गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम तय गर्न माओवादीको आग्रह

काठमाडौँ– नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्नका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदललाई आह्वान गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि संविधान र कानूनभित्र रहेर न्यूनतम नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको भन्दै नेता नारायणकाजी श्रेष्ठले भने,‘गठबन्धनको सरकारालई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धतामार्फत् अगाडि बढ्नुपर्ने भएकाले छिटो गठबन्धनका पार्टी सम्मिलित भएर साझा कार्यक्रमहरु तुरुन्त तय गर्न आह्वान गर्ने निर्णय भएको छ ।’

उनले भने,‘अबको सरकारका नीति योजना कामकारबाही व्यवहार र आचरण पहिला हामीले जुन कुराका विरुद्ध संघर्ष गरेका थियौं । त्यस्तो हुनुहुँदैन । हिजोको प्रवृत्ति देखिनुहुँदैन । यसमा जोड गर्ने भनेर निर्णय गरेको छ ।’

गठबन्धनहरुसँग रहेका सबै दलहरुसँग छलफल गरेर सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व हुनेगरी सरकारलाई पुर्णता दिने नेता श्रेष्ठले बताए ।

पार्टी निर्माणका बारेमा छलफल गर्न केन्द्रिय कमिटिको बैठक साउन २० गते र केन्द्रीय कमिटिको बैठकको तयारीका लागि साउन १७ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय समेत माओवादीले गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ३९ बजे