म त,
तिम्रो खुसीमा सदा रमाईरहे
तिम्रो मान र सम्मानमा सधैँ
त्यो रातो झन्डा समाईरहे
तिम्रा हरेक देश दौडाहाहरूमा
पसिनाका धाराहरू बगाईरहे
तिमिलाई सधैँ बर्षौ वर्षसम्म
रातो कार्पेट माथि सजाईरहे
तिम्रो ती अप्ठ्यारा खुट्किलाहरूमा
सदा काँध माथि चढाइरहे
तर तिमी,
एउटा खुट्किलो झर्दा
जमिनमा धसिएको जस्तो
कोलाहल मच्याईरहेका छौ
एक पटक टोपी तल झर्दा
तमाम सुभ चिन्तकहरूलाई
तथानाम होच्याई रहेका छौ
अलिकति मान नपुग्दा
आकाश खसेको जस्तो
बितन्ड मच्याई रहेका छौ
अलि कति सम्मान नपुग्दा
फोहरकै डुङ्गुर मा बसेर
सारा दुनियाँ हसाई रहन्छौ
अलिकति चाकर नपुग्दा
जहाँ कतै विष बमन गर्दै
आफ्नै घरलाई दूषित बनाई रहन्छौ
तर पनि म,
तिम्रा ती हरेक कदमबाट
फैलिएको विष पिएर बस्न चाहन्छु
आफ्नै घर परिवारको मायाले
यो सुन्दर घर भित्रै हाँस्न चाहन्छु
चाहँदैन आफ्नै घर बेच्न मैले
चाहँदैन विपक्षीलाई पोस्न मैले
चाहँदैन आफन्तलाई घोच्न मैले
र चाहँदैन यो उज्यालो भविष्यलाई
एउटा अँध्यारो कोठरीमा कोच्न मैले
सत्यको लागी लडी रहन्छु
कर्तव्यको लागी परि रहन्छु
विशाल ह्रदय बोकेर
गन्तव्य हीन यात्रामा हिंडनेलाई समेत
विश्वासको डोरीले बाँधेर
सम्बृद्धिको बाटोमा डोराई रहन्छु
प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ११ : ०७ बजे
प्रतिक्रिया