काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।
कोरोना संक्रमण बढ्दै गएकाले केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थपिन सक्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुन सक्ने उनको भनाइ छ ।
यसबारे आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय लिइने उनले बताए । संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।
काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ ।
काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।
प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार १० : ५३ बजे
प्रतिक्रिया