आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ओली सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुख हटाएर गठबन्धनको नियुक्ति गर्ने तयारीमा देउवा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु हटाउने तयारीमा देउवा सरकार लागेको बुझिएको छ । ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको छ । केहीलाई तत्कालै हटाउने तयारी छ । चाडै हट्ने प्रदेश प्रमुखहरुमा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख रहेको देउवा निकट स्रोतको भनाई छ ।

ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवलाई नियुक्त गर्नुभएको थियो ।

गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ३९ बजे