दलित गाउँका पहिलो शिक्षक

भारतबाट आएको ठुलो परिणामको फूल नष्ट

काठमाडौं । भारतबाट आयात गरिएको ठुलो परिमाणको फूल नष्ट गरिएको छ । नेपाली किसानहरुले पटक पटक अनुरोध गर्दा पनि आयात नरोकिएकोले किसानहरु आक्रोसित भएर फूल जफत गरेको अखिल नेपाल किसान महासंघका राष्ट्रिय समिति सदस्य एवं महासंघको घटक संघ नर्सरी तथा पुष्प उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष मोहन सिलवालको पहलमा काठमाडौँको त्रिपुरेश्वरबाट दुई बोलेरो गाडी नियन्त्रणमा लिई फूल नष्ट गरिएको हो । 

सयपत्री माला ७ हजार, गुलाफ एक हजार र रजनी फुल करिब २० किलो नष्ट गरिएको सिलवालले बताए । उनका अनुसार उक्त फूल ललितपुर महानगरपालिका वडा नं २२ बुगंमतिको बागमतीमा लगेर नष्ट गरिएको छ । 

नेपालमा पुग्ने फुल उत्पादन हुँदा हुँदै भारतबाट आयात हुने हुँदा किसान मर्कामा परेका कारण फूल नष्ट गर्न बाध्य भएको उनले बताए । नेपालमै फूल उत्पादन भइरहँदा भारतबाट आयात हुँदा हामी नष्ट गर्न बाध्य हुन्छौ’ उनले भने, ‘एक त भूकम्प , भूकम्प पछि पहिलो लहरको कोरोना, दोस्रो लहरको कोरोनाका कारण किसान मर्कामा परिरहेका छन् ।’ 

कोरोनाको समयमा पनि चितवनबाट काठमाडौँ फूल ल्याउन समस्या भएको तर भारतबाट निरन्तर फूल आयात भइरहेको घटना पनि उनले सुनाए । 

यसरी फूल नियन्त्रणमा लिनुलाई किसानले विद्रोहको संज्ञा दिएका छन् । राज्यबाट कुनै संरक्षण र सहयोग बिना उत्पादन गरेको स्वदेशी फूलले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने उनी बताउँछन ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १० : ४३ बजे