बागलुङ । जननेता मदन भण्डारीका नाममा बागलुङ नगरपालिका–३ चिप्लेटीमा बहुउद्देश्यीय कर्भडहल निर्माण गरिएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले तीन वर्ष लगाएर कर्भडहल बनाएको हो ।
बजेट अभावमा गत वर्ष कर्भडहलको काम रोकिएको थियो । पहिलो वर्ष खेलकुद मन्त्रालयबाट आएको रु २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम मात्र भएको थियो ।
मन्त्रालयबाट थप रु १० लाख बजेट थपिएपछि बाँकी काम पूरा भएको एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो ।
“कर्भडहलको काम करिब सकियो, छिटपुट काम अहिले भइरहेको छ”, उहाँले भन्नुभयो । पछिल्लो बजेटबाट बार, झ्यालढोका, शौचालय, रङरोगनलगायतका काम गरिएको छ । कर्भडहल निर्माणका लागि नगरपालिकाले जग्गा दिएको थियो । फलामको ट्रष्ट प्रविधिबाट कर्भडहल बनाइएको हो ।
खेलकुद गतिविधिसहित अन्य सामाजिक कार्यमासमेत उपयोग हुने गरी कर्भडहलको निर्माण गरिएको हो । कर्भडहल मुख्यरूपमा ब्याडमिन्टन खेललक्षित छ । आवश्यकता पर्दा तेक्वान्दो, कराँतेजस्ता खेलका लागि पनि कर्भडहलको प्रयोग गर्न सकिने एकेडेमीले जनाएको छ ।
स्थानीयवासीले सार्वजनिक हितका काममा समेत कर्भडहलको प्रयोग गर्न पाउने भएका छन् । कर्भडहल निर्माणमा ढिलाइ हुँदा यसअघि खेलप्रेमी र स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।
गैह्रापाटा टोल सुधार समितिका अध्यक्ष भक्त रसाइलीले कभर्डहल बनेपछि खेलकुदसँगै सामाजिक गतिविधिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ खेलाडी उत्पादनसँगै खेल गतिविधिको प्रवद्र्धनका लागि कर्भडहल बन्नु सुखद् रहेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनुभयो । खेलाडी र खेल पूर्वाधारको विकासका लागि नगरपालिकाले समेत लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । रासस
प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार ११ : २४ बजे
प्रतिक्रिया