यस्तो छ आजको विनिमय दर

धर्ना बसेका पूर्वराष्ट्रपतिका छोराको अवस्था चिन्ताजनक, खुमलटार र कोटेश्वर धाउने देउवाले फर्केर हेरेनन्

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवालाई यतिबेला मन्त्रिमण्डल बिस्तार गर्न भ्याइनभ्याई छ । प्रधानमन्त्री बनेको १० दिन वितिसक्दा पनि उनले मन्त्रीहरुको चयन गर्न सकेका छैनन् । मन्त्रीको भागबण्डा मिलाउन गठबन्धन भित्रै किचलो बढदै गएपछि उनी कहिले प्रचण्ड निवास खुमलटार त कहिले माधव नेपालको निवास कोटेश्वर दौडिरहेका छन् । माधव नेपाल र प्रचण्डले सोच्दै नसोचेको प्रधानमन्त्रीको पद दिलाईदिएपछि यतिबेला देउवा उनीहरुसँग भावनात्मकरुपमा पनि नजिकिएका छन् । त्यसैको सिलसिलामा देउवा मंगलबार प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझन उनको निवास खुमलटार पुगे । चेत हराउँदै गएकी सीताको अवस्था देखेर उनी भाबुँक पनि बने । प्रधानमन्त्रीको पद दिलाईदिने प्रचण्डको परिवारलाई सहानुभूति प्रकट गर्न देउवा त्यहाँ पुगेका थिए तर आफ्नै पार्टी कार्यालयमा पाँचदिनदेखी आमरण अनसन बसेका पुर्वराष्ट्रपतिका छोरा डा.चन्द्रमोहन यादवलाई भेट्न भने उनले अहिलेसम्म पनि चासो देखाएका छैनन् । क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा धाँधली भएको र आवश्यक छानबिन गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा उनी पटक पटक रिले अनसन हुँदै यतिबेला आमरण अनसनमा बसेका छन् । 

आमरण अनसनमा बसेको पाँचौदिन आज उनको स्वास्थ्य अवस्था निकै नै कमजोर बन्दै गएको छ । पार्टी कार्यालयको मुल ढोका छेउको भूईमा ओछयान लगाएर उनी पल्टिरहेका छन् । ओहोर दोहोर गर्ने काँग्रेसका नेताहरुले अनसन तोडेर उठ्न आग्रह पनि गर्छन तर चन्द्रमोहन आफनो विचारमा दृढ छन् । राम्रोसँग बोल्नपनि नसक्ने चन्द्रमोहनले धेरै आग्रह गरेपछि सुतिसुति भने, ‘जुन पार्टीले लोकतन्त्रलाई यो देशमा परिभाषित गरेको हो, आज त्यही पार्टीका कार्यकर्ता लोकतन्त्र मिचियो भन्दै अनसनमा बस्नु परेको छ ।’ पार्टीभित्र विधिको शासन कायम भएन, १३ औं महाधिवेशनमा पनि क्रियाशिल सदस्यता पाएनौं,  हिजो एकपक्षिय ढंगले सदस्यता थपिएको थियो आज पनि त्यही छ ,त्यसैको बिरोधमा आफु अनसनमा बस्नुपरेको उनकोे तर्क थियो । यादवले भने,–‘पार्टीले विधि विधान मिच्यो, अर्कोपक्षको वडा सभापति हुनुहुन्छ भने उहाँले फरक मत राख्नेहरुलाई एउटा पनि सदस्यता दिनुहुँदैन । फरक मत राख्नेलाई सदस्यता वितरण नगरेपछि एकपक्षका मत मिल्ने साथीहरु त्यो काममा छन् । उनीहरुले बलजफती गरेपनि सदर हुने, अर्को पक्षका साथीहरु समयमा उजुर गरेन खोजविन गरेन भने अर्को पक्षको दोष हुन्छ ? कुनै वैठक नबस्ने ? कुनै पारदर्शिता पनि नदेखाउने, माइनोट पनि नगर्ने अनि त्यो सदर हुने लोकतान्त्रिक परिपार्टी हुन्छ ? उनको प्रश्न थियो । लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था सृजना हुनु बिडम्बना भएको उनी बताउँछन् । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढंगले नयाँ क्रियाशील सदस्यता थप्ने काम नसच्चिएसम्म पार्टी कार्यालयमा धर्नामा बस्ने उनको अठोट छ ।

संविधानसभाका सभासद समेत रहेका यादवसँगै अन्य दुई जनापनि आमरण अनसनमा बसेका छन् । पार्टी कार्यालयमा धर्ना रहेको १० दिन वितिसक्दापनि सभापति देउवाबाट कुनै आश्वासन नआएको उनीहरुको भनाइ छ । आफू विधिको शासनबाट स्थापित हुने तर आफ्नै कार्यकर्ता जीवन मृत्युसँग लडिरहदा सभापतिलाई दया पलाएन एक नेताले भने । अन्य पार्टीका नेताहरुलाई समायोजन गर्ने उदेश्यले पनि संस्थापन इतरपक्षलाई  वडा तहदेखि नै किनारा लगाउने प्रयास थालिएको उनको तर्क छ । काँग्रेस सत्तापक्षले पार्टी कब्जा गर्ने नियतले जोड घटाउ गरि अन्य कोटामा पनि धाँधली गर्दे आएको उनीहरुको दाबी छ । नाम नबताउने शर्तमा एक नेतृले भनिन्,–‘पार्टीले विधि विधान मिच्यो भनेर सयौं कार्यकर्ता धर्नामा छन्, सभापति देउवा प्रचण्डको श्रीमती भेट्न खुमलटार जान्छन, कोटेश्वर जान्छन तर देशमा लोकतन्त्र, गणतन्त्र ल्याउन भूमिका खेलेका पुर्वराष्ट्रपतिका छोरा एवं पुर्व सांसदको यो हालत हुनु निकै नै दुखदायी कुरा हो ।’ पाँचौ दिनको आमरण अनसनमा बसेर गल्दै गएका यादव समाचारमा पनि प्राथमिकतामा नपरेको उनले गुनासो गरिन् । बस्न नसकेर डा.यादव सुतिसुति अलि अलि ‘ट्याउ ट्याउ’ बोल्नुहुन्छ, हेरौं कहिले मागको सम्बोधन हुन्छ, आसा छ तपाईहरुले समाचार बनाएपछि सम्बोधन हुन्छ की  ! उनले थपिन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  २ : २५ बजे