाप दृष्टिले हेरेझैँ हेरिरहने र तवाह पार्ने हो कि भन्ने आम आशङ्का थियो ।

तर चुनावशास्त्र भन्दा पनि अदालतशास्त्र र ज्योतिषशास्त्रका अन्धअनुयायी प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले जस्केलाबाट नयाँ स्वास्थ्य मन्त्री नियुक्त गर्नु भएपछि भने अवैध गर्भधारण गराउनेहरू झस्केका छन् । नानीदेखी लागेको बानी अनुसार यस्ता काम उहाँले गर्दै जानु हुने सङ्केत मिलेको छ ! तर पनि सत्रहजारमध्ये  पाँचहजारका जिम्मावाल लालसलाम कामरेड र बारह हजारका गैरजिम्मावाल जयनेपाल हामरेडका बौलाहटमा भएको त्यतिबेलाका नरसंहारकारीहरू नै अहिलेको बीभत्स समीकरणका नाइके बन्नुले जनयुद्धनामको नरसंहारलाई निजी स्वार्थका लागि भद्दा मजाक त बनाइएको थिएन ? भन्ने प्रश्नले एकदिन उत्तर नमाग्ला भन्न सकिन्न ।

जेसुकै होस्, अहिले शेरबहादुरज्यू स्वतन्त्र प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई कुनै दल वा गठबन्धनले यसो गर् र उसो गर् भन्नु संविधान विपरीत कार्य हुनु पर्ने हो !  यद्यपि  पाद ( पाँच दल !!!)ले बेलाबेला पादेर यसलाई दुर्गन्धित बनाउनेमा चाहिँ शङ्का नहोला ! उहाँले त्यो पादको दुर्गन्ध नसुँघे पनि हुने हो क्यार ! तर उहाँलाई त्यो पादको गन्ध पनि  ‘ अत्तर झैँ बास्नै आयो भने त के भनम् र खै’ ? तर निज चाहिँ अहिले एकवर्ष र चानचुन समयका लागि नाम र पदअनुसार शेर नै हुनुहुन्छ यस अवस्थामा उहाँलाई कसैले बाँदर बनाएर नचाउँछु भन्छ भने त्यो त्यति संभव नहोला । “नाइँ म शेर भए पनि बाँदरै बन्छु” भन्नु भो भने त कसको पो के लाग्यो र ?

आज पुतलीसडकको छेउतिरको सर्वोच्च भवनको भित्रकाहरूले बहुदलीय संविधानको चोला फेरेर निर्दलीय जो बनाइदिएका छन् । अन्धेर अर्थात् अन्याय नगरीका चौपट राजाहरूको परमादेशले यही भन्छ कि नेपालको संविधान २०७२ भित्र अराजकताको जति रत्यौली र होली खेल्नु छ खेल । त्यसका लागि  निर्वस्त्र भएर सँविधानको धारा ७६(५) मा पुग र लोकतन्त्रलाई नाङगेझार पार्दै आफूपनि निर्वस्त्र होऊ र निर्लज्ज नृत्य नाच । यस्तो लाग्दै छ ! अब नेपालको संविधानको नाम र त्यसको चोला नै अब केही दिनमा फेरिने छ र जसको नाम राखिने छ “ नेपालको संविधान २०७२  धारा ७६.५ निर्दलीय” । त्यसपछि त संविधानका सबै धाराका टुटी बन्द हुनेछन् र ७६(५) कोधारा बाट मात्र ह्वाल्ह्वाल्ती निर्दलीयताको लेदो बग्ने छ लोकतान्त्रिक गणतन्त्रलाई त्यही लेदोले पुर्नेछ । अर्थात् यसरी भविष्यमा लोकतान्त्रिक गणतन्त्रले बडो विचित्रसँग लोप्पा खानेछ । 

सबैलाई हल्का याद हुनु पर्ने हो, प्रधानमन्त्री हुन नेताज्यू कति लिच्चड तालमा नाच्छन् भन्ने कुरो ! उहिले रामचन्द्र पौडेल र कामरेड प्रचन्ड संसद्मा प्रधानमन्त्रीका लागि सत्रपटकसम्म मच्चिँदै चुनाव लडेर सत्रपटक लड्दै थेँचारिनु भा कै हो ! संसदमा त्यसरी रेस्लिङ खेलेर थिलोथिलो परी बेस्मारी थेचारिँदा र पछारिँदा उहाँहरूका  हिपमा लागेको घाउका पाप्रा अझै पनि सुकेका छैनन् होला । सके उकुच पल्टेर क्यान्सरै पो भाको छ कि भित्रभित्रै ? प्रधान्मन्त्री हुन त्यो सङ्घर्ष गरेकाहरूको नाम खै किन गिनिज बुकमा लेखिएन कुन्नि ! त्यतिबेला देखि प्रधानमन्त्री हुन नपाएर बौलाएकाहरूले नेपाली राजनीतिको पानी धमिलो पारेको पार्यै छन् ।

जति फुर्ती लगाएपनि सूर्यको राप नतापी वा काङ्ग्रेसका रूखका केही हाँगा नलाछी आलोपालो सिस्टम नभै चुनाव नजित्नेले देउवा दाइको बालबाँका गर्न सक्ने त कुरै छैन । यति कुरो त पटकपटक गोता खाएका  देउवा दाजैलाई कसो पो थाहा नहोला र ! थाहै रहेनछ भने पनि रूखमै किला ठोकेर मारिनु भएका लमजुङका  मुक्तिराम सरले सपनामा आएर भए पनि देउवा दाजैलाई केहीकेही त सुनाउनु हुने नै  होला । नभए पनि रूखको टेको लगाएर चुनाव जितेपछि धोका दिएर अर्को प्रेमीसँग लसपस गर्दै त्यही स्याउलाले काङ्ग्रेसको मुखमा हिर्काएर हिनुला भन्ने कताकति मान्छेको मनको कुरा पनि बुझ्नु भाकै होला । त्यसैले कमन्डलु लिएर देउवा दाइसँग अलिकति सिट “देउ वा” भन्दै भिक्षा माग्न सुरिएका  राजनीतिक भिखारीहरूसँग देउवादाजै किन पो डराउनुहुन्थ्यो र !

सुनिन्छ, काङ्ग्रेसको सहयोगमा चुनाव जितेर काङ्गरेसकै कोखमा रोप्ने छुरीको बिउ उमार्नै पुनः उस्तै ब्याड तयार पारिँदै छ । अलिकति कलो तिनका भागमा पनि छुट्याउनै पर्ने सकस पनि देउवादाजुलाई छँदैछ । अहिले त फेरि आफ्ना मतदाता जनताका छातीमा लाती हानेर, जनताले मतदान गरेका सूर्यचिन्हका मतपेटिका डकैती गरेर र आफनो घर भत्काएर आउने केही थान बाँदरहरूले सरकारमा पुग्न बनाइदिएको लिस्नुको गुन तिर्नका लागि पनि रूखका केही हाँगामा बास दिनु पर्ने वाध्यता पनि उहाँलाई होला ! यसरी एक दलबाट अर्को दलमा अवैध रूपमा मानव ओसारपसार कार्य ( ट्राफिकिङ्) मा संलग्नहरूलाई वैधताको कुशपानी छर्किनु पनि त पर्ने छ बरै ! बिचरा कम्ती दुख छ र देउवा दाजैलाई ! 

अँ, काङ्ग्रेसको लोकतान्त्रिक बुढो रूखले अझै कतिन्जेल आफूमाथि बन्चरो चलाउने बनमाराहरूलाई सुम्सुम्याई आफनालाई पाखा र पराइलाई काखा गरिरहने हो ? अनि जरासरा केही नभाको र रूखको अक्सिजनबाट विजयको सास फेर्नेलाई आहारा पुर्याई रहने हो कुन्नि ? यसो गर्दै जाँदा कुन दिन रसदार रूखलाई ऐजेरूले जम्मै रस चुसेर सिख्रो पार्ने हो भन्ने कुरो बुझ्ने गरी दाजैका घैँटामा घाम लाग्नै पर्ने हो क्यारे ! परमादेशका आकाशवाणीको जहाजमा बेइमान पाद गठबन्धनका पदुवा मुसाले घेरिनु भाका उहाँको होस खुल्छ कि खुल्दैन र पो ! अस्तु !!!

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १० : १९ बजे