देउवालाई ‘कठपुतली’ बनाउने दाहालको योजनाले गठबन्धनमा किचलो 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नु  पर्ने प्रस्ताव गरेसँगै सत्ता साझेदार गठबन्धनमा किचलो सुरु भएको छ ।  प्रचण्डले संविधानले नै नचिन्ने संरचना बनाउन माग गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा यत्तिखेर झस्किएको बालुवाटार स्रोत बताउँछ  ।  सरकारलाई नीतिगत सहयोगहरू गर्न र गठबन्धनमा रहेका सबै दलहरूलाई विश्वासमा लिनका लागि त्यस्तो संयन्त्र आवश्यक रहेको भन्दै प्रचण्डले उच्चस्तरीय संयन्त्र बनाउन आग्रह गरेपनि खासमा त्यो दाहालको प्रधानमन्त्री भन्दा भन्दापनि माथि आफु बस्ने खालको  संरचना हो । मङ्गलवार प्रधानमन्त्री देउवा र गठबन्धनका अन्य नेताहरूसँग प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र सरकार विस्तारसहितका विषयमा छलफल गरेका थिए।

संविधानले नचिन्ने भएकाले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति प्रधानमन्त्री देउवाको दल नेपाली काङ्ग्रेसका कैयौँ नेता अनिच्छुक छन् । कतिपयले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो थप भूमिका खोज्दै उक्त राजनीतिक संयन्त्रको प्रस्ताव अघि बढाएको आंकलन समेत गरेका छन् । संविधानको दायरा भन्दा बाहिर रहनेगरी प्रस्ताव गरिएको त्यस्तो संरचनाले देउवालाई कठपुतली बनाउने काङ्ग्रेसीहरुको बुझाइ छ ।  काग्रेंसका प्रवक्ता विश्वप्रकाश शर्मा बर्तमान सरकार एउटा मात्र दलको नभएर विभिन्न दलको सरकार भएकाले अलगअलग कुरा आउन सकेपनि आएका कुराको विधिवत् वा संस्थागत टुङ्गो लगाईने  बताउँछन् । बर्तमान संविधानले उच्चस्तरिय संयन्त्र चिन्दैन त्यसो त संविधान जारी हुनुअघि बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रले  विगतमा सरकारका महत्त्वपूर्ण निर्णयहरूलाई प्रभावित पार्ने प्रयास गरेको आरोपे खेप्ने गरेको थियो। 

माओवादीका अध्यक्ष दाहालले उच्चस्तरिय संयन्त्रको संयोजक आफुले पाउनु पर्ने र हरेक निर्णय गर्दा संयन्त्रमा छलफल गरेर मात्र निर्णय गर्नुपर्ने भन्दै बार्गेनिङ्ग  गरेसँगै देउवा यत्तिखेर प्रचण्डले फसाउन लागेको भन्दै आफु निकटकाहरुसँग सल्लाह गरिरहेको बताइन्छ । 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ३८ बजे