साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

अमेरिकी हस्तक्षेप र असफलतापछि अब कसरी सम्हालिएला अफगानिस्तान ?

अमेरिका र तालिबान बीच कतारको दोहामा भएको असफल  सम्झौताको परिणामस्वरुप अफगानिस्तानमा थप संकट र जटीलता पैदा भएको देखिएको छ । के स्पष्ट थियो भने तालिबानले कहिले  पनि संघर्ष बिराम गरेको थिएन र सत्ता साझेदारी गर्ने उसको मनसाय पनि देखिएको थिएन । परिणामतः अफगानिस्तानबाट अमेरिकी सेना हटेर गए पछि त्यहाँ हिंसा अझ बढेर गएको देखिदै छ । भनिन्छ अफगानिस्तानका करीब १५० जिल्लामा तालिबानको कब्जा रहेको छ र अझ थप आफ्नो प्रभाव बढाउने हिसाब किताबमा तालीबानहरु रहेका छन् । त्यसैले  के प्रश्न उठाइदै छ भने आगामी दिनमा अफगानिकस्तानको नागरिक सरकार निस्प्रभावी भएर पूरै अफगानिस्तान तालिबानको हातमा जाने त होइन । बिगतको अनुभवको आधारमा यो यथार्थ निकट आइरहेको जस्तो देखिन्छ भन्ने एकथरी बिश्लेषकहरु सन्देहपूर्ण निष्कर्श निकाल्दै पनि छन् ।

अफगानिस्तानको स्थितिको अध्ययन गरिरहेका एकथरी बिज्ञहरु भन्छन् कि यस्तो स्थिति सिर्जना हुन पुग्नुको एउटा मूख्य कारणमध्ये एउटा त्यहाँको सुरक्षा बल पनि हो । तिनीहरु बर्षौदेखि तालिबानसँग लडिरहेका छन् । नाटो संगठनको फौजबाट प्रशिक्षित ती अफगानी सैनिकहरु आफ्ना बैरीहरुलाई हावाई हमलाबँट पनि मटियामेट गर्न कुशल छन् भनिन्छ । यो अफगान सेनामा करीब ४० हजारदेखि ५० हजारसम्म बिशेष कमाण्डोहरु रहेको बताइन्छ । बिज्ञ बिशेज्ञहरुका अनुसार ती अफगान सेनाको सामुमा तालिबानहरु पर्न र तिनको सामना गर्न सक्दैनन् जसले गर्दा तालिबानहरुलाई अफगानिस्तानका ठूला या प्रमुख शहरहरु कब्जा गर्न सजिलो छैन ।

त्यसैले यतिबेला जुन १५० जिल्लामा तालिबानीहरुको कब्जा भएको जस्तो हल्ला चलाइदैछ ती धेरै स–साना क्षेत्रहरु हुन् भन्ने बुझिन्छ । तीमध्ये कतिपय त ८–१० घर भएका गाउँहरु मात्र पनि छन् र कतिपय गाउहरु एक दुइहजार जनसंख्या भएका गाउहरु प्नि छन् । त्यसैले अफगान सुरक्षा बलको ध्यान धेरै जनसंख्या भएका महत्वपूर्ण क्षेत्रहरुमाथि रहने गरेको छ ।

फलतः स–साना क्षेत्रहरुमा तालिबानहरुले सजिलै कब्जा गर्न सकेका हुन् भनिन्छ । त्यसो भए पनि अमेरिकी–तालिबान सम्झौताका शर्तहरुमा के कुरा पनि सामेल भएको बताइएको छ भने अमेरिकी सैनिकलाई निशाना बनाइने छैन । अनि तालिबानले यस्ता कुनै तप्कालाई शरण दिनेछैन र सम्वन्ध राख्ने छैन जो अमेरिकाको बिरुद्ध छन् । यो शर्त तालिबानका लागि पनि आश जगगाएको थियो कि अफगानिस्तानबाट अमेरिकी सेना फेरि फर्किएर आउन् । तर अफगान सुरक्षा बल भने तालिबानको निशानामा पर्दै रहे । त्यसको आबश्यक जबाफ अफगानी सुरक्षा बलले पनि दिइरहेका छन् । त्यसको अर्थ हो कि अमेरिकी सैनिक अब त्यहाँ युद्धको मोर्चामा रहेका छैनन् तर पाश्र्वभागमा रहेर अफगानी सुरक्षा बललाई तालिम तथा प्रशिक्षण दिने गरिरहेका छन् । गोप्य सूचना आदान–प्रदान गरिरहेका छन् र अफगानी वायु सेनाको पनि रेखदेख गरिरहेका छन् । यसरी अफगान सुरक्षा बल नै निकै पहिलादेखि नै तालिबानसँग प्रत्यक्ष लड्दै आएका छ ।

यस्तो स्थितिमा त्यहाँ फेरि के ठूलो चूनौति रहेको छ त ? यथार्थतः तालिबानले यतिबेला दुइतर्फी युद्ध गरिरहेको छ । उसले अफगानी सेनामाथि हमला त गरिरहेकै छ भने त्यसमाथि फूट पार्ने प्रयास पनि सकेसम्म गरिरहेको छ । अफगानी सेनामा कबिला लडाकुहरु रहेका मात्र छैनन्, मूल अफगानी। ताजिक, पख्तुन जस्ता आबादीबाट पनि सेनामा रहेका छन् । त्यसैल तालिबानहरुले ती जातीय समूहहरुमा फूट पार्ने कोशिश गरिरहेको छ । यही जुलाई महिनाको आरम्भिक सातामा सयौं अफगानी सैनिक भागेर ताजिकिस्तानमा गएको घटनालाई तालिबानको सफलता मानिएको छ । तेश्रो समस्या राजनीतिक मोर्चाको छ । अफगानिस्तानमा आज पनि राजनीतिक नेतृत्व एकताबद्ध देखिएको छैन । उनीहरु बीचको टक्करले अफगानी सेनाको मनोबल तोडिन्छ भन्ने उनीहरुले कहिले बुझ्ने हो भन्ने प्रश्न पनि उठिरहेको छ । हुन पनि यो स्थिति यो पूरै क्षेत्रका लागि सुखद रहेको देखिदैन । बिभिन्न देशहरुको सहयोगमा निर्मित बिकास र ढाँचागत परियोजना जोगिने हुन् कि होइनन् त्यो  पनि यतिबेला एउटा ठूलो चिन्ताको बिषय बनेको छ । 

यद्यपि तालिबानहरुले प नि बिश्व समुदायसँग आफ्नो सम्वन्ध सुधार्नका लागि कूटनीतिक प्रयत्न गर्न सक्ने आशा गरेको देखिन्छ । तर अहिलेसम्म पनि उनीहरु निकै कट्टर र बर्बर देखिन्छन् । आफ्नो अधिनमा रहेका इलाकाहरुमा उनीहरु शरीयत कानुन लागु गर्ने, किशोरीहरुलाई बाहिर निस्कन नदिने, पुरुषहरुले दारी पाल्नै पर्ने, इस्लामी एमिरत बनाउने र अन्य आतंकारी जमातहरुसँग आफ्नो सम्बन्ध न तोड्ने आदिको घोषणा गरिसकेको छ । थप के पनि सम्भव छ भने आउदा दिनमा उनीहरुले उइघुर मुस्लिमका सम्वन्धमा चीनसँग कुनै सम्झौतामा पुगुन् । उनीहरुले पाकिस्तानसँग पनि आफ्नो सम्वन्ध सबल बनाउन सक्छन् । 

हुन त भनिदैछ कि १९९० र आजको अफगानिस्तानमा ठूलो फरक आइसकेको छ । आजको अफगानिस्तानमा अब लाखौ लाख केटाकेटीहरु शिक्षित र प्रोफेशनल बनिसकेका छन् । उनीहरुले राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको महत्वलाई निकै राम्रोसँग बुझेको पनि औंल्याइदैछ । त्यसले गर्दा कट्टर सोच पहिला जस्तो सहजै स्वीकार नहुने र बिस्तारै यस्तो सोचमा परिबर्तन आउने पनि अपेक्षा गरिन्छ । यस क्रममा हुन सक्छ तालिबानका बिरुद्ध टक्करको दोश्रो चरण अर्थात ‘रेसिस्टेण्ट’ दोश्रो चरण शुरु होओस् र त्यसको नेतृत्व शिक्षित मानिएको नयाँ पिढीले लेओस् ।

यसरी अमेरिकी सेना फिर्ता भए पछि अफगानिस्तान कसरी सम्हालिन्छ र कुन बाटो लिन्छ भन्ने अहिले धेरै देशले चिन्ता र चासो लिएको देखिन्छ । यसमा रुस, चीन, इरान आदि देशहरु प्नि सक्रिय छन् । भारत र पाकिस्तान पनि यसमा एक अर्कोलाई अर्घेलो देखाएर आफ्नो प्रभावको प्रदर्शन गर्न पहिलादेखि नै लाग्दै आएका हुन् अहिले पनि त्यसै क्रममा नै छन् । समग्रमा अमेरिका र नाटो सैनिक गठबन्धन जसरी अफगानिस्तानमा आयो र अब फिर्ता जाने क्रममा छ त्यसले अफगानिस्तानमाथि लागेको घाउमा खाटा बस्न धेरै समय लाग्ने देखिन्छ । नचाँहिदो बाह्य हस्तक्षेपले देशहरु कसरी बर्बाद हुन्छ् र अनन्त अस्थिरतको शिकार बन्छन् भन्ने कुराको धेरै उदाहरणहरु बिश्वका बिभिन्न राजनीतिक घटना परिघटनाहरुले दशाउँदै आएका पनि छन् ।           

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ११ : ०१ बजे