यस्तो छ आजको विनिमय दर

प्रचण्डलाई भिम रावलको जवाफ – ‘म ढलेको होइन नेकपा एमालेलाई ढाल्ने षडयन्त्रका विरुद्ध उभिएको हुँ’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाउनुभएको छ ।

“मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई ’नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो । ” उहाँले भन्नुभयो । 

उहाँले पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट पार्नुभएको छ ।

उपाध्यक्ष रावलले “प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल’प्रचण्ड’जीले भन्नुभएझैं ’ढलेको’ होइन,” भन्नुभयो । 

उहाँले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ’ढलेको’ होइन नेकपा (एमाले) लाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको बताउनुभएको छ  ।  

“एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?” उपाध्यक्ष रावलले बिज्ञप्तिमर्फत भन्नुभएको छ ।  

नेकपा एमालेका उपाध्यक्ष भिम रावलद्वारा जारी विज्ञप्ति :
-मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल’प्रचण्ड’ जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रमा आक्रोश व्यक्त गर्नुभएको रहेछ । मेरो राजीनामालाई ’पाँच दलको गठबन्धन’ फुटाउने ’खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्त भनाईका सन्दर्भमा यी कुराहरुमा ध्यान दिनु उचित हुनेछः 

–गठबन्धन प्रतिनिधि सभाको पुनःस्थापनाको लागि भएको हो । यस क्रममा शेर बहादुर देउवाजीलाई प्रमं बनाउने सहमति हो देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डजीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवजीको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जीत हासिल गर्ने र माधवकुमार नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको थियो । कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन् । साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो। 

–प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ’ढलेको’ होइन नेकपा (एमाले) लाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासंग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो? 

–हामीले सांसद पद मात्र होइन राजनीतिक भविष्य समेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रमं बनाउन योगदान पुर्यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रो जस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो? 

–मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई ’नेताहरू बीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश,जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ ।
 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : १० बजे