साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सत्ता गठबन्धन, प्रचण्ड र एमसीसी

कहिले भेनेजुयला प्रकरण, कहिले एमसीसी प्रकरण, कहिले अयोध्या प्रकरण झिकेर तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीलाई हैरान गर्ने पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो काँध अहिले दाहिनेतिर फेरेका छन् । वैचारिक र सांगठानिक रुपमा टाट पल्टिएका प्रचण्ड सत्तामा नटाँसिइ आफ्नो पार्टी टिकाउन नसक्ने भएकै कारण उनी काँध फेरिरहन्छन् । एमसीसी सम्झौता गर्नेबेला देउबासँगै सरकारमा रहेका प्नचण्ड चूँसम्म बोलेनन् तर जब ओली सरकारको पालामा एमसीसी संसदबाट अनुमोदन गर्ने प्रसङ्ग चल्यो, यो पास गर्नै हुदैन भनेर उफ्री-पाफ्री गर्न थाले । त्यतिमात्र होइन, एमालेका अरू नेताहरूलाई समेत ओलीविरूद्ध हुँडल्न थाले ।

जब सर्वोच्चले एमाले र माओवादी छुट्याइदियो, तब एमालेविरोधी वर्तमान गठबन्धन निर्माणमा माओवादी केन्द्रका सदाबहार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सबभन्दा ठूलो सक्रियता रह्यो । ओली नेतृत्वको ईतिहासकै राष्ट्रवादी सरकारको विकल्पमा भारतको लागि कम्फर्टेबल सरकार बनाउनु पर्ने मान्यता राख्ने प्रचण्ड घोर दक्षिणपन्थी गठबन्धन बनाउन सक्रिय बने ।

नेपाली राजनीतिका लोकपृय नेता नेकपा (एमाले) का अध्यक्ष के पी शर्मा ओली र सिंगो एमालेसॅग मिलेर, त्यसैभित्र पसेर त्यसैलाई ध्वस्त पार्ने योजना असफल भएपछि रन्थनिएर देउबालाई प्रधानमन्त्री बनाउने ‘महान् अग्रगामी छलाङ्' मारे ।

हुन त प्रचण्ड जनताको बहुदलीय जनवाद र एमालेको लोकपृयतालाई चन्द्रमाको प्रकाश छेक्ने ग्रहणको रुपमा प्रतिक्रियावादीबाट प्रयोग हुदै आएका छन् । एमालेसॅग पार्टी एकता  गरे पनि प्रचण्ड पार्टी एकताको भावनाअनुसार नचली पार्टीभित्र अद्वितीय अराजकता प्रदर्शन गरे । र, एमालेको सर्वाधिक लोकप्रिय सिध्दान्त जनताको बहुदलीय जनवादलाई कसरी विद्रुप पार्न सकिन्छ भन्ने ध्याउन्नमा लागे । जननेता मदन भण्डारीको योगदानलाई छॅायामा पार्ने र नेपालको कम्युनिष्ट पार्टीको वैचारिक नेतृत्व आफूलाई बनाउने योजनाका साथ पार्टीमा मन्द विष प्रवाह गर्न थाले । 

सांगठानिक एकता असरल्ल हुदै एमालेको गुटमा खेलेर पार्टीमा रातारात हाबी हुने दुस्प्रयास गरिरहे । आफूले पाउनु पर्ने भागको लागि पौंठेजोरी खेलिरहे, मुख्य नेतृत्वलाई घेराबन्दी गरे, फजुल आरोप लगाए, पार्टीको लामो जीवनमा इमान्दार र निष्कलंक छवि बनाएर पार्टीको शीर्ष स्थानमा पुगेका एमाले नेताहरूलाई बेजोड भडकाए, पार्टी नेतृत्वविरूद्ध सडकमै ओराले । एमालेका वरिष्ठ नेता माधव नेपाल लगायतलाई समेत विटुल्याइ दिए । विच्क्याए ।

एमाले र माओवादीको पुनरोदय भएको महिनौं वितिसक्दा पनि प्रचण्ड  एमालेविरूद्ध एमालेकै नेतालाई चिमोट्न छाडेका छैनन् । एमाले मिल्न लाग्यो भन्ने खबर चुहियो कि उनलाई निन्द्रा पर्दैन, उकुसमुकुस हुन्छ । प्रचण्ड एमाले फुटाउन आकास-पाताल जोडिरहेका छन् भन्ने सम्पूर्ण एमालेजनलाई जानकारी भईसक्दा पनि उनको यो हर्कत रोकिएको छैन ।

विगतमा माओवादी विद्रोह चलिरॅहदा उनको प्रमुख नीति थियो-शत्रुको ढाडमा टेकेर टाउकोमा हान्ने । अहिले पनि उनी त्यही नीतिमा अडिग देखिन्छन् । अहिले उनको प्रमुख शत्रु एमाले हो र यसको ढाड(माधव नेपाललगायत)मा टेकेर टाउको (के पी शर्मा ओली) माथि प्रहार गर्दैछन् ।

हिजो साविक नेकपा हॅुदा केही भ्रम भए पनि, फरक शक्ति सन्तुलन भए पनि अहिले परिस्थितिमा पूरै फेरवदल आईसकेको छ ।

जनताको बहुदलीय जनवाद एमालेलाई एकताबद्ध बनाउन सुपरग्लुको काम गरिरहेको छ । वैचारिक रुपमा टाट पल्टिएका प्रचण्डले कोही एमालेको नेतालाई विहानै वेलुकै एमाले फुटाउन चिमोट्दैमा एमाले फुट्दैन । पार्टी अध्यक्ष के पी शर्मा ओलीको लचकता, दोश्रो तहका नेताहरूको सुझबुझ र परिपक्वता, माधव नेपालको निरीहता आदि कारणले एमाले एक ढिक्का भएर नेपाली राजनीतिको गुमेको बागडोर पुन: प्राप्त गर्ने अवस्था बन्दै गएको छ ।

प्रचण्डको राजनीति दीर्घकालिक जनयुद्ध मार्फत् चीनमा झैं नेपालको सम्पूर्ण सत्ता क़ब्ज़ा गर्ने योजनाकारको रूपमा शुरू भएको थियो । ‘ खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने’ संसदीय व्यवस्था मासेर नौलो जनवादी गणराज्य नेपाल बनाउने ‘महान् नेता’ को रूपमा उदय भएको थियो । तर उनको राजनीतिको उत्तरार्द्ध पूँजीवादी संसदीय व्यवस्थाका अनवरत अनुयायी नेपाली कांग्रेसको पिछलग्गुको रूपमा मात्र रहने निश्चित भएको छ । अब उनलाई बाम गठबन्धनतिर पुनः ढल्कने सुविधा प्राप्त हुने छैन ।

कुनै उथल-पुथल नभए नेपालको राजनीति हाल दक्षिणपन्थी र वामपंथी दुई कित्तामा विभाजित छ । निर्वाचनमा मतदाता सोहीवमोजिम बॉडिने निश्चित छ । सर्वहारा श्रमजीवीको सत्ता ल्याउन भन्दै विगतमा हजारौं नेपाली जनतालाई युद्धको भुंग्रामा हालेका, सामन्तवाद र साम्राज्यवादी-पूँजीवादी राज्यसत्ताको उच्छेद गर्न तम्सेका प्रचण्डको यस्तो पतन  माओवादी मतदाता नै स्वीकार गर्ने पक्षमा देखिदैनन् । भारतविरूद्ध सुरूंग युद्ध गर्न तम्सने प्रचण्डको हालको भारतप्रति त्वम् शरणम् नीति सर्वत्र आलोचित बन्दै गएको छ । 

प्रचण्डनिर्मित देउबा नेतृत्वको सत्ता गठबन्धन एमसीसी यही संसदबाट पारित गराउने तयारी गर्दैछ । अब एमसीसीले नेपाललाई पुर्याउने 'फाइदै फाइदा'को फेहरिस्त प्रचण्डले नै संसदमा प्रस्तुत गरेको क्रान्तिकारी भाषण हेर्न र सुन्न जनता उत्सुक छन् । बाँचिरहे यस्ता चटक धेरै देख्न पाइन्छ !

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : २७ बजे